काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा ६५ प्रतिशतसम्म बैंकले लगानी गर्न पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको ६५ प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यस अघि अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था थियो । यसले अटोमोबाइल्स क्षेत्रको व्यापारमा बढोत्तरी हुनेछ ।

नयाँ मौद्रिक नीतिले व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था पनि गरेको छ ।
त्यसै गरि, व्यक्तिगत प्रयोजनका आवासिय कर्जामा पनि केन्द्रिय बैंकले खुकुलो नीति अख्तियार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको सिमा १ करा्ढ ५० लाख पुर्याएको छ । यस अघि बैंक तथा वित्तिय संस्थाहरुले व्यक्तिगत आवासिय भवनका लागि एक करोेड मात्रै लगानी गर्न पाउने सुबिधा थियो ।
त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने छन् । तर एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था पनि अघि सारेको छ ।