एमाले महाधिवेशन : बहुविवाह मुद्दा र आरक्षण विवादका दुई उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका क्रममा दुई नेताको उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोगले कानुनी र प्रक्रियागत कारण देखाउँदै केन्द्रीय सदस्य पदका दुई उम्मेदवारलाई प्रतिस्पर्धाबाट बाहिर राखेको बताएको छ ।

निर्वाचन आयोगका अनुसार बहुविवाहको मुद्दा लागेका पासाङ शेर्पाले दर्ता गराएको केन्द्रीय सदस्य पदको उम्मेदवारी खारेज गरिएको हो । 

शेर्पाले उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार तोकिएको कारबाही भुक्तान गरिसकेको दाबी गरे पनि पार्टी विधान र नैतिक आचरणसम्बन्धी मापदण्डअनुसार उम्मेदवारी मान्य नहुने ठहर गरिएको आयोगले जनाएको छ । 

पार्टी नेतृत्व चयनको प्रक्रियामा उच्च नैतिक मापदण्ड आवश्यक हुने भन्दै आयोगले उनको उम्मेदवारी अस्वीकृत गरेको हो ।

त्यसैगरी, धर्मराज गिरीको उम्मेदवारी पनि खारेज भएको छ । उनले आफ्नो स्थायी भूगोलभन्दा फरक क्षेत्रबाट आरक्षण कोटामा उम्मेदवारी दर्ता गराएका कारण प्रक्रियागत त्रुटि देखिएको आयोगको निष्कर्ष छ । 

पार्टी विधानले तोकेको भूगोल र आरक्षणसम्बन्धी व्यवस्था विपरीत उम्मेदवारी परेपछि आयोगले नियमअनुसार उम्मेदवारी खारेज गर्ने निर्णय गरेको बताइएको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा नियम, विधान र नैतिक मापदण्ड कडाइका साथ लागू गरिएको भन्दै निर्वाचन आयोगले सबै उम्मेदवारलाई निर्धारित मापदण्डअनुसार मात्र प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ ।

Share News