काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच शहरहरुमा सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
उक्त सरसफाई कार्यक्रमको नेतृत्व यस बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गर्ने भएका छन् । सरसफाईका लागि चाहिने औजार र अन्य सामग्रीहरु बैंकले नै व्यवस्था गर्ने भएको छ ।
सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह्री बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गर्ने छन् । उक्त अवसरमा स्थानीय जनतालाई सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न बैंकले अनुरोध गरेको छ ।