११ महिनामा १ खर्ब ४८ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी ऊर्जामूलक उद्योगमा लगानी

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा उद्योगमा १ खर्ब ४८ अर्ब ३१ करोडको लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागमा दर्ता भएका उद्योगहरू सञ्चालनमा आए करिब २३ हजार ६ सयले रोजगारी पाउने प्रतिवद्धता उल्लेख गरिएको छ । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४० अर्ब ८६करोड रुपैयाँले [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा उद्योगमा १ खर्ब ४८ अर्ब ३१ करोडको लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागमा दर्ता भएका उद्योगहरू सञ्चालनमा आए करिब २३ हजार ६ सयले रोजगारी पाउने प्रतिवद्धता उल्लेख गरिएको छ । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४० अर्ब ८६करोड रुपैयाँले बढी हो । गएको वर्षको समीक्षा अवधिका कुल तीन सय ४५ वटा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग दर्ता भई १ खर्ब सात अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको थियो । गएको वर्षमा दर्ता भएका उद्योग पनि सञ्चालनमा आएका साढे १६ हजारले रोजगारी पाउने उल्लेख छ ।

गएको वर्षको सो अवधिमा भूकम्पको प्रभाव र ६ महिना लामो नाकाबन्दीको कारण भएका उद्योगधन्दा समेत बन्द भएकाले उद्योग दर्तामा खासै उत्साह देखिएको थिएन ।

चालु आवमा भने ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारले गर्दा उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएपछि उद्योगमा लगानीको प्रतिवद्धता पनि बढ्दै गएको हो । पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग क्षेत्रमा लगानीको वातावरण सिर्जना गरेका कारण उद्योगमा लगानी गर्नेको संख्या बढ्दै गएको हो । उनको निर्णयले उद्योगीहरूलाई हौसला मिलेको छ ।

विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी लगानी भएको छ । चालु आवको ११ महिनामा ऊर्जामूलक क्षेत्रमा ७४ अर्ब ७१ करोड लगानी भएको छ । उक्त उद्योगमा १५ सय २ जनाले रोजगारी पाउने भएका छन् ।

लगानीका हिसावले हेर्दा दोस्रो स्थान उत्पादनमूलक उद्योग ओगटेको छ । चालु आवको समीक्षा अवधिमा एक सय १२ वटा उद्योगहरू दर्ता भएको छ भने उद्योगमा ४० अर्ब २४करोड रुपैयाँ लगानी भएको छ । उत्पादनमूलक उद्योगमा करिब नौ हजार चार सय ८६ ले रोजगारी पाउने प्रतिवद्धता गरिएको छ । रोजगारीको हिसावले यो यस्ता उद्योग नेपाली परिपेक्ष्यमा राम्रो मानिन्छ ।

उद्योग दर्ता हिसावले दोस्रो र लगानीअनुसार तेस्रो स्थानमा सेवामूलक उद्योगले उद्योग विभागबाट उद्योग सञ्चालनको अनुमति लिएका छन् । सो अवधिमा एक सय ४५ उद्योग दर्ता भएर १४ अर्ब ६१ करोड रुपैयाँ लगानी भएको छ । उक्त उद्योगमा एक लाख ६ हजार चार सय १९ जनाले रोजगारी पाउने भएका छन् । विभागमा पर्यटन सम्बन्धी एक सय ३५ उद्योग दर्ता भएर १३ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ ।

सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न सेवा सुविधा प्रदान गरे पनि अन्य उद्योगाको तुलनामा कृषि क्षेत्रमा लगानी प्रतिवद्धता कम देखिएको छ । चालु आवको समीक्षा अवधिमा कृषिमा जम्मा २३ वटामात्र उद्योगहरू दर्ता ३ अर्ब २३ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ ।

उद्योग विभागको भएको दर्ताको तथ्यांकलाई आधारमान्दा चालु आवको ११ महिनाको अवधिमा जम्मा दुई वटामात्र निर्माण सम्बन्धी र तीन वटा खनिज उद्योग दर्ता भएको छ ।

१५ अर्ब ३७ करोडमात्रै वैदेशिक लगानी

यस अवधिमा भएको उद्योगमा लागनीमध्ये १५ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक प्रतिवद्धता हो । चालू आवमा तीन सय ४३ वटा वैदेशिक लगानी भएका उद्योगहरू दर्ता भएका छन् । सो उद्योगमा १० हजार एक सय ५३ जनाले रोजगारी पाउने भएका छन् । गएको वर्षको सो अवधिमा तीन सय ४ वटा वैदेशिक लगानीका उद्योगहरू दर्ता भएर १६ अर्ब ६५ करोडको लगानी प्रतिवद्धता भएको थियो । उक्त उद्योगमा ९ हजार आठ सय ६६ जनाले रोजगारी पाउने भएका छन् ।

Share News