काठमाडौं । अर्थ मन्त्रालयले मदिरा उत्पादन गर्ने प्रतिष्ठानका लागि नयाँ प्रावधानहरूको व्यवस्था गरेको छ । अब उत्पादन गरेको मदिरा गोदाममै भण्डारण गर्दा पनि कार्टुनमा टिकट टाँस्नु पर्ने व्यवस्था सरकारले लागू गरेको छ । अन्तः शुल्क नियमावलीको १७ औं संशोधन गर्दै २०७४ लागू गरी यस्तो व्यवस्था गरेको हो ।
साथै, बजार पठाउने कार्टुनमा मात्र नभएर प्रत्येक वोतलको बिर्कोमा पर्ने गरी अन्तः शुल्कको टिकट टाँसी कार्टुनमा राखी गोदाममा भण्डारण गर्नुपर्ने व्यवस्था गरिएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए ।
नयाँ व्यवस्था अनुसार अब मदिरा उत्पादन गर्ने प्रतिष्ठानले आफूले उत्पादन गरेको मदिरा वियर, वाइनर साईडर वाहेकका वोतलमा अन्तः शुल्क टिकटको सुरक्षाको लागि २०७४ माघ १ देखि पारदर्शी प्लाष्टिकको खोल (थिंक क्याप) प्रयोग गर्नु पर्नेछ । त्यसरी नै व्यवसायिक प्रतिष्ठानले वियर बजारमा निष्कासनका लागि प्याक गरिएको प्रत्येक कार्टुनमा विभागबाट तोकिएको अन्तःशुल्क टिकट समेत टाँस्नु पर्ने छ ।
नेपाल सरकार अर्थ मन्त्रालयले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ३३ लाई संशोधन गरी खरिद बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्ने व्यवस्था गरेको हो । अब मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको बिल बीजक जारी गर्दा खरिद र विक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्ने भएको छ ।
सरकारी निकाय तथा सार्वजनिक संघ संस्थाले वार्षिक ५ लाख रुपैयाँभन्दा बढीको ठेक्का पट्टा दिँदा वा वार्षिक एक लाख रुपैयाँभन्दा बढीको परापर्श सेवा लिँदा दर्ता भएको व्यक्ति वा संस्थासँग मात्र लिनु पर्ने व्यवस्था गरेको छ ।