काठमाडौं । कुलमान घिसिङले अध्यारो हटाए, सबैले त्यसको तारिफ गर्नु भयो, मैले यत्रो जोखिम मोलेर भण्डारण गृह बनाएर जनताको घर घरमा ग्यास र इन्धन पुर्याउने काम अघि बढाएको छु, मेरो चैँ बिरोध भयो ।’, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको भनाई हो यो । निगमले भण्डार गृह निर्माणका लागि झापा, सर्लाही, चितवन र भैरहवामा जमिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेपछि खड्काले बिहिबार पत्रकार सम्मेलन डाके ।
उनले जमिन खरिद प्रक्रिया र भण्डारण गृह निर्माण गर्न कुलमान घिसिङले भन्दा ठुलो जोखिम उठाएको दावी पनि गरे । उनले जमिन खरिद प्रक्रियाको सम्पुर्ण फाइल अख्तियारमा पठाएको र छानविनमा सहयोग गर्ने पनि बताए ।‘खरिद प्रक्रियाको सबै फाइल अख्तियारमा बुझाएका छौं, छानविनमा सहयोग गर्छाै’, खड्काले भने ।
जमिन अधिग्रहण गर्न लामो समय लाग्ने भएकाले टेण्डर मार्फत खरिद प्रक्रिया अघि बढाएको तर्क पनि पेश गरे ।‘संसदिय समितिहरुले ५ बर्षभित्रै भण्डारण गृह बनाउन निर्देशन दिएक थिए, जमिन अधिग्रहण गर्दा लामो समय लाग्ने भएकाले टेण्डर गरेका हौं’, खड्काले भने । उनले ठेकेदारसँग निगमका कर्मचारीहरुको कुनै साँठगाँठ नभएको र न्युनतम मुल्य प्रस्ताव गरिएका जमिनहरु प्राबिधिक अध्ययनपछि मात्रै खरिद गरिएको दावी पनि गरे ।
उनले गलत नियत सहित काम गरेको खण्डमा जमिन खरिदमा भन्दा अन्य क्षेत्रबाटै ठुलो लाभ लिन सक्ने अवस्था रहेको पनि बताएका थिए ।‘दाँया बाँया गर्ने हो भने जमिन खरिदमा भन्दा अन्यत्र धेरै ठाउँ थिए, तर मैले असल नियतका साथ काम गरिरहेको छु’, खड्काले दावी गरे । उनले जमिन खरिद प्रक्रिया ९ महिना अघि प्रारम्भ भएको र चार ठाउँको जमिन खरिद भैसकेपछि आरोप लगाउनु गलत भएको तर्क पनि गरेका थिए ।