सेयर कर्जाप्रति उदार र स्पष्ट मौद्रिक नीति, सेयर कर्जा २७५ प्रतिशत बढाउन मिल्ने सुविधा

<p>काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ । सेयर कर्जाबारे वर्षौदेखिको अन्यौलतालाई नयाँ मौद्रिक नीतिले हटाएको छ । कुन बैंकले कति सेयर लगानी गर्न पाउने र कुन कम्पनीको सेयर धितोमा कतिसम्म कर्जा लगानी गर्न पाउने भन्ने विषयमा मौद्रिक नीतिले स्पष्ट पारेको छ [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ । सेयर कर्जाबारे वर्षौदेखिको अन्यौलतालाई नयाँ मौद्रिक नीतिले हटाएको छ । कुन बैंकले कति सेयर लगानी गर्न पाउने र कुन कम्पनीको सेयर धितोमा कतिसम्म कर्जा लगानी गर्न पाउने भन्ने विषयमा मौद्रिक नीतिले स्पष्ट पारेको छ ।

नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेयर पुँजी (प्राथमिक पुँजी)को ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएका छन् । यस आधारमा सेयर कर्जा २७५ प्रतिशतसम्मले हुन सक्ने बैंकर्सहरुले बताएका छन् ।

बैंकहरुको चुक्ता पुँजी ८ अर्ब भईसकेको अवस्थामा ४० प्रतिशत रकम सेयर कर्जामा प्रवाह गर्न पाउने व्यवस्था पुँजी बजारको लागि निकै उदार भएको गभर्नर डा चिरञ्जीवि नेपालले बताए । ‘२ अर्बको बैंक हुँदा यहि नीति अनुसार ८० करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह हुन सक्थ्यो । ८ अर्बको पुँजी भएको बैंकले ३२० करोड रुपैयाँ सेयर कर्जामा लगानी गर्न पाउँछ’ विकासन्युजसँग कुरा गर्दै गभर्नर नेपालले भने ।

बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि हुँदै जाँदा सेयर बजारमा प्रवाह हुने कर्जा पनि विस्तार हुँदै जाने उनले बताए ।

नयाँ नीतिका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २० अर्ब रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जामा लगानी गर्न सक्ने बैंकर्स अनलराज भट्टराईले बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जामा करिव ३२ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । अब १२० अर्ब रुपैयाँसम्म लगानी गर्न सक्ने बाटो खुला भएको छ ।’

त्यस्तै एउटै कम्पनीको सेयर धितोमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको १० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । चुक्ता पुँजी ८ अर्ब भएको कुनै एक बैंकले नेप्सेमा सूचिकृत कुनै पनि एक कम्पनीको सेयर धितोमा ८० करोड रुपैयाँसम्म कर्जा लगानी गर्न पाउने भएको छन् ।

‘पहिला सेयरमा बढी कर्जा प्रवाह भयो मात्र भनिन्थ्यो । तर स्पष्ट मापदण्ड थिएन । अहिले स्पष्ट मापदण्ड आयो’ भट्टराईले भने ।

मौद्रिक नीतिले सेयर कर्जा प्रवाहको लागि प्रशस्त ठाउँ खुला गरिए पनि बैंकहरु लगानी गर्ने अवस्थामा नभएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘मौद्रिक नीतिले कर्जा प्रवाह गर्न तरलता उपलब्ध गराएको छैन, उत्पादनमुलक क्षेत्रमा अनिवार्य लगानीको सीमा वृद्धि गरिएको छ । यस अवस्थामा सेयर कर्जामा बैंकहरुले लगानी गर्न सक्दैनन्’ शाहले भने ।

Share News