काठमाडौं । नेपाल टेलिकमको भिडियो कलका वार्षिक ग्राहक ७ हजार ८४ जना मात्रै रहेका छन् । टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७०८४ जनाले उपभोग गरीरहेकाे कम्पनीले जनाएकाे छ। कम्पनीले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको थियो । टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएको थियो । साथै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसा (करबाहेक) का दरले तोकिएको थियो ।
यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने टेलिकमले जनाएकाे छ ।