काठमाडौं । घरवालाले डेरावालासंग तोकिएको भन्दा बढी बिजुली महशुल उठाए कार्वाही हुने भएको छ । विद्युत महशुल निर्धारण आयोगले सुचना प्रकाशित गरी डेरावालसंग प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल असुले ठगी गरेकोमा कार्वाही गर्ने जानकारी दिएको छ । ०७३ असार १६ गते निर्धारण गरेको भन्दा बढी महशुल नलिन आयोगले भनेको छ ।
घरवालाले डेरवालसंग प्रतियुनिट २४ रुपैयाँसम्म महशुल उठाएको उजुरी आएपछि तोकिएको भन्दा बढी नलिन सचेत गराइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । “ग्राहस्थलाई निर्धारण गरेको महशुल दर बढीमा प्रतियुनिट १३ रुपैयाँ हो” उनले भने “यो भन्दा बढी महशुल उठाए ठगिमा कार्वाही हुन्छ ।” उनले प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल नतिर्न डेरावाललाई अनुरोध गरेका छन् ।
कुनै घरवालाले तोकिएको भन्दा बढी रकम तिर्न वाध्य बनाए सिधै ठगी गरेको उजुरी गर्न अनुरोध गरेका छन् । ०७३ मा बिजुलीको महशुल दरमा समायोजन गरी आयोगले प्रस्तावित ग्राहस्थ महशुल दरलाई ७ वर्गमा विभाजन गरेको छ । न्यूनतम शुल्क ३० रुपैयाँदेखि १७५ रुपैयाँसम्म प्रस्ताव गरिएको छ ।
३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र न्यूनतम शुल्क ७५ रुपैयाँ, ५१ देखि ५० युनिटसम्मलाई १० रुपैयाँ महशुल र शुल्क १ सय रुपैयाँ, १५१ देखि २०० युनिटसम्मलाई प्रतियुनिट ११ रुपैयाँ र १२५ रुपैयाँ शुल्क, २०१ देखि ४ सय युनिटसम्मलाई १२ रुपैयाँ र न्यूनतम शुल्क १५० रुपैयाँ र ४ सयदेखि माथिलाई प्रतियुनिट १३ रुपैयाँ र न्यूनतम शुल्क १७५ प्रस्ताव गरेको आयोगले जनाएको छ ।