काठमाडौं । एनसीसी बैंकले भदौं १६ गते साधारणसभा बोलाउने भएको छ । मंगलबार बस्न लागेको बैंक सञ्चालक समितिको बैठकका अजेण्डाहरुमा भदौ १६ गते साधारणसभा बोलाउने, साधारणसभामा ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र ६ जना सञ्चालकको निर्वाचन सम्बन्धि विशेष प्रस्ताव रहेका छन् ।

यस साधारणसभामा सेयरधनीलाई बोनस सेयर वा नगद लाभांश दिने कुनै पनि प्रस्ताव नरहेको स्रोतले बताए । राष्ट्र बैंकले समालेपछि एनसीसी बैंकले लगातार तीन वर्ष ५ प्रतिशत, ३८ प्रतिशत र १६ प्रतिशतका दरले बोनस सेयर वितरण गरेको थियो ।
राष्ट्र बैंक फिर्ता भएपछि फेरी यो बैंकको सेयरधनीको हात रित्तो भएको छ । राष्ट्र बैंकले टेकओभर गर्नु पूर्वको १६ वर्षसम्म पनि यस बैंकका सेयरधनीले लाभांश खान पाएका थिएनन् ।
आर्थिक वर्ष २०७३/७४ सकिएको डेढ महिनापछि गर्न लागिएको साधारणसभामा आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन मात्र पेश हुनेछ । त्यसमा मर्जपूर्वका कम्पनीहरुको अलग अलग र आर्थिक वर्ष २०७३/७४ को प्रथम ६ महिनाको संयुक्त आर्थिक प्रतिवेदन पेर गर्ने तयारी छ ।
उच्च अदालतले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको छुट्टै हिसाव राख्नु भन्ने अन्तिरम आदेश दिएकाेअवस्थामा ‘अदालतको अन्तिम फैसलालाई स्वीकार गर्ने’ प्रस्तावसहित संयुक्त हिसाव साधारणसभामा पेश गर्न लागिएको स्रोतले बतायो । साधारणसभा गर्नको लागि अदालतको अन्तरिम आदेश अनुकूल नभएपनि पुँजी ८ अर्ब पुर्याउने समय सीमा घड्किएकोले असार मसान्तअघि नै साधारणसभा बोलाउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ मात्र छ ।