चिसो मंसिरमा सरकारी उपहारः खाना पकाउने ग्यासको हाहाकार

<p>काठमाडौं । नेपाल सरकारको लापरवाहीका कारण आगामी जाडो महिनामा खाना पकाउने एलपी ग्यासको अभाव हुने भएको छ । सरकारले नेपाली नम्बर प्लेटका बुलेटलाई ग्यास ढुवानी गर्ने अनुमति दिलाउन नसक्दा मध्य मंसिरदेखि एलपी ग्यासको ढुवानी ठप्प हुन लागेको हो । ‘नोभेम्बर महिना(मंसिर १५) देखि भारतीय नम्बर प्लेटका बुलेटले नेपालका लागि ग्यास ढुवानी गर्दैनन्, त्यतिञ्जेलसम्म नेपाली नम्बर [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारको लापरवाहीका कारण आगामी जाडो महिनामा खाना पकाउने एलपी ग्यासको अभाव हुने भएको छ । सरकारले नेपाली नम्बर प्लेटका बुलेटलाई ग्यास ढुवानी गर्ने अनुमति दिलाउन नसक्दा मध्य मंसिरदेखि एलपी ग्यासको ढुवानी ठप्प हुन लागेको हो । ‘नोभेम्बर महिना(मंसिर १५) देखि भारतीय नम्बर प्लेटका बुलेटले नेपालका लागि ग्यास ढुवानी गर्दैनन्, त्यतिञ्जेलसम्म नेपाली नम्बर प्लेटका बुलेटले ढुवानी गर्ने व्यवस्था मिलाउन नसके चिसोमा जनताको भात भान्छा बन्द हुनेछ’, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने ।

व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आपुर्ति तथा उपभोक्ता हित उप समिति बैठकमा बोल्दै घिमिरेले भने–‘हामीले ३ अर्बको लगानीमा ४०० वटा ग्यास बुलेट तयार पारेका छौं तर सरकारले भारतीय आयल निगमसँग ढुवानी अनुमति दिलाउन नसक्दा आगामी जाडोमा जनताले ग्यास नपाउने सम्भावना बढिरहेको छ ।’

हाल इण्डो नेपाल बल्क ट्रान्स संघका ६०० वटा बुलेटले नेपालमा एलपी ग्यास ढुवानी गर्दै आएका छन् । संघले नेपाल ग्यास उद्योग संघसँगको सम्झौता अनुसार ग्यास बोक्दै आएको थियो । तर नेपाली व्यवसायी आफैंले ग्यास बुलेट खरिद गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल ग्यास उद्योग संघ र इण्डो नेपाल बल्क ट्रान्सपोर्ट संघबिच २०७४ असोज २ गते आगामी नोभेम्बरसम्म मात्रै ग्यास ढुवानी सम्झौता कायम राख्ने सहमति भएको थियो ।

हाल नेपाली नम्बर प्लेटका २ वटा ग्यास बुलेट नेपाल भित्रि सकेको छ । त्यस्तै, ६३७ वटा ग्यास बुलेट भारतीय कम्पनी टाटाले धमाधम निर्माण गरिरहेको छ । त्यसमा नेपाली व्यवसायीको ३ अर्बको लगानी परेको छ । नेपाली व्यवसायीहरुले ७७५ वटा ग्यास बुलेट खरिद गर्ने अनुमति पाएका छन् । त्यसरी खरिद गरिएका बुलेटमा २ तिहाई भन्सार छुटको व्यवस्था गरिएको छ ।

बैठकमा आपुर्ति मन्त्रालयका सचिव प्रेम कुमार राईले भारतीय पक्षसँग नेपाली नम्बर प्लेटका ग्यास बुटेटलाई ढुवानी अनुमति दिनका लागि पटक आग्रह गरेको बताएका थिए । तर भारतीय पक्षले भने बिभिन्न बहाना बनाएर आनाकानी गरिरहेको पनि उनले समिति बैठकमा जानकारी दिएका थिए ।
बैठकले नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु मार्फत ग्यास ढुवानीको व्यवस्था मिलाउन आपुर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

Share News