काठमाडौं । काठमाडौं महानगरपालिकाले बिभिन्न क्षेत्रका होर्डिङ बोर्डहरु धमाधम हटाउन थालेको छ । महानगरपालिकाले बिशेष टोली नै खटाएर नियम विपरिद राखिएका र कर नतिर्ने होर्डिङ बोर्डहरु हटाउन थालेको हो । ‘अनधिकृत रुपमा राखिएका र कर समेत नतिरेका होर्डिङ बोर्डहरु हटाउन बिशेष टोली नै परिचालन गरेका छौंं’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने ।

महानगरपालिकाले यस्तो अभियान चलाएर विज्ञापन करको दायरा फराकिलो पार्ने र संकलन लक्ष्य पुरा गर्ने सोँच बनाएको हो । महानगरले गत आर्थिक बर्षमा विज्ञापन कर वापत ७ करोड ३२ लाख रुपैंयाँ संकलन गरेको थियो । चालु आवमा भने त्यसलाई बढाएर १५ करोड संकलन गर्ने लक्ष्य राखेका छ ।

महानगरपालिकाले विज्ञापन करमा व्यापक वृद्धि गरेको छ । महानगरको राजश्व महाशाखाका अधिकृत ध्रुब काफ्लेले भने विज्ञापन करको दर औषतमा २० देखि २५ प्रतिशतसम्म वृद्धि गरेको बताए । हालसम्म महानगरमा विज्ञापन करदाताका रुपमा १८३ वटा कम्पनी रहेका छन् । यसलाई बढाएर ३ सय पुर्याउने योजना रहेको काफ्लेले जानकारी दिए ।
