काठमाडौं । नेपाल पर्यटन बोर्डले विसं २०७३ साल भर आन्तरिक पर्यटन प्रवद्र्धन वर्षका लागि मनाएको घुमफिर वर्षको लागि विनियोजित एक करोड रुपैयाँको बजेट खर्च गर्ने असफल भएको छ । बोर्डले सरकारबाट पाएको एक करोड मध्ये १८ देखि २० लाख रुपैयाँ मात्रै खर्च भएको पर्यटन बोर्डले जानकारी दिएको छ ।
बोर्ड स्रोतका अनुसार खर्च गर्ने कार्यविधि ढिलो स्वीकृत हुनु र बोर्डले गन्तव्य विकासमा मात्रै खर्च गर्ने नीति हुनुले पनि यो रकम खर्चन नसकेको उल्लेख छ । अब बाँकी रकम बोर्डले आगामी आवको बजेटमार्फत खर्च गर्ने गरी तयारी गरिरहेको पनि बोर्डले जानकारी दिएको छ ।
‘बोर्डले पहिलोपटक आन्तरिक पर्यटक लक्षित गरेर ल्याएको यस्तो भम्रण वर्षले घुम्न जानुपर्छ भने बानीको विकास भएको छ’ बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने । उनका अनुसार नयाँ गन्तव्य पनि विकास निकै राम्रोसँग भएको छ ।
हामीले खर्च कति गरको हिसाव भन्दा पनि कति सचेतना बढ्को छ र घुम्ने संस्कृतिको विकास कसरी बृद्धि भइरहेको छ भनेर हेर्नुपर्ने तर्क पनि जोशीले दिए । उनका अनुसार प्रभावकारी र घुम्ने संस्कृतिमा भएको विकासले गर्दा नेपाल सरकारको सबैभन्दा सफल अभियान नै आन्तरिक भ्रमण वर्ष बन्यो ।
पर्यटक भनेका विदेशी नभएर नेपाली पनि हुन भने सोच विकास भएको छ । जिल्ला जिल्लामा करोडौं लगानी होटेल पनि विस्तार गर्न यसले सहयोग भएको छ । यो लगानीलाई पनि हामीले पर्यटन क्षेत्रमा भएको विकास र पर्यटकीय दृष्टिले भएको लगानीको रुपमा हेर्नुपर्ने बुझाइ जोशीको छ ।
अन्तर्राष्ट्रिय भ्रमण वर्ष २०१८ पनि अस्वीकृत
अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्न र नेपालको भूकम्पपछिको छवि सुधार गर्न मनाउने तयारी गरेको सन् २०१८ को नेपाल भ्रमण वर्ष अस्वीकृत भएको छ ।
सरकारले आर्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रमै समावेश गरेको यो योजना सन् २०१८ लाग्नै लाग्दा अस्वीकृत भएको हो । सरकारले वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनमा आउन जम्मा ६ महिना मात्रै बाँकी छ ।
अहिलेसम्म कुनै तयारी छैन, कार्यक्रम संयोजनको टीम बनेको छैन, कार्यक्रमको मोडालिटी केही नवनेकोले भ्रमण वर्ष अस्वीकृत भएको होटल संघ नेपाल हानका महासचिव विनायक शाहको बुझाई छ ।
यो योजना स्वीकृतिका लागि पर्यटन मन्त्रलयले मन्त्रीपरिषद् पुर्याएको भएपनि स्वीकृत नभइ मन्त्रलयमा नै फिर्ता भएको पनि उल्लेख छ । नेपाल भ्रमण वर्ष २०१८ अभियान मन्त्रिपरिषद्बाट अनुमोदन नभई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नै फिर्ता भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि नेपालले सन् २०११ मै १० लाख पर्यटक ल्याउने गरी नेपाल पर्यटन वर्ष मनाइसकेको छ । सो वर्ष त्यो लक्ष्य पूरा हुन सकेन । तर, त्यसपछिको वर्ष त्यसको प्रभावस्वरूप सन् २०१२ मा ८ लाख ३० हजार ९२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
त्यसयता नेपाल आउने पर्यटक संख्या निरन्तर घट्दो क्रममा छ ।
सात वर्षपछि अर्को भ्रमण वर्ष आयोजनाको तयारी गर्दा पनि लक्ष्य भने फेरिएन । १० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो ।
१० लाख भित्र्याउँन नक्दै २५ लाखको लक्ष्य
२० लाख पर्यटक भित्र्याउने गरी ल्याएको भिजन २०२० पनि असफल नै रह्यो । यो योजना चलिरहेको बेलामा सरकारले सन् २०२५ सम्ममा २५ लाख पर्यटक भित्र्याउने योजना अगाडि सारेको छ । सन् २०१६ देखि २५ सम्मको १० वर्षे यो योजनामा २५ लाख पर्यटक भित्र्याउने गरी रणनीति बनाएको छ ।