मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, तर गत वर्षको तुलनामा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेपनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिनामा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएको छ । 

मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ निर्धारण गरिएको थियो । तर, मङ्सिर महिनाभर ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । उक्त राजस्व संकलन लक्ष्यको ८४.३१ प्रतिशत प्राप्त भएको हो । मङ्सिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ ।

यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु वर्षको अवस्था केही सकारात्मक देखिन्छ । गत २०८१/८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्ष मङ्सिरसम्म जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै, मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो ।

Share News