बोर्ड सदस्यको आचारसंहिता लागू, दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४” लागू गरेको छ । बोर्डले बजारमा सुशासन कायम गर्ने उद्देश्यले बोर्डका कर्मचारीहरुको लागि आचारसंहिता लागू गरेको हाे । उक्त आचारसंहिता लागू भएसँगै बोर्ड सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने भएका [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४” लागू गरेको छ । बोर्डले बजारमा सुशासन कायम गर्ने उद्देश्यले बोर्डका कर्मचारीहरुको लागि आचारसंहिता लागू गरेको हाे ।

उक्त आचारसंहिता लागू भएसँगै बोर्ड सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने भएका छन् ।

त्यस्तै, बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डवाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालिन पदाधिकारीको रुपमा रहन नहुने बोर्डले बताएको छ ।

बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्रको दर्ता तथा निष्काशन गरेका  सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचिकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्तो संस्था सम्बन्धी हुने छलफल तथा निर्णयमा सहभागी हुन नपाउने बोर्डद्धारा लागू भएको आचारसंहितामा उल्लेख छ ।

साथै, बोर्ड सदस्यले ओहदाको कर्तव्य पालना गर्दा आफूलाई ज्ञात हुन आएको कुनै कुरा वा बोर्ड वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहितहुने गरी बोर्ड बाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सङ्केत वा प्रकट गर्न नपाउने भएका छन्।

बोर्ड सदस्यले अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थालाई कुनै प्रकारको सेवा प्रदान गरेको भए बोर्डलाई सो को जानकारी दिनु पर्नेछ । साथै, त्यस्तो संस्थाका सम्बन्धमा बोर्डमा हुने छलफलमा स्वार्थ बाझिने हुँदा त्यस्तो छलफल तथा निर्णयमा भाग लिनु नहुने बोर्डले जनाएको छ ।

त्यस्तै, बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाउने बोर्डद्धारा लागू भएको आचारसंहितामा उल्लेख छ ।

बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृति बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कूनै सदस्यबाट स्वीकार गराउन नपाउने भएका छन् । बोर्डले सूचीकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेको सन्दर्भमा नियमनकारी निकायका बोर्ड सदस्यहरु सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले सुशासन कायम गर्न सकिने मान्यता सहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार, इमान्दारीता तथा गोपनीयता, वित्तीय अनुशासन, पदको दुरुपयोग, कार्य जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नु पर्ने, दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन नहुने, शेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने आदि व्यवस्थाहरु समावेश गरि “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४”बनाई लागू गरेको हो ।

Share News