काठमाडौं । नेपालमा टेलिकम सेवा प्रदायकको प्रमुख तीन कम्पनीले दूरसञ्चार सेवाप्रदान गरेवापन आर्जन गरेको आम्दानीबाट एक वर्षमा सरकारलाई ४१ अर्ब ६७ करोड रुपैयाँको योगदान गरेका छन् ।
बजारमा प्रमुख हिस्सा ओगट्न सफल एनसेलकै योगदान सबैभन्दा बढी रहेको छ । एनसेल विक्रीबापत तिरेको पूँजीगत लाभकर र यसले गरेको आर्जनबाट तिरको सरकारी राजश्व एकै वर्षमा २८ अर्ब रहेको छ ।
दोस्रो स्थानमा नेपाल टेलिकम (एनटीसी) रहेको पनि ठूला करदाता कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।
यी तीन कम्पनीले सरकारलाई तिरेको ४१ अर्ब ६७ करोड रुपैयाँको राजस्व गत आर्थिक वर्ष २०७३/०७४ को भएको उल्लेख छ ।
दूरसञ्चार सेवाका प्रमुख तीन कम्पनी एनसेल, नेपाल टेलिकम र स्मार्टले सरकालाई एक वर्षमा उक्त राजस्व बुझाएको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।
कुन कम्पनीले कति तिरे
कम्पनी आव २०७३/ ७४ २०७२/७३
एनसेल २८ अर्ब १८ करोड २७ अर्ब ३५ करोड
नेपाल टेलिकम १३ अर्ब ४८ करोड १२ अर्ब ६३ करोड
स्मार्ट टेलिकम १ करोड २० लाख १० करोड ३ लाख
नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमबाट संकलन भएको यस्तो राजस्व गत आर्थिक वर्ष २०७३/७४ मा र ४१ अर्ब ६७ करोड ७५ लाख २५ हजार थियो भने वर्ष २०७२/७३ मा ४० अर्ब आठ करोड ६५ हजार रहेको ठूला करदाता कार्यालयले उपलव्ध गराएको एक तथ्यांकमा उल्लेख छ ।
तथ्यांक अनुसार निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनीले एनसेलको राजस्व सबैको भन्दा बढी छ । यो कम्पनीले गत आवमा मात्रै २८ अर्ब १८ करोड रुपैयाँ राजस्व तिरेको भने भने यसले अघिल्लो वर्ष २०७२/७३ मा एनसेलबाट २७ अर्ब ३७ करोड रुपैयाँको राजस्व संकलन गरेको छ ।
गत आवमा नेपाल टेलिकमले १३ अर्ब ४८ करोड रुपैयाँ राजस्व तिरेको थियो । यो कम्पनीको यस्तो रकम अघिल्लो वर्ष २०७२/७३ मा १२ अर्ब ६३ करोड रुपैयाँ रहेको पनि उल्लेख छ ।
टेलिकम क्षेत्रमा प्रमुख बजार हिस्सा बनाउन सफल एनसेल र एनटीसीपछि राजस्वमा उल्लेख्य योगदान गर्ने कम्पनी स्मार्ट टेलिकम हो ।
यो कम्पनीले १ करोड २० लाख रुपैयाँ तिरेको र बाँकी टेलिकम कम्पनीको विवरण नभएको ठूला करदाता कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सकारलाई बुझाउने यो राजस्वमा नेपाल टेलिकम र एनसेलको बर्षेनी योगदान बढिरहेको छ तर, स्मार्ट टेििलकमको भने अघिल्लो वर्षको तुलनामा गत वर्ष राजस्व घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको ग्राहक संख्या १ करोड ७१ लख पुगेको छ । एनसेलको १ करोड ५४ लाख रहेको छ ।
स्मार्ट टेलिकमको ग्राहक संख्या १५ लाख रहेको छ । बजारमा देखिएकामध्ये यी तीन कम्पनीको मात्रै प्रतिस्पर्धा छ । प्राधिकरणबाट ६ वटा टेलिकम कम्पनीले अनुमति लिएको भएपनि अरुको अवस्था भने कमजोर छ । अरु कम्पनीले सरकारलाई राजस्व तिरेको देखिएकै छैन ।