काठमाडौं । भिसाले आफ्नो एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कारबाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय स्तरको यस पुरस्कारबाट सम्मानित हुने सिद्धार्थ बैंक पहिलो नेपाली वाणिज्य बैंक हो । सिद्धार्थ बैंकले ग्राहकहरुका आवश्यकताहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्दै विभिन्न प्रकारका कार्डहरु जारी गर्ने, जारी गरिएका कार्डहरुमा थप सुविधाहरु वृद्धि गर्दै जाने एवं नविनतम सोचहरुलाई कार्यान्वयनमा ल्याउँदै, कार्ड व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्दै आएको फलस्वरुप यो पुरस्कार प्राप्त गरेको हो ।
सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र यूनो इन्टरनेट भेन्चरर्स डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी हाल सञ्चालनमा ल्याइएको सिद्धार्थ यूनो क्रेडिट कार्डका ग्राहकले यस कार्ड मार्फत् यूनोका देशभरी रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस क्रेडिट कार्डको प्रयोगबाट ग्राहकहरुले वस्तु तथा सेवाको खरिदमा आकर्षक छुटको सुविधा प्राप्त गर्ने हुँदा यस क्रेडिट कार्डको प्रयोगले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने छ भन्ने बैंकको विश्वास रहेको छ । सिद्धार्थ बैंकबाट हुने कुल कारोबार संख्याको ३० प्रतिशत भन्दा बढी कारोबार नगद रहित कारोबार हुने गरेको छ ।
क्रेडिट कार्ड संगै सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हालसम्म १६०,००० भन्दा बढी भिसा कार्डहरु जारी गरिसकेको छ ।
हाल सिद्धार्थ बैंकले ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द र ४०० भन्दा बढी एइक् मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।