काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ५ वटा फर्मलाई १० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुगमनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुगमनका क्रममा विभागले सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन ट्रेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।
त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुगमन तथा निरीक्षण गर्दै आएको छ । बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ ।