काठमाडौं । “एउटा कुराको सधैँ हेक्का राख्नुहोस् कि तपाईंहरुले कार्यान्वयन गर्ने कार्यक्रम र खर्च गर्ने रकमबाट नै देशको आर्थिक वृद्धि माथि जान्छ र देशले खोजेको आर्थिक समुन्नतिको मार्गमा अघि बढ्न सकिन्छ ।”

प्रायः राजनीतिक अभिव्यक्ति दिइरहने मन्त्रीहरुको परम्परा तोड्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आज गम्भीर मुद्रामा त्यसो भन्दै प्रस्तुत भए– नेपाल सरकारका सबै मन्त्रालयका सचिव, अन्य निकायका प्रमुख कार्यकारी अधिकृत र विभागीय प्रमुखहरु माझ ।
सन्दर्भ थियो चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरेर विकासको प्रतिफल गाउँमा रहेका गरीब, निमुखा र सिमान्तकृत जनतासमक्ष पु¥याउन राष्ट्रसेवक कर्मचारीलाई जागरुक तुल्याउने ।
मुलुकको राजधानी महानगरमा ढलमा बगेर एक बालिकाको ज्यान गएको लज्जापूर्ण घटनालाई घुमाउरो ढंगले प्रस्तुत गर्दै भावुक बनेका अर्थमन्त्री कार्की निर्माणका काममा समन्वयहीनता, ढिलासुस्ती, जवाफदेहीविहीनता र जिम्मेवारीबाट विचलित हुने प्रवृत्तिको अन्त्यका निम्ति स्थायी सरकारका प्रमुखहरुलाई घच्घच्याउँदै थिए ।
निर्माणको गुणस्तर सुनिश्चिततामा कसैसँग मोलमोलाहिजा नगर्ने उहाँका चेतावनीपूर्ण अभिव्यक्ति कूटनीतिक शैलीको थियो । अर्थमन्त्रीको प्रस्तुतिमा निर्देशनको लेसभर छनक थिएन बरु अनुरोधको भाषामा समस्या देखाउने मात्र होइन समाधान पनि पहिल्याउन हौस्याउने खालको थियो ।
आर्थिक वर्षको अन्तिम महिनामा ४१ प्रतिशत र अन्तिम सातामा मात्र १३.५ प्रतिशत पुँजीगत खर्च भएकामा घोर आश्चर्य प्रकट गर्दै उनले आवको समाप्तिमै बजेट सक्याउने प्रवृत्तिलाई बढावा दिन खोजिएकामा असन्तुष्टि पोखे । उनले साेधे – “गत वर्षको बजेट यहाँहरुले प्रस्ताव गरेबमोजिम तयार गरिएको हो तर पनि कार्यान्वयन पक्ष कमजोर रह्यो । यसको मतलब हाम्रो बजेट तयारी र कार्यान्वयनका बीचमा तालमेल नभएको हो ? सचिवहरु, यसको गम्भीर समीक्षा गर्नुहोस् ।”
दुई छिमेकी मुलुक र अन्य एसियाली देशको तीव्र गतिको आर्थिक विकासले सम्पूर्ण नेपालीलाई पनि आर्थिक उन्नयनका निम्ति घच्घच्याएको बताउँदै उनले ‘भोलि गर्छौं’ भन्ने मानसिकताबाट मुक्त भई बजेटका उद्देश्य पूरा गर्न कार्ययोजना बनाई तत्काल कार्यारम्भ गर्न निर्देशन दिए ।
अर्थसचिव शान्तराज सुवेदी पनि आफ्ना सहकर्मीसँग कठोर रुपमै प्रस्तुत भए । गत आवमा पुँजीगत खर्च बढ्न नसकेकामा चिन्ता र चासो व्यक्त गर्दै उनले भने “अब चाहिँ विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकारले जारी गरेको ४५ बँुदे बजेट कार्यान्वयन मार्गदर्शनलाई अक्षरशः पालना गरिदिनुहोला ।” रासस