काठमाडौं । जन्मसँगै मानिसको अस्थित्व सुरु हुन्छ, सरकारी कार्यालयमा उसको विवरण दर्ज भएपछि कानुनी अस्थित्व स्थापित हुन्छ । जन्म दर्ताबाट मानिसलाई राज्यको पहिचान भित्र समेटिन्छ । त्यसपछि उसको शैक्षिक संस्था मार्फत अर्काे विवरण सरकारी निकायमा दर्ज हुन्छ । जग्गा जमिन खरिद, विवाह दर्ता हुँदै सरकारी जागिर खाँदासम्म उसले आधा दर्जन भन्दा धेरै पटक सरकारी कार्यालयमा आफ्नो वैयत्तिक विवरण बुझाएको हुन्छ ।
त्यसरी बिभिन्न निकायमा वैयक्तिक विवरण बुझाउँदा नाम, ठेगाना वा जन्म मिति फरक परेमा उसले सच्याउने अवसर पनि पाउँछ । नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा फरक भेटिए त्यसलाई तत्कालै सच्याउन सकिन्छ । तर सर्वाेच्च अदालतका कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुलीले भने ६५ बर्षपछि मात्रै आफ्नो जन्म मिति सच्याएका छन् । अर्थात पराजुलीले ६५ बर्षपछि पुनर्जन्म प्राप्त गरेका छन् ।
त्यो पनि उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधिश बन्ने प्रयोजनका लागि आफ्नै अध्यक्षतामा बसेको बैठकबाट पुनः जन्म प्राप्त गरेका हुन् । २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ वर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ ।

त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । उनको पेन्सन पट्टामा भने जन्म मिति २०१० साल बैशाख १३ गते लेखिएको छ । यसरी गोपाल पराजुली एक वर्षमै तीन पटक जन्म लिने ऐतिहासिक व्यक्ति बन्न सफल भएका छन् ।
२०६८को न्याय परिषद बुलेटिनदेखि २०७२ सालसम्म उनको जन्म मिति २००९ साल साउन १६ गते नै लेखिएको छ । तर उनले सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायधिश बन्नकै लागि आफ्नो जन्म मिति सच्याएर २०१० साल बैशाख १६ गते कायम गराएका छन् ।

पराजुलीले २०६७ साल मंसिर ९ गते नै नागरिकताको प्रतिलिपी बनाएर उमेर सच्याएको भएपनि २०७२ सालसम्म किन अभिलेख अद्यावधिक गरेनन ? यो प्रश्न पनि उब्जिएको छ ।


