काठमाडौं । पुर्व पश्चिम रेलमार्गको बर्दिबास– लालबन्दी खण्डमा ७० प्रतिशत माटो बिछ्याउने काम सम्पन्न भएको छ । रेलवेको भाषमा यसलाई सिभिल इञ्जिनियरिङको काम भनिन्छ । कुल २५ किलोमिटर लम्बाईको बर्दिबास–लालबन्दीमा बिभिन्न ६ वटा प्याकेजमा काम भैरहेको छ ।
‘औषतमा ७० प्रतिशत माटो भर्ने काम सम्पन्न भएको छ, अब बर्खा लागेकाले काम द्रुतगतिमा अघि बढाउन मुस्किल छ, तै पनि मौसमी अनुकुलता रहुञ्जेल काम जारी रहन्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने ।
सागरनाथ वन विकास परियोजनाले ओगटेको १० किलोमिटर क्षेत्रमा भने रुख काटेर माटो भर्ने काम थालिएको छ । ४ र ५ नम्बर प्याकेजमा पर्ने सो खण्डमा भने जम्मा २० प्रतिशत मात्रै काम भएको छ । अन्यत्र भने ८० प्रतिशतसम्म काम सम्पन्न भैसकेको छ । आगामी मंसिरसम्ममा माटो भर्ने काम सम्पन्न भैसक्ने उपाध्यायले बताए ।
रेलमार्गको प्रत्येक ३ सय मीटरमा एउटा क्रसिङ लाइन निर्माण हुने पनि उनले बताए । तल र माथीका नागरिकलाई आवातजावत गर्नका लागि रेल लिकको तलबाट त्यस्तो बाटो निर्माण गरिनेछ । ‘प्रत्येक ३ सय मिटरमा मालवाहक सवारी साधन छिर्न सक्ने अण्डर पास(पासिङ लाइन) निर्माण हुनेछ’, उपाध्यायले भने ।
रेल विभागले आगामी आर्थिक बर्षका लागि ४ अर्ब २ करोड बजेट पाएको छ । एक किलोमिटर रेलमार्ग निर्माणका लागि करिब ३५ देखि ४० करोेड लागत आवश्यक पर्ने अनुमान गरिएको छ । विभागले आगामी आर्थिक बर्षमा लालबन्दी देखि निजगढसम्म रेलमार्ग निर्माणको काम अघि बढाउने तयार गरेको छ ।

