प्रदीप ज्ञवालीको अपिल- ओली नेतृत्वको टिमलाई शानदार मत दिनुस्

काठमाडौं । नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमाले नेता प्रदीप ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई विजयी गराउन अपिल गरेका छन् । 

ज्ञवालीले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक जीवन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिका लागि समेत यो महाधिवेशन दूरगामी महत्त्वको रहेको उल्लेख गरेका छन् । चुनौतीपूर्ण राजनीतिक परिवेशमा पार्टीलाई बलियो, एकताबद्ध र स्थिर दिशामा अघि बढाउन ओली नेतृत्वको टिम आवश्यक रहेको उनको भनाइ छ ।

‘आजको मतदान एमालेको भावी दिशा तय गर्ने निर्णायक क्षण हो,’ ज्ञवालीले अपिलमा भनेका छन्, ‘यस ऐतिहासिक महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नुभएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी गराइदिनु हुन म सबै प्रतिनिधि कमरेडहरूमा हार्दिक अनुरोध गर्दछु ।’

यसैबीच, ज्ञवालीले यस पटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । आफू सधैँ कार्यकर्ताको बीचमै रहेको र पार्टी तथा आन्दोलनका लागि निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Share News