काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्याेट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकालबारे सूचना दिनेलाई पुरस्कृत गर्ने भएको छ । आयोगले पटक पटक हाजिर हुन पत्र काट्न समेत उपस्थित नभएपछि पक्राउ पुर्जि जारी गरेको थियो ।
महत र ढकाल हाल फरार रहेका छन् भने सो आयोगका सदस्य सचिव चुडामणी शर्मा आयोगको हिरासतमै रहेका छन् । आयोगले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर तत्कालिन कर फछ्र्याेट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकालबारे सूचना दिनेलाई उचित पुरस्कार दिने घोषणा गरेको हो ।
तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले गठन गरेको कर फछ्र्याेट आयोगले एक हजार भन्दा बढि व्यवसायीलाई २१ अर्ब भन्दा बढि कर छुट दिएको थियो । अनधिकृत रुपमा कर छुट दिएर राज्य कोषलाई नोक्सानी पारेको भन्दै महालेखा परिक्षक रिपोर्टले लेखेपछि अख्तियारले छानविन सुरु गरेको थियो ।
व्यवस्थापिका संसदको अर्थ समिति बैठकमा कर फछ्र्याेट आयोग गठन गरेका तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले उनीहरुको बचाउ गरेका थिए । डा. महतले कर फछ्र्याेट आयोग कानुन सम्बत भएको र उसले गरेका काम कारवाहीका अनुसन्धान तथा अदालतमा मुद्धा समेत चलाउन नपाउने जिकिर गरेका थिए ।