काठमाडौं । अब विदेशमा रहेका नेपालीहरुले हुण्डीबाट पैसा पठाउनु भन्दा रेमिटेन्स कम्पनीको च्यानलबाट पठाउन सस्तो हुने भएको छ । रेमिटेन्स कम्पनीको कारोबार शुल्क महंगो भएकाले हुण्डी कारोबार बढेको निष्कर्षसहित शुल्क पुनरावलोकन हुन लागेको हो । व्यवस्थापिका संसदको अर्थ समितिले रेमिटेन्स कम्पनीको च्यानलबाट पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर पुुनरावलोकन गर्न निर्देशन दिएको हो ।

‘रेमिटेन्स कम्पनीको च्यानलबाट पैसा पठाउँदा कारोबार शुल्क महंगो र विनिमय दर पनि कम हुने भएकाले हुण्डी कारोबारले प्रोत्साहन पाईरहेको देखियो, त्यसैले रेमिटेन्स कम्पनीको कारोबार शुल्क र विनिमय दर पुनरावलोकन गर्न निर्देशन दिएका छौं’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने ।
अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणी शिवाकोटीले पनि रेमिटेन्स कम्पनीको करोबार शुल्क बढि भएकाले हुण्डीले प्रोत्साहन पाएको बताउँदै रेमिटेन्स कम्पनीहरुलाई अनुदानको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । उनले दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स(युएइ)बाट हुण्डी मार्फत धेरै कारोबार भैरहेको पनि बताएका थिए ।
अर्थ समिति बैठकले हुण्डी कारोबार नियन्त्रणको कार्ययोजना बनाउन, विदेश जाने कामदारको बैंक खाता अनिवार्य गर्न, श्रम सम्झौतामै बैंकिङ च्यानल मार्फत पैसा पठाउने प्रतिवद्धता गराउन पनि निर्देशन दिएको छ । त्यस्तै विदेश जाने नेपाली कामदारले बैंकिङ च्यानलबाट पठाएको पैसाको निश्चित प्रतिशत कोषमा जम्मा गर्ने र केहि ब्याज दिने व्यवस्था गरेर त्यस्तो रकमलाई व्यक्तिको सेयरका रुपमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ ।
बैठकमा पुर्व अर्थमन्त्री डा. रामशरण महत, सुरेन्द्र पाण्डेले हुण्डी कारोबार नियन्त्रण गर्न सरकारले कारोबार शुल्क घटाउनु पर्ने बताएका थिए । आइएमईका अध्यक्ष चन्द्र ढकालले पनि पाकिस्तानमा जस्तै रेमिटेन्सको कारोबार गर्ने कम्पनीलाई सरकारले अनुदान दिएर कारोबार लागत घटाउनुपर्ने धारणा राखेका थिए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार हाल विदेशबाट नेपालमा रेमिटेन्स पठाउन न्युनतम ५ डलरदेखि ८ डलरसम्म शुल्क कायम रहेको छ ।