कोर टिम भड्किएपछि ओलीको अंक गणितमा गडबड

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओलीलाई यसपटक आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। लामो समयदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका ओलीले आफ्नो ‘कोर टिम’लाई एकढीक्का राख्न नसक्दा महाधिवेशनको निर्वाचन परिणाम प्रभावित हुन सक्ने विश्लेषण हुन थालेको छ ।

महाधिवेशनअघि ओली पक्ष बलियो र संगठित देखिए पनि उम्मेदवारी दर्ता र पदाधिकारीको बाँडफाँडको क्रममा असन्तुष्टि सतहमा आएको छ । आफू निकट मानिएका केही प्रभावशाली नेताहरूले अपेक्षित जिम्मेवारी नपाएको गुनासो गर्दै खुलेआम असन्तुष्टि जनाउन थालेका छन् भने कतिपय नेताहरू मौन बसेर दूरी बढाइरहेको संकेत देखिन्छ । यसले ओलीको आन्तरिक शक्ति सन्तुलनमा असर पुर्याएको छ । खासगरी ओलीको किचन क्याबिनेटका नेता प्रदीप ज्ञवालीको मौन असन्तुष्टि ओलीका लागी भारी पर्ने अनुमान एमालेबृत्तमा चलेको छ । 

यस्तै, कृष्णगोपाल श्रेष्ठको बहिर्गमन ओलीका लागि टाउको दुखाइ बनेको छ । उपत्यकाका स्थापित नेता श्रेष्ठले ओलीको साथ छोड्दा ईश्वर पोखरेल समूह उत्साहित भएको पाइन्छ । उपत्यकाकै अर्का नेता रघुजी पन्तले पनि ओलीको साथ छोडेका छन् । मधेशी मुलका स्थापित नेता लालबाबु पण्डित पनि ओलीको साथ छोड्ने नेतामा परेका छन् ।

ओलीले ‘अनुभव र निरन्तरता’लाई मुख्य आधार बनाउँदै नेतृत्वमा पुनः दाबी गरेपनि पार्टीभित्र पुस्तान्तरण, समावेशीता र शक्ति सन्तुलनको माग तीव्र हुँदै जाँदा पुरानै संरचनामा अडिग रहन खोज्दा समस्या देखिएको कतिपय नेताहरूको बुझाइ छ। विशेषगरी पदाधिकारी र केन्द्रीय सदस्य चयनमा क्षेत्रीय, गुटगत र व्यक्तिगत सन्तुलन मिलाउन नसक्दा ओली समूहभित्रै असन्तोष बढेको हो ।

महाधिवेशनस्थलमा देखिएको गतिविधिले ओली स्वयं पनि असहज अवस्थामा रहेको संकेत गर्छ । कोर टिमका केही नेताहरूलाई फकाउने, भेटघाट र छलफल बढाउने प्रयास भइरहे पनि सबै असन्तुष्टि तत्काल समाधान हुने अवस्था देखिँदैन । स्रोतका अनुसार ओली पक्षले अन्तिम समयमा समीकरण मिलाउन प्रयास गरिरहेको छ, तर यसले कति प्रभाव पार्छ भन्ने अनिश्चित छ।

यसबीच अध्यक्ष पदमा अर्का प्रत्यासी ईश्वर पोखरेलले असन्तुष्ट समूहलाई आकर्षित गर्ने प्रयास गरिरहेको चर्चा छ। ओली समूहबाट अपेक्षित अवसर नपाएका नेताहरू वैकल्पिक नेतृत्वतर्फ झुक्न सक्ने सम्भावनाले निर्वाचनको गणित झन् जटिल बनेको छ। एमालेभित्र लामो समयदेखि एउटै केन्द्रमा केन्द्रित शक्ति संरचनाप्रति प्रश्न उठ्दै आएको सन्दर्भमा यो महाधिवेशन निर्णायक हुन सक्ने विश्लेषण पनि भइरहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको बलियो पक्ष भनेको संगठित संरचना, कार्यकर्ता माझको पहिचान र विगतको नेतृत्व अनुभव हो । तर, यही अनुभवलाई निरन्तरताको मात्र आधार बनाउँदा नयाँ आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरिएको अनुभूति कार्यकर्तामा पर्न गएको उनीहरूको भनाइ छ । कोर टिमभित्रको असन्तुलनले तल्लो तहसम्म सन्देश जाने भएकाले यसले मत परिणाममा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।

महाधिवेशन अन्तिम चरणमा प्रवेश गर्दा ओलीले कति सफलता पूर्वक असन्तुष्टलाई समेट्न र कोर टिमलाई पुनः सक्रिय बनाउन सक्छन् भन्ने कुरा निर्णायक हुनेछ । यदि आन्तरिक व्यवस्थापन कमजोर रहिरह्यो भने बलियो देखिएको गणित अन्तिम परिणाममा उल्टिन सक्ने सम्भावना पनि नकार्न सकिँदैन । एमालेको यो महाधिवेशन केवल नेतृत्व चयन मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको दिशाबारे पनि निर्णायक मोड बन्ने देखिन्छ । 

Share News