काठमाडौं । राजश्व अनुसन्धान विभागको राजश्व असुली १३ दशमलब २५ प्रतिशतले घटेको छ । विभागले गत आर्थिक बर्ष २०७३/७४ मा जम्मा १ अर्ब ९९ करोड ६३ लाख ९३ हजार राजश्व उठाएको छ । यो रकम विभागले आर्थिक बर्ष २०७२/७३ मा उठाएको भन्दा ३० करोड ५१ लाख अर्थात १३ दशमलब २५ प्रतिशतले कम हो ।
विभागले आर्थिक बर्ष २०७२/७३ मा २ अर्ब ३० करोड १५ लाख ६४ हजार राजश्व उठाएको थियो । राजश्व छलीको अनुसन्धान तथा कारवाही गर्ने अख्तियारी पाएको विभागले उठाउने राजश्व किन घट्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । विभागको सक्रियता घटेको हो की राजश्व छली घटेको हो ? भन्ने प्रश्नको जवाफमा विभागका प्रवक्ता देवी प्रसाद थपलियाले भने–‘हाम्रो सक्रियता घटेको होइन, राजश्व चुहावट नै घटेको हो, हामीले भन्सारमा कढाई गरेका छौं ।’
विभागले संकलन गरेको भन्सारको दर कम भएकाले पनि राजश्व चुहावट नियन्त्रण भएको दावी उनले गरे । आयकर संकलन भने बढेको छ । विभागले आयकर संकलनलाई ५० करोडबाट बढाएर ९० करोड पुर्याएको छ । भन्सार छली, न्युन विजिकरण, हुण्डी, सुन तस्करी लगायतका राजश्व छलीको अनुसन्धान गर्ने अधिकार राजश्व अनुसन्धान विभागले पाएको छ ।
तस्करीका सुन भने पक्राउ गरेर मुद्धा मात्रै विभागले चलाउने गरेको छ । सुन भने नेपाल राष्ट्र बैंकले लैजाने गरेको छ ।