डा. देवका कुमारी आचार्य

नर्सिङ : सेवा, सम्मान र सम्भावनाको पेशा

माध्यमिक शिक्षा परीक्षा (एसईई) पास भएका विद्यार्थीलाई अहिले भ्याइ नभ्याई छ । कुन विषय रोज्ने, कस्तो कलेज पढ्ने भन्ने विषयमा अनिश्चतता पनि भएको हुन सक्छ । के तपाइले एसईई दिएर नर्सिङ क्षेत्र रोज्ने रुचि राख्नु भएको छ ? नर्सिङ क्षेत्र किन पढ्ने र नेपालमा यसको अवस्था कस्तो छ भन्ने विषयमा यो लेखमा चर्चा गरिएको छ ।  नर्सिङ एउटा पेशा हो । यसमा पनि स्पेसलाइज्ड शिक्षा नै हुन्छ । यसमा आर्ट र साइन्स दुवै विषय हुन्छन । साइन्समा सिद्धान्त पढ्नुपर्छ भने आर्ट पनि चाहिन्छ । नर्सहरूको प्रत्यक्ष सम्बन्ध समुदायसँग हुन्छ । रोग रोकथामको लागि, रोग लागिसकेपछि निको कसरी पार्ने भन्नेदेखि विभिन्न आयाममा नर्सहरूले काम गर्नुपर्ने हुन्छ । अझ विस्तृत रुपमा भन्दा  बिरामीदेखि स्वस्थ मान्छेसँग नर्सले सहकार्य गर्नुपर्ने हुन्छ ।  नेपालमा नर्सिङ क्षेत्रमा काम गर्ने र पढ्ने भनेको प्रायः केटी अर्थात् महिलाले मात्र हो भन्ने चलन अझै छ । पहिले यस्तै थियो पनि । तर, आजभोलि पुरुषले पनि यो कोर्स पढ्दै आएका छन् । पहिले ४० जना विद्यार्थीमा १० प्रतिशत अर्थात ४ जना पुरुषलाई मात्र भर्ना गर्ने गरिन्थ्यो भने केही समय कानुनले नै पुरुषलाई रोक लगाएको थियो । फेरि २०१८ सालदेखि पुरै सिट मध्ये १५ प्रतिशत पुरुषका लागि भनेर छुट्याइने गरिएको छ । तर, पनि यो पुरुषका लागि छुट्याइएको सिट फुलफिल अझै हुन सकिरहेको छैन । नर्सिङ शिक्षा महिलाको लागि मात्र नभई पुरुषहरूको लागि पनि हो । एसईई पास भएका विद्यार्थी जोसुकैले पनि नर्सिङ शिक्षा पढ्न पाइन्छ । नर्सिङ किन पढ्ने ? नर्सिङ स्थापित प्रोफेसन शिक्षा हो । स्वदेश लगायत विदेशमा पनि ठूलो स्कोप छ । नेपालमा पढेको नर्सिङ शिक्षाको स्कोप अझ राम्रो छ । विदेश जाँदा पनि नेपालमा पढेका नर्सिङलाई बढी प्राथमिकता दिइन्छ भने स्वदेशमै पनि नेपाली जनताको सेवा गर्छु भन्ने भावना जसको छ उसका लागि  नेपालमै पनि राम्रो छ । प्रत्यक्ष  कसैको जीवनसँग जोडिएर सेवा दिने भनेको नर्सिङ नै हो । नर्स बिरामीसँग २४ घण्टा रहेर काम गर्छ । त्यसैले यो पढ्ने इच्छा भएका बालबालिकाका लागि अत्यन्तै राम्रो हो । नेपालमा अलिकति समस्या भनेको रोजगार सुरक्षाको हो । यो यस्तो प्राविधिक शिक्षा हो राम्रो मिहिनेत गरेर राम्रो नम्बर ल्यायो भने काम पाउने सम्भावना उत्तिकै हुन्छ । अहिले विभिन्न किसिमका रोगहरू बढिरहेका छन्, अस्पतालको संख्या बढिरहेको छ । अस्पतालमा सिट संख्या बढिरहेको छ । यही अनुसारको नर्सिङ दरबन्दी थप्नुपर्ने विषयहरू उठिरहेका छन् भने सरकारले पनि ११÷१२ सय नर्सका लागि दरबन्दी दिने तयारी गरिरहेको छ ।  यसकारण पनि नर्सिङ पढ्ने रुचि राखेकाहरूलाई राम्रो अवसर छ । नर्सिङले सेवा दिने भनेको केवल अस्पतालमा मात्र होइन । विद्यालयमा पनि नर्सहरूले काम गरिरहेका छन् । एक विद्यालय एक नर्स अभियान सुरु छ । नेपाल नर्सिङ संघले औद्योगिक नर्सको अवधारणा पनि ल्याएको छ । जहाँ ५० भन्दा बढी कामदार छन् त्यहाँ नर्स राख्ने, भन्ने कुरा छ एनजी, आइएनजीमा पनि नर्सहरू काम गरिरहेका छन् । विदेशमा गएका नर्सहरूले राम्रो पैसा कमाउन सक्छन् ।  मिहिनेत आवश्यक हरेक शिक्षा सिक्न मिहिनेत निकै आवश्यक हुन्छ । मिहिनेत गर्ने व्यक्तिले कहिल्यै पछाडी फर्कन पर्दैन । नर्सिङ शिक्षाका लागि पनि निकै मिहिनेत आवश्यक हुन्छ । पढ्दा पनि कक्षामा धेरै अनुपस्थित हुन पाइँदैन कम्तीमा ७५ देखि ८० प्रतिशत कक्षामा उपस्थित् हुनैपर्ने व्यवस्था करिकुलममा छ भने प्रयाक्टिकलमा ९० प्रतिशत उपस्थित् हुनैपर्छ । अझ प्रयाक्टिकलमा सय प्रतिशत नै उपस्थित् हुनुपर्छ ।  उदाहरणका लागि पीसिएल नर्सिङमा बर्षमा २० हप्ता कुनै विद्यार्थीले ड्युटी गर्नुपर्ने छ भने यसमा कुनै कम्परमाइज गर्न मिल्दैन । यसो हुँदामात्र विद्यार्थीले सिक्नुपर्ने सबै सीप सिक्न सकिन्छ । यो शिक्षा मानिसको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले पनि अझ महत्वपूर्ण ढंगले लिइन्छ । मिहिनेत चाहिन्छ । कस्तो विद्यार्थीले नर्सिङ पढ्न पाइन्छ ? पीसिएल नर्सिङ सिटीइभिटी अन्तर्गतका कलेजहरूमा पढाइ हुन्छ  । यो वर्षदेखि एसईईमा २ जीपीए ल्याएर ग्रेड भएका जो सुकै विद्यार्थीले पढ्न पाउने नयाँ प्राबधान लागू भएको छ । यो भन्दा अगाडिका वर्षसम्म एसईईमा ल्याएको ग्रेडप्वाइन्टलाई ३० प्रतिशत मार्केट  लोकेट गर्ने र ७० प्रतिशत इन्ट्रान्स परीक्षाबाट गरी जसले उच्च नम्बर ल्यायो उसैलाई भर्ना गर्ने नियम थियो । तर यो वर्षदेखि इन्ट्रान्स परीक्षा लिनेप्रचलन अन्त्य भएको छ ।  अब एसईईमा २ जीपीय प्राप्त गरेका विद्यार्थीले अनलाइन मार्फत फम भर्ना पाउने छन् । यसमा विद्यार्थीले पाएको जीपीमा सिटीइभिटीले सरकारी विद्यालयबाट पढेकालाई प्लस १ अंक र निजी स्कुलबाट अध्ययन गरी पास भएकाहरूलाई ०.८५ अंक दिदा जसले बढी अंक ल्याउँछ त्यो अंकका आधारमा पिसिएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेका छ । सिटिइभीटी अन्तर्गका कलेजहरूले पसिएल नर्सिङ पढाइरहेका छन् । नर्सिङ पढ्न लाग्ने खर्च  पिसिएल नर्सिङ कोर्ष तीन वर्षको हुन्छ । यसका लागि शुल्क पनि सिटिइभिटीले तोकिदिएको हुन्छ । शुल्क ४ लाख ७५ हजार तिर्नुपर्छ । अन्य शुल्क कलेज अनुसार केही तलमाथी हुन सक्छ । यसमा किताब, पढ्ने सामाग्रीहरू पनि अलि महंगो हुन्छन् । अन्य खर्च व्यक्ति अनुसार भर पर्छ । पढाइका सामग्री, कलेज आउन जान, खाजालगायतका अन्य खर्च व्यक्ति र ठाउँ अनुसार फरक पर्छ । यो शिक्षा प्राविधिक भएकाले केही महँगो हुन्छ ।  पढाइ हुने विषयहरू नर्सिङ क्षेत्र वृहत छ । यसका लागि विद्यार्थीहरू धेरै विषयहरूको अध्ययन गर्नुपर्छ । जसमा विशेष साइन्स जस्तै एनोटमी, फिजियोलोजी, फार्माक्लोजी कम्युनिटी हेल्थ नर्सिङ, चाइल्डहेल्थ नर्सिङ, लगायतका विषयहरू पढ्नुपर्ने हुन्छ । भने वयस्कमा ग्रोथ कसरी हुन्छ, गर्भवस्था टिनेजर हेल्थ लगायत सबै कुरा हर्नेुपर्छ । नर्सहरूले बढी समुदायमा नजिक भएर काम गर्नुपर्ने भएकाले धेरै विषयमा अध्ययन गर्नुपर्ने हुन्छ ।  पिसिएल नर्सिङपछिको अध्ययन के हुन्छ ? तीन वर्षे पीसएिल नर्सिङ कोर्ष पढिसकेपछि फेरि व्याचलरमा तीन वर्षको कोर्ष गर्नुपर्ने हुन्छ । ब्याचलर्समा नर्सिङ शिक्षा दुई प्रकारको हुन्छ । जसले एसईईपछि तीन वर्षको पिसिएल कोर्स गरिसकेका छ उनीहरूले बीएनएस अर्थात (ब्याचलर इन नर्सिङ साइन्स) कोर्स गर्नुपर्छ । यो कार्ष पनि तीन वर्षको हुन्छ ।  यसका लागि साढे ५ लाख शुल्क लाग्छ । बाँकी खर्च कलेज र व्यक्ति अनुसार तलमाथी हुन्छ । अर्को भनेको बिएस्सी नर्सिङ र बिएस्सी मिड वाइफ्ररी छ । यसका लागि  जो विद्यार्थी एसईई दिएर दई वर्ष साइन्समा बायोलोजी लिएर अध्ययन गरेको  छ उसको हकमा चार वर्षको बिएस्सी नर्सिङ गर्नुपर्ने हुन्छ भने बिएस्सी मिडवाइफ्री पनि गर्न सकिन्छ । यसका लागि शुल्कमात्र १० लाख बढी लाग्छ । कलेज कसरी रोज्ने ? विद्यार्थीले आफू जुनसुकै विषय लिएर पढ्दा कलेज राम्रो छनोट गर्न सक्नुपर्दछ । कलेज कसरी छनोट गर्ने भन्दा सबैभन्दा पहिले कलेजको पास आउटदर हेर्न सकिन्छ । अर्को कुन कलेजका विद्यार्थीले बढी रोजगारी पाएका छन्, लाइसेन्स पासको संख्या कस्तो छ हेर्नुपर्छ । यस्तै कलेज रोज्दा ठाउँ पनि हेर्नुपर्छ । आफू बसिरहेको ठाउँ नजिकैको कलेज राम्रो छ भने सकेसम्म आफ्नो नजिकको आफूलाई पायक पर्ने पनि हेर्नुपर्छ । घर नजिकै कलेज हुँदा धेरै आर्थिक भार पर्दैन । विद्यार्थीले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।  रोजगारीको अवस्था  विद्यार्थीले कुनै पनि विषय पढिसकेपछि कामको अवसर स्वदेशमा पनि खोज्छ, विदेशमा पनि खोज्छ । नर्सिङ भनेको यस्तो प्राविधिक जनशक्ति हो जसको माग आजभोलि स्वदेशभन्दा बाहिर अन्य देशमा बढी छ । नेपालमा नर्सिङ पढेकाहरू क्यानडा, बेलायत अष्ट्रेलिया लगायतका देशमा पुगेका छन् ।  बाहिर कमाइ पनि राम्रै गरिरहेका छन् । नेपाली नर्सहरूलाई नेपालमा रोक्ने वातावरण राज्यले बनाउन सकेको छैन । यसो भन्दा हामीले आत्तिनुपर्ने अवस्था छैन । क्षमवान विद्यार्थीलाई स्वदेशमा पनि थुप्रै अवसरहरू छन् । अहिले नेपालमा अस्पतालको संख्या बढ्दो छ । विभिन्न संघ संस्था, उद्योगमा पनि नर्सिङको लागि अवसर छ ।  नर्सहरूको श्रम शोषण वास्तवमा हेर्ने हो भने नेपालमा नर्सिङको श्रम शोषण भएको छ । सरकारले दरबन्दी सिर्जना गरेका क्षेत्रमा सेवा सुविधा राम्रो भएपनि निजी अस्पतालमा काम गर्ने नर्सहरूको भने श्रम शोषण भएको पाइन्छ । लाखाैं रुपैयाँ खर्च गरेर १०,११ हजारमा काम गर्नुपर्ने बाध्यता नर्सहरूलाई छ । यसका सरकारले नीति बनाउनै पर्छ । सरकारले सबै प्रतिष्ठान, अस्पताललाई सरकारी सरह तलब दिनु भनेर परिपत्र गरेका छ तर यस्तो अवस्था छैन । पढाइ अनुसारको कमाइ भएको छैन । नेपालमा नर्सिङहरूको दैनिक आधारभूत आवश्यकता नै पूर्ति भएको छैन । कामको लोड उस्तै छ । समस्या धेरै छन् । पहिलो कुरा नर्स र बिरामीको रेसियो मिलाउनुपर्यो । काम गर्ने वातावरण राम्रो हुनुपर्यो । स्रोत साधन हुनुपर्यो । पढाइको तह अनुसार काम गर्ने ठाउँ हुनुपर्यो । नर्सहरू मास्टरसम्म पढेर आएका हुन्छन् तर एउटा स्टाफ नर्सको दरबन्दीमा काम गर्नुपर्ने बाध्यता छ ।  मेडिकल सर्जिकल पढेका नर्सले बच्चाको हेरचाहमा काम गर्नुपरिरहेको छ, आमा शिशु सम्बन्धी पढेका नर्सले कम्युनिटीमा काम गर्नुपरिरहेको हुन्छ विज्ञता अनुसार क्षेत्रमा काम गर्ने वातावरण नहुनु नर्सका लागि सबैभन्दा ठूलो चुनौती छ ।  सरकारले यो विषयमा शिघ्र काम गर्न आवश्यक छ । अन्त्यमा, नेपालमा नर्सिङ क्षेत्रमा स्कोप छैन भन्ने कुराहरू धेरै आउँछ । तर हामी नकरात्मक सोचको पछाडिमात्र नलागौँ । सकारात्मक सोचको पनि विकास गरौं । नर्सिङ शिक्षा राम्रो शिक्षा हो । स्वदेश वा विदेश जहाँ पनि राम्रो अवसर छ ।  (डा. आचार्य, महाराजगञ्ज नर्सिङ क्याम्पसकी सह-प्राध्यापक तथा नर्सिङ एसोसिएसन अफ नेपालको महासचिव हुन् । )