काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. विगत बर्षमा झै यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकर तर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो ।

ललितपुरको आन्तरिक राजश्व कार्यालयले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
यस संस्थाले २०७४ असोज मसान्तसम्म २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । सो अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद सेयर र गत आवको बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।