काठमाडौं । ‘मुग्लिनबाट ३५ मिनेटको अवधीमा नारायणगढ पुगिन्छ’ भन्ने कुरा झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ । तर अबको केहि महिनाभित्रै मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमै छोटिँदैछ । ‘आगामी डिसेम्बरसम्ममा पहिरो ग्रस्त ४ किलोमिटर क्षेत्र बाहेकको काम सकिन्छ, पुरै काम सक्न थप एक दुई महिना लाग्न सक्छ, काम सम्पन्न भएपछि मुग्लिन–नारायणगढ यात्रा ३५ मिनेटमा छोटिन्छ’, सडक विभागका इञ्जिनियर तथा आयोजना प्रमुख सञ्जय श्रेष्ठले भने ।

हाल मध्यम साइज अर्थात दुई लेनमा रहेको ३६ किलोमिटर लामो सो सडक छिचोल्न घण्टौं लाग्दै आएको छ । ‘चार लेनको सडकबाट ३५ मिनेटमा मुग्लिन नारायणगढ यात्रा गर्न सकिन्छ, पहिरो भएको क्षेत्रमा भने चार पाँच बर्षसम्म पहिरो नियन्त्रणका लागि निरन्तर काम गरिरहनुपर्छ’, श्रेष्ठले भने । नारायणगढ-मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् ।
काली खोला आसपासको ४ किलोमिटर क्षेत्रमा २९ वटा जोखिमपुर्ण पहिरो रहेका छन् । रातमा सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै हाललाई राती १० घण्टाका लागि सवारी साधन आवागमन रोकेर निर्माणको काम अघि बढाइएको छ । हाल ५ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भैसकेको छ ।
कुल काम मध्ये ५० प्रतिशत सम्पन्न भैसकेको छ । ६४ प्रतिशत काम सम्पन्न भैसक्नुपर्ने समयमा कठिनमध्येको ५० प्रतिशत काम सकिएकाले बाँकी काम गर्न धेरै समय नलाग्ने सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए ।‘६४ प्रतिशत काम हुनुपर्नेमा ५० प्रतिशत काम सकिएको छ तर कठिन काम धेरै सकिएकाले बाँकी काम गर्न धेरै समय लाग्दैन’, सिग्देलले भने ।