‘मैले छोडेको भए निजी क्षेत्र नै कोल्याप्स हुन्थ्यो’
जेनजी आन्दोलनको रापले खण्डहर बनेको भाटभटेनी क्रमिक रूपमा पुनः सञ्चालनमा आउँदैछ । जसलाई संकटपछिको पुनर्जन्मको प्रतीक बनेका रूपमा लिइन्छ । गत भाद्र २४ गते जुन जेनजी आन्दोलन भयो, यो घटनालाई मैले सन् १९४५ अगस्ट ६ र ९ मा जापानको हिरोसिमा र नागासाकीमा भएको बमबारीसँग तुलना गरेको छु । अर्को घटना जुलाई १९४४ मा जर्मनीको म्युनिखमा एउटा जहाजको इन्जिन बनाउने कारखानामा ठूलो बमबारी भयो, जहाँ सबै संरचना ध्वस्त भए र धेरैले ज्यान गुमाए । त्यो म्युनिखको कारखाना ध्वस्त भएपछि त्यहाँका सञ्चालकले हरेस खाएनन् । उनले कवाडहरू जम्मा गरेर सुरुमा पङ्खा बनाए, त्यसपछि साइकल बनाए र पछि गएर विश्वविख्यात बीएमडब्लु कार बनाए । यो एउटा ठूलो सङ्घर्ष र सफलताको इतिहास हो । जापान पनि त्यो विनाशपछि नै आज विश्वको विकसित मुलुक बनेको हो । भाटभटेनी एउटा यस्तो संस्था हो जसले हजारौं नेपाली दाजुभाइ दिदीबहिनीलाई रोजगारी दिएको छ । हामी धेरै वर्षदेखि नेपालकै ‘नम्बर वान’ करदाता हौं । हामीले ठूला अस्पतालहरू बनाएका छौं, दुर्गमका गरिब बालबालिकालाई डाक्टर बनाएका छौं, सामाजिक रूपान्तरण र आधुनिकरणमा हाम्रो ठूलो भूमिका छ । भूकम्प होस् वा बाढीपहिरो, हामी सधैं अग्रपङ्क्तिमा रहेर सहयोग गर्छौं । गत भाद्र २४ गते जुन आगजनी भयो, त्यो दुखद थियो । तर हामीले हिम्मत हारेका छैनौं । हाम्रा १२ वटा शाखा ध्वस्त भएका थिए, तीमध्ये एउटा पुनः सञ्चालनमा आएको छ । अब सबै शाखाहरू चाँडै सञ्चालनमा आउनेछन् । हाम्रो देशभरि जम्मा २८ वटा शाखा छन् । हाम्रा जति पनि भाटभटेनीहरू ध्वस्त भए ती सबै निर्माणको क्रममा छन् । काठमाडौंभित्र ५ वटा र उपत्यका बाहिर ७ वटा गरी जम्मा १२ स्टोरहरू रहेका थिए । भाटभटेनीको नोक्सान धेरै छ । आगजनीले १० अर्ब ८५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति बेहोरेको छौं । नोक्सानको कुरा सोध्यो भने टाउको दुख्छ । भाटभटेनी मात्र होइन, अब नेपाल उठ्छ । नेपालीहरू अरूको देशमा गएर मात्र काम गर्दैनन्, आफ्नै देशमा पनि केही गर्न सक्छन् भन्ने हामीले देखाउनु छ । नेपालमा जुन घटना भयो, त्यस्तो घटना अब नदोहोरियोस् । नेपालको प्रगति होस्, उन्नति होस् भन्ने मेरो कामना छ । मलाई विश्वास छ, नेपालमा धेरै चाँडो विकास हुन्छ । आन्दोलनको कुरा सकियो, अब त देश विकासमा लाग्नुपर्छ । हामीले मानव रूप पाएका छौं, यसको सही उपयोग गरेर सबैको उन्नतिका लागि लाग्नुपर्छ । भाटभटेनीमा जति पनि पुराना कर्मचारी हुनुहुन्थ्यो, उहाँहरूको सेवा सुविधा र जागिर सुरक्षित छ । भाटभटेनी नेपालमा सबैभन्दा बढी रोजगारी दिने र देशको एक नम्बर करदाता संस्था हो । हामीले शिक्षण अस्पतालमा भवन बनाएका छौं, दुर्गमका छात्रहरूलाई डाक्टर बनाएका छौं, भूकम्प, बाढीपहिरो, मन्दिर निर्माण जस्ता धेरै क्षेत्रमा हाम्रो योगदान छ । मैले केही मूल्याङ्कन गरेको छैन् । हे भगवान् ! अब उप्रान्त मेरो देशमा यस्तो घटना नहोस् । निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो, देश विकासको संवाहक हो । निजी क्षेत्रलाई पछाडि धकेलेर देश अगाडि जाँदैन । त्यसकारण यो एउटा दुर्भाग्य हो र अज्ञानता हो । नेपाल अब उठ्छ र राम्रो हुन्छ । हामी १५ वर्षभित्रमा सम्पन्न देशको नागरिक हुन चाहन्छौं । आज निकै खुसी महसुस भइरहेको छ । त्यत्रो दुर्घटनाबाट हामी उठ्न सक्यौं । हामीले थोरै भए पनि एक कदम अगाडि बढ्ने हिम्मत गर्यौं, त्यसले खुसी नै लागेको छ । यसका लागि हामीले कडा मेहनत गर्नुपर्छ । सबैले इमानदार भएर मेहनत लाग्नुपर्छ । मेहनत नगरे संसारमा केही हुँदैन । सकारात्मक सोच राख्नुपर्छ र एकअर्कालाई सहयोग गर्नुपर्छ । नकारात्मक कुराहरूलाई बिर्सेर अब प्रगतिको बाटोमा अगाडि बढ्नुपर्छ । म खोटाङबाट आएर मेहनतले यहाँसम्म पुगेको हुँ । कसैलाई ठगेर वा बेइमानी गरेर होइन । इमान्दार भएर मेहनत गर्ने व्यक्ति सधैं अगाडि बढ्छ । यो भदौ २४ गते संसारकै दुर्लभ घटनामध्येको एक थियो । तैपनि हामीले हिम्मत हारेनौं । यदि मैले छोडिदिएको भए नेपालको निजी क्षेत्र कोल्याप्स हुन्थ्यो । तर मेरो देश र समाजप्रतिको प्रेमले मलाई अगाडि बढ्न प्रेरित गर्यो । अब सबै सकारात्मक सोचौं, प्रगतिको कुरा गरौं, कसैलाई झुटो आरोप नलगाऔं । मेरो सबैलाई अनुरोध छ । (शनिबार काटेश्वर भाटभटेनी शाखाको पुनः सञ्चालन कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले राखेको मन्तव्य)