काठमाडौं । नेपाल टेलिकमले धरहरा निर्माणमा ७ अर्ब लगानी गर्ने योजना तयार पारेको छ । टेलिकमले ३० बर्षमा लगानी उठ्ने प्रक्षेपणसहित ७ अर्ब लगानी गर्ने योजना तयार पारेको हो । पुरातत्व विभागले तयार पारेको धरहराको लागत भने ३ अर्ब ६७ करोड १९ लाख १२ ५ सय ६८ रुपैंयाँ १६ पैसा थियो ।

पुरात्व विभागले तयार पारेको डिजाइनमा धरहरा बनाउँदा लगानी नउठ्ने भन्दै टेलिकमले चार तले व्यवसायीक भवन बनाउने प्रस्ताव अघि सारेको हो ।‘पुरातत्व विभागले तयार पारेको डिजाइन अनुसार लगानी गर्दा सञ्चालन खर्च पनि नउठ्ने भएकाले चार तलाको नयाँ भवन निर्माण गर्नुपर्ने प्रस्ताव पेश गरेका छौं, एक दुई दिनमै निष्कर्ष निस्कन्छ’, टेलिकमको सिभिल विभागका प्रबन्धक डा. सुनिल पोखरेलले विकासन्युजसँग भने ।
उनले १० रोपनी जमिनमा चार तलाको भवन थप्दा ७ अर्ब लगानी पुग्ने र ३० बर्ष सञ्चालन गर्दा लगानी उठ्ने बताए ।‘हामीलाई धरहरा बनाएर नाफा कमाउनु छैन तर लगानी र सञ्चालन खर्च उठ्नु पर्छ, अहिलेकै अवस्थामा त सञ्चालन खर्च पनि उठ्ने सम्भावना देखेका छैनौं’, प्रबन्धक पोखरेलले भने । पर्यटन मन्त्रालयले भने टेलिकमलाई २ तलाको व्यवसायीक भवन बनाउन दिने बताएको छ ।‘टेलिकमले ४ तलाको भवन बनाउन पाउनु पर्छ भनेको छ, हामीले २ तलाको भवन बनाउन दिने सोँच बनाएका छौं’, पर्यटन मन्त्रालयका एक सहसचिवले भने ।
पुरानो धहराको ६ रोपनी, टक्सार विभागको १२ रोपनी, गोश्वारा हुलाकको १२ रोपानी र सुन्धाराको १० रोपनी रोपनी गरि कुल ४० रोपनी क्षेत्रफलमा नयाँ धरहरा निर्माण हुनेछ । २४५ फिट अग्लो धरहरा भिमसेन थापाले निर्माण गर्दा कै अर्थात ११ तल्ले नै हुनेछ । म्युजियम, पार्किङ वाटर फाउण्टेन सुबिधा सम्पन्न क्याफे र लाइब्रेरी समेत धरहरामा हुनेछन् ।