बल्झिँदै कांग्रेसमा महाधिवेशन विवाद, संक्षिप्त कि विशेष भन्नेमा बहस

काठमाडौं ।  नेपाली कांग्रेसमा निर्धारित समयमै नियमित महाधिवेशन हुने नहुनेबारे अन्योल देखिएको छ । यही अन्याैलताका बीच पार्टीमा विशेष महाधिवेशन कि संक्षिप्त महाधिवेशन भन्ने बहस सुरु भएको छ ।

पछिल्लो समय विशेष महाधिवेशन पक्षमा रहेका नेताहरूले नेतृत्वलाई स्मरणपत्र बुझाएपछि फेरि कांग्रेसभित्र महाधिवेशनको बहस तातिएको हो ।

नियमित महाधिवेशनका लागि पार्टी नेतृत्वले स्पष्ट पहल नगरेको र प्रक्रिया अघि नबढेको निष्कर्षसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाएको नेता जगदीशनरसिंह केसीले जानकारी दिए । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन नै विकल्प हुने उनको ठहर छ ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानमा रहेका नेता केसीले स्मरणपत्र बुझाएको जानकारी दिँदै पार्टीभित्र नियमित महाधिवेशन नै पहिलो प्राथमिकता रहेको बताए । तर निदाएको स्वाङ पारेको नेतृत्व ब्यूँझने सम्भावना नरहेको केसीको दाबी छ ।

संक्षिप्त महाधिवेशनको प्रक्रियाबाट भएपनि नियमित महाधिवेशन गर्न आफूहरूले पहल गरिरहेको तर नेतृत्व त्यसका लागि तयार नभएको केसीले बताए । उनका अनुसार कांग्रेस बचाउने हो भने तोकिएकै मितिमा महाधिवेशन नगरी हुँदैन । पुष २८ गते जसरी पनि महाधिवेशन गर्नैपर्छ । त्यो महाधिवेशन संक्षिप्त पनि हुनसक्छ विशेष पनि हुनसक्छ । 

सभापति शेरबहादुर देउवा एमालेले देखाएको ललिपपमा भुल्दा कांग्रेस क्रमश : ओरालो लागेको ठहर केसीको छ ।

यता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने निर्वाचनमा तन मन दिएर पार्टी लाग्नुपर्ने बेलामा महाधिवेशनको बहस निरर्थक भएको बताउँछन् ।

‘अहिले पार्टी निर्वाचनभन्दा आम निर्वाचन महत्त्वपूर्ण छ,’  उनले भने ।
 

Share News