मोटोपनले महिलाको मुटु र कलेजो जोखिममा
अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमो सुनेका छन् । ‘मुटुको स्वास्थ राम्रो राख्न के खानुपर्छ, कस्तो व्यायाम गर्नुपर्छ’ भनेर छलफल पनि भइरहन्छ तर कलेजो अस्वस्थ भयो भने कसरी समस्या पर्न सक्छन्, कलेजो स्वस्थ पार्न कस्ता खानेकुरा खाने भन्नेबारे पनि त्यति छलफल हुँदैन । कलेजो शरीरको यस्तो कारखाना हो, जसले शरीरको विषालु तत्वलाई बाहिर लैजाने काम गर्छ । शरीरभित्रको सबभन्दा ठूलो अङ्ग हो कलेजो, तर धेरै बेवास्ता गरिएको छ । यदि कलेजो अस्वस्थ भयो भने शरीरभित्रका विषालु तत्व बाहिर निस्कन पाउँदैन । अनि शरीरभित्र अनेक समस्या सुरु हुन्छ । नेपाली महिलाहरुको अहिले सरदर आयु ७२ वर्ष रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । नेपाली महिलाको सरदर आयु यति वर्ष हुनु जनस्वास्थको दृष्टिकोणले सफलता मान्न सकिन्छ । तर अर्कोतिर उनीहरु अस्वस्थ पनि बन्दैछन् । पछिल्लो सरकारी तथ्याङ्कले के देखाउँछ भने ३५ प्रतिशत नेपाली महिला मोटोपनको शिकार भएका छन् । त्यस्ता महिलाहरु प्रायः नेपालका ठूलो सहरहरुमा रहेका छन् । खासगरी धनी परिवारका ५३ प्रतिशत र गरिब परिवारका २० प्रतिशत महिलामा यो समस्या देखिएको छ । गाउँघरका गरिब महिलाहरुको कार्यबोभ, धेरै रहे पनि अहिले पत्रु खाना धेरै खाने भएकाले उनीहरुमा पनि मोटोपनको समस्या देखिन थालेको छ । ठूला सहरका महिलाहरु व्यापार, सरकारी र गैरसरकारी संस्था, सेवाप्रदायक ९अस्पताल, होटेल, शिक्षक, घरको काम० आदि काम गर्छन् । एक प्रकारले नेपाली महिलाले देशको आर्थिक विकासमा ठूलो टेवा पु¥याएका छन् । त्यसले हाम्रो समाजमा धेरै परिवर्तन भइसकेको छ भन्ने पनि देखाउँछ तर यसरी महिलाहरु देश र समाजमा विकासको काममा व्यस्त हुँदा उनीहरुको स्वास्थमा मोटोपनले गर्दा भविष्यमा ठूलै स्वास्थ्य समस्या आउने सम्भावना देखाएको छ । पैतीस प्रतिशत नेपाली महिला मोटोपनको शिकार हुनु र अस्पतालमा जाँच गर्न आएका ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेको देखिनुले नेपाली महिलाको खराब स्वास्थ भन्ने कुरा इङ्कित गर्छ । कोही अतिप्रिय व्यक्तिलाई ‘मेरो आँखाको नानी, मुटुको टुक्रा, कलेजोको टुक्रा’ भन्ने चलन नै छ । कति महत्व रहेछ त मुटु र कलेजोको । तर त्यही कलेजो र मुटु मोटोपनले बिग्रने के समस्याप्रति कमैको ध्यान गएको देखिन्छ । आर्थिक रुपमा सबल महिलाहरु मात्र होइन, कतिपय ठाउँमा आर्थिक रुपमा असक्षम महिलाको पनि कलेजोमा समस्या पर्न सक्छ । 'कलेजोमा बोसो जम्नुको प्रमुख कारणमध्ये मोटोपन, भोजन, शारीरिक रुपमा धेरै सक्रिय नहुने, विभिन्न किसिमका औषधि पनि हुन सक्छ', भारतका प्रसिद्ध कलेजोविज्ञ डा. एस के सरिन भन्नुहुन्छ, 'जसरी मुटु खराब हुँदा अनेक समस्या पर्छ त्यसैगरी कलेजोको स्वास्थले सम्पूर्ण स्वास्थको झलक देखाएको हुन्छ ।' उहाँले कलेजो स्वस्थ राख्न के गर्न सकिन्छ भनेर लेख्नुभएको आफ्नो किताबमा पहिलेपहिले ग्रिक समुदायमा मुटु, फोक्सो होइन, कलेजो शरीरको एक अति महत्वपूर्ण अङ्ग भनेर त्यसलाई पूजासमेत गर्ने चलनबारे उल्लेख छ । सो किताबमा पनि कसरी ‘मोटोपन’ ले गर्दा मुटुमा मात्र समस्या पर्ने होइन, कलेजोमा पनि समस्या पर्छ भनिएको छ । जब शरीरको विषालु तत्व निस्कासन गर्ने कारखानामा नै समस्या पर्छ, यसले मधुमेहको समस्या पर्नसक्छ भन्ने कुरा स्पष्ट हुन्छ । डा. सरिनको अनुभवले भन्छ–'महिलाहरु र पुरुषको कमर यदि क्रमशः ३५ सेमी, ३८ सेमीभन्दा बढी छ भने त्यस्ता व्यक्तिहरुको कलेजोमा समस्या हुनसक्ने सम्भावना एकदम बढी हुन्छ ।' कलेजोमा बोसो जम्ने प्रमुख कारण ‘रक्सी’ हो । तर रक्सी नखाने व्यक्तिहरुमा पनि कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यसको प्रमुख कारण नै पत्रु खाना, धेरै गुलियो, चिल्लो, तारेको खाना हो । कलेजो र मधुमेहको बीचको सम्बन्धलाई लिएर धेरै अनुसन्धान भएको छ । डा. रबर्ट लस्टिग नामक अमेरिकन बालरोग विज्ञले पनि आफ्नो किताब मेटाबोलिकलमा लेख्नुभएको छ–'शरीरमा चिनीको मात्र धेरै हुँदा मुसा र मानिसमा डिप्रेशन' (मानसिक अस्वस्थता) भएको देखाएको छ । चीन र युरोपमा गरिएको अनुसन्धानले सावित गरेको छ कि अति प्रशोधित भोजन (पत्रु भोजन) प्रयोग गर्दा डिप्रेशन देखिन्छ । कति जना व्यक्तिहरु व्यायाम पर्याप्त गरेपछि जे जति खाए पनि हुन्छ भन्ने गर्दछन् । यस कुरालाई केही वर्षअघिको एक अनुसन्धानले गलत प्रमाणित पारिदिएको छ । फिनल्याण्डका सामी इनकिनेन भन्ने एक व्यक्ति जो विश्व प्रसिद्ध ‘टाकिया’ कम्पनिको मालिकमध्येका एक थिए । उनले अमेरिका आएर आफ्नो व्यापार सुरु गरेका थिए । अर्बाै पति उनी एक दिनमा पाँच घण्टा व्यायाम गर्थे तर ३८ वर्ष नहुँदै उनलाई स्वास्थ समस्या देखापर्यो । रगत जाँच गर्दा उनलाई रगतमा चिनीको मात्रा धेरै देखियो । मधुमेह नै चाँहि भइसकेको थिएन । त्यही व्यायाम गर्ने व्यक्तिलाई पनि शरीरमा चिनीको मात्रा कसरी अत्यधिक भयो भनेर विचार गर्दा थाहा भयो । अनुसन्धानबाट उनलाई खेलाडीहरु पिउने इनर्जी ड्रिङ्कको सेवनको कारणले यस्तो भएको थाहा भयो । यसको अर्थ केबल व्यायाम गरेर, खेल खेलेर मात्र हुँदैन, स्वस्थकर भोजनको पनि त्यति नै महत्व रहन्छ । नेपालको पछिल्लो तथ्याङ्कले करिब छ प्रतिशत किशोरीहरु अति ‘मोटोपनको शिकार’ भएका छन् भन्ने देखाएको छ । यी किशोरीहरु दाम्पत्य जीवनमा प्रवेश गर्दा, गर्भवती हुने समस्या पर्नसक्ने सम्भावना हुन सकिन्छ । काठमाडौं बत्तीसपुतलीकी एक ३० वर्षीया युवती ८० केजीकी थिइन् । उनको उचाइअनुसार उनी ५३ किलो मात्र हुनुपथ्र्यो । तेइस वर्षको उमेरमा विवाह भएको उनको सात वर्षसम्म पनि गर्भ रहेन । जाँच गर्दा उनको कलेजोमा पनि बोसो जमेको देखियो । चिकित्सकले उनलाई झण्डै २०–३० किलो घटाए मात्रै गर्भ रहने सम्भावना छ भन्ने सलल्लाह दिए । चिकित्सकको सल्लाहअनुसार एक वर्षमा चिनी, पत्रुखाना, धेरै बोसो भएको, कोल्ड ड्रिंक त्यागिन साथै योग गरेर २० किलो घटाउन सफल भइन् । तौल घटेपछि उनलाई भर्याङ चड्न पनि सजिलो भयो । तौल घटेसँगै उनको महिनावारी पनि समयमा हुन थाल्यो । पहिले कहिले दुई महिना, कहिले तीन महिनामा महिनावारी हुन्थ्यो । पहिले उनको पाठेघरको जाँच गर्दा पाठेघरमा पानीको फोकाजस्तो (जसलाई ‘ओमारियन सिस्ट’ भनिन्छ) देखापर्यो । जब उनको तौल घट्यो, उनको ‘सिस्ट’ पनि कम हुँदै गयो र उनको प्राकृतिक तरिकाले गर्भ रहन गयो, कलेजोमा जमेको बोसो पनि कम भयो र उनी र उनका श्रीमान् एकदम खुसी भएका थिए । चिकित्सकको सल्लाहले तौल घटाएपछि आफ्नो सम्पूर्ण स्वास्थमा नै सकारात्मक असर परेको भन्दै उनी निकै खुसी भएकी थिइन् । पहिले त उनलाई रक्सी खाने मानिसको मात्र कलेजो खराब हुन्छ भन्ने लाग्यो, पछि मोटोपनले गर्दा पनि कलेजो खराब भएपछि मधुमेहको समस्या पनि हुने रहेछ भन्ने थाहा भयो । मोटोपनले गर्दा प्रजनन स्वास्थमा समस्या पनि मेरो परेको रहेछ । उनीजस्ता कतिपय युवतीले किशोरावस्थामा नै मोटो हुँदा धेरै वास्ता गर्दैनन् तर पछि अनेक समस्या उनीहरुलाई आइपर्छ, अनि स्वास्थ्य परीक्षण गर्दा कसरी यस्तो भयो भन्ने थाहा लाग्छ । गर्भ नरहने समस्या भएपछि चिकित्सकसँग परीक्षण गराउन जान्छन् । आधुनिक प्रविधि प्रयोग गरेर गर्भवती हुनु पर्यो भने सबैलाई सहजै पूर्वक गर्भ नहुनसक्छ । पहिले अनेक किसिमका पत्रु खाना खाने, कोल्ड ड्रिंक खाने बालबालिका, किशोरकिशोरीलाई पनि कलेजो र मुटुमा समस्या पर्न जान्छ । अनि शारीरिक समस्या त पर्छ नै, अनेक मानसिक अस्वस्थ, तनाव पनि हुन सक्छ । त्यसैले मुटु, मिर्गौला र कलेजो स्वस्थ राख्न समयमै सबै सचेत हुन आवश्यक छ । (लेखक जनस्वास्थ्यविद् हुन्)
महिनावारीसँग जोडिएको स्वास्थ्य
किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ । महिनावारी सुक्नु रोग होइन तर जसरी महिनावारी हुुँदा कसैकसैलाई साधारण समस्या हुुन सक्छ, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्नसके महिलालाई सजिलो हुुने थियो । 'मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हर्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडेँ र मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिका समस्या भएको छैन,' ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन् । 'मेरो महिनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई/तीन महिनामा हुन्थ्यो । त्यतिबेला केही बढी रगत जान्थ्यो । फापर, ढिँडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन,' गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् । नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ ।अन्तरराष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि, धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महिनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् । परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । अनि महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी ‘फुसफुसे’ भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन । रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पुर्याए राम्रो हुन्छ । मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्षअघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरुलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन । प्रायः कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् । रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् भने कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू अफिसमा काम पनि गरिरहेका हुन्छन् । रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहीँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् तातो हुने धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतत्व पाइने र भटमासको विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ । केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसाथ गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ । व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । '५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योग गर्न थालेको छु । मलाई रमाइलो लाग्छ', ६० वर्षीय निलिमाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो । व्यायामलाई बोझको रुपमा नलिएर आफूलाई फाइदा पुर्याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन । रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाई, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । कतिपय महिलाहरुले तनाव परेका बेला प्राथना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइबाट मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास पनि बढाउँछ । रासस
मुटु र दाँतको दुस्मन चिनी
चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ । करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पर्थ्यो र धनी मानिसहरूले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनीलाई उपहारस्वरुप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले । सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामार्फत सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्याउँछ । सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरुले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले । चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ । यो कुरा प्रकाशमा आएपछि विशेषगरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरूक गर्न प्रयत्न गरे । चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारकोे मन्द विष नै हो । कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरुमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ । परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, विस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइछ । चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ । त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फन्टा, पेप्सी, डिउ, मेरिन्डा, एपी, सर्बत, लस्सी आदि चिसा पेयपदार्थहरुमा अधिकमात्रामा चिनी मिश्रण हुन्छ । चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको गुलियो पदार्थले उनीहरुको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरु, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ । एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ । अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेर यसको उपभोग गरिरहेका हुन्छौँ । मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरुमा लेउजस्तै टाँसिन पुग्दछ । यसकारण धमनीहरु साँघुुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुनेबित्तिकै मुटुका मांसपेशीहरुमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरु मर्दछन् र हृदयाघात निम्तिन्छ । त्यसैगरी शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ । चिनी, सख्खर हालेका वस्तुबाहेक सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो वस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ । ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
दसैँमा यसरी गरौं खानपान व्यवस्थापन
दैनिक जीवनमा स्वस्थकर खानेकुराको निकै महत्त्व छ । अन्न भनेको जीवन हो । जसरी श्वास फेर्न वायु चाहिन्छ, त्यसैगरी शरीर धान्न, शारीरिक र मानसिक रूपमा स्वस्थ रहन स्वस्थ खानेकुराको जरुरत पर्छ । जस्तो किसिमको अन्न खाइन्छ हाम्रो मन पनि त्यस्तै हुन्छ । मानसिक रूपमा स्वस्थ, अस्वस्थ रहने कुरा पनि हाम्रो खानेकुराले निर्धारण गर्छ । बच्चा आमाको पेटमा हुँदादेखि नै खानाको महत्त्व छ । आमाले जे खान्छिन्, बच्चाले त्यही खान्छ । उनले स्वस्थकर खाइन् भने भ्रुणले पनि त्यही पाउँछ र पछि स्वस्थ बच्चा जन्मिन्छ । मान्छेलाई मात्र होइन, जीवजन्तु तथा बिरुवालाई समेत खाना चाहिन्छ । खानाबिना हामी बाँच्न सक्दैनौँ । केही योगीहरू हुन्छन् जो केही वर्षसम्म नखाएर बसेका हुन्छन्, यो अपवाद हो । स्वस्थकर खानेकुरा हामीले दैनिक जीवनमा खाँदै आएको दालभात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी स्वस्थकर खानेकुरा हो । आफूले घरमा पकाएर खाइने खानेकुराहरू प्रायजसो सबै स्वस्थ नै हुन्छ । विभिन्न किसिमका सलाद, फलफूल पनि स्वस्थकर नै हुन्छन् । आलुको तरकारी हामी सबै जनाले खान्छौं । तर त्यही आलु जब फ्रेन्च फ्राइको रूपमा खाइन्छ, बारम्बार एउटै तेलमा पकाइन्छ भने त्यो अस्वस्थकर हुन्छ । यस्तै रोटी, दाल, चामल अथवा सेल तथा पुरी स्वस्थकर खाने कुरा हो । तर, त्यही सेल तथा पुरीलाई एउटै तेलमा बारम्बार पकाएर खायो भने त्यो पनि अस्वस्थकर हुन्छ । स्वस्थकर आटाबाट रोटी बन्छ । त्यही आटालाई फेरि मैदा बनाएर अन्य किसिमको पत्रु खाना बनायो भने त्यो अस्वस्थकर हुन जान्छ । स्वस्थकर खाने कुरालाई पनि कस्तो प्रकारले बनाइन्छ र त्यो कसरी अस्वस्थकर हुन जान्छ भन्ने कुरा थाहा पाउनुपर्छ । दसैँको बेला मासु कम खाने पहिले मासु खानलाई दसैँ नै पर्खिनु पर्थ्यो । हामी सानो हुँदा आज भन्दा ५०/५५ वर्ष अगाडि दसैँ आएपछि मासु खान पाइन्छ भनेर हामी निकै खुसी हुन्थ्यौँ । अरूको घरमा गएपछि मासु खान दिन्छन्, मासुभात, मासु चिउरा दिन्छन् भनेर खुसी भइन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन, हुनेहरू दिनहुँ मासु खान्छन् । तैपनि दसैँ भनेपछि फेरि यस्तो संस्कृतिसँग जोडिएको छ कि दसैँ र मासु भने त्यसलाई छुट्याउनै सकिँदैन । कसैले घरमा खसी काट्छन्, कति जनाले बाहिरबाट किनेर ल्याउँछन् अघिपछिको समयभन्दा दसैँमा अझ बढी मासु खाने चलन छ । दसैँको बेलामा मासुका विभिन्न परिकारहरू बनाइन्छन् । यस्तो बेला मेरो पेटलाई कति चाहिन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । आफ्नो पेटले जति सक्ने हो त्योभन्दा बढी मासु खाने अथवा बिहानदेखि बेलुकासम्म अथवा विभिन्न ठाउँहरूमा जाँदा सबैको घर-घरमा मासु-भात, मासु-चिउरा, विभिन्न किसिमका मासुका परिकारहरु खाने गर्दा समस्या पर्न सक्ने हुनाले जिब्रोलाई अलिकति लगाम दिनुपर्छ । मासुमा रेसादार तत्व नभएको हुनाले मासु धेरै खाँदा कब्जियत हुनसक्ने सम्भावना हुन्छ । दुई/तीन टुक्रा मासु खाँदा हरियो तरकारी, काँक्रो, विभिन्न किसिमका सलादहरू पनि प्रयोग गर्नै पर्छ । अहिले विभिन्न किसिमका स्वास्थ्य समस्या भएका व्यक्तिहरू धेरै छन् । उनीहरूले खानेकुरा खाँदा ख्याल गर्नुपर्छ । कस्तो किसिमको खाने कुरा कति खाने भन्ने कुरा आफ्ना चिकित्सक सल्लाह अनिवार्य लिनुपर्छ । कसले कति खाने ? खानेकुरा कुन व्यक्तिले कति खाने भन्ने कुरा त्यत्तिकै भन्न सकिँदैन । कसको शरीरले कति खानेकुरा पचाउँछ भन्ने कुरा मान्छेको शरीर अनुसार फरक पर्छ । दिनभर काम गरेर खाने, बसेर खाने वा शारीरिक काम गर्नुपर्ने वा मानसिक काम गर्नुपर्ने व्यक्तिमा पनि फरक पर्छ । आयुर्वेद विज्ञान र अहिलेको आधुनिक विज्ञानले के स्पष्ट रूपमा सिद्ध गरेका छन् भने हामीलाई जति भोक लाग्छ, त्यसको ८० प्रतिशत मात्रै खानुपर्छ । आयुर्वेदले हजारौं वर्ष पहिले नै भनेको कुरा जसलाई अहिले आधुनिक विज्ञानले प्रमाणित गरेको छ । अहिले नेपालमा नसर्ने रोगहरू जसरी बढिरहेको छ, त्यसको प्रमुख कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानेकुरा हो । म जहिले पनि जहाँ पनि भन्ने गर्छु हाम्रो पाँच, साढे पाँचदेखि छ फिटको शरीरलाई सानो दुई/तीन इन्चको जिब्रोले धोका दिइरहेको छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहने हो भने जिब्रोलाई नाइँ भन्न सक्नुपर्छ । त्यसको अर्थ फेरि मीठोमसिनो नखाने भनेको होइन, तर आफूलाई अलिकति संयम गर्न सिकियो भने दसैँतिहार मनाएपछि काममा जाँदा पनि एकदम आनन्दको अनुभूति हुन्छ । दसैँतिहारमा मज्जासँग खाँदा पेट गडबड हुँदा विभिन्न किसिमका समस्या देखा पर्यो भने काममा जान पनि सकिँदैन । त्यसैले भविष्यको विचार खानेकुरा खानुपर्छ । कवाडी खाना अहिले बजारमा आएका जंकफुडहरूलाई म पत्रु खानेकुरा भन्छु । जसमा नुन, चिनी बढी हुन्छ, त्यसले हाम्रो शरीरलाई बेफाइदा गर्छ । पत्रु भनेको कवाडी खाना हो । जसले शरीरमा कुनै पनि पौष्टिक तत्वहरू दिँदैन । विभिन्न किसिमका सूक्ष्म पोषक तत्वहरू दिँदैन । त्यसलाई म पत्रु खानेकुरा अथवा कवाडी खानेकुरा भन्छु । जिब्रोले चाहिँ मीठोमीठो मान्ने तर शरीरलाई एकदमै बेफाइदा गर्छ । बालबालिकाहरूलाई पनि आमाबुबाहरूले ‘ल खाऊ’ भनेर दिइरहेका हुन्छन् । तर, आमाबुबाहरूले के विचार गर्दैनन् भने एकछिनको जिब्रोको स्वादले पछि कति असर पार्छ भनेर । त्यसमा कसरी नकारात्मक असर पार्न सक्छ । यो विषयमा थुप्रै अध्ययनहरु पनि भएका छन् । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ । मैले ३/४ वर्ष अगाडि एउटा तालिम लिएको थिएँ । तालिममा जाँदा मानसिक रोग विज्ञहरूले अस्वस्थकर खानेकुराहरूले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ भनेर भन्नु भएको थियो । ‘न्युट्रिसन एण्ड साइक्याट्रिक डिसअर्डर’ अथवा मानसिक स्वास्थ्य समस्याहरू पर्दा खेरि कसरी भोजनले यसमा प्रभाव पर्न सक्छ भन्ने बारेमा लेखेको एउटा किताब छ । त्यसले पनि हामीले खाने खानेकुराले शरीरलाई मात्र नभइ मानसिक रूपमा पनि असर पर्छ भनेको छ । पेट सफा भए सबै रोग टाढा ‘पेट सफा तोे हर रोग दफा’ पहिलेका बुढा पाखाले भनेको सुनिन्थ्यो । अहिलेको विज्ञानले यो सिद्ध पारेको छ । पेटको स्वास्थ्य स्वस्थ राख्नु भनेको हामीले स्वस्थ्यकर खानेकुराहरू खानु हो । रेसादार तत्व भएका खानेकुरा सूक्ष्म पोषक तत्व भएका खानेकुरा खानु हो । रेसाधार खानेकुराले जुन अघि मैले भने नि किटाणुहरू, मासु खाँदा रेसादार तत्व भएन भने पेटमा समस्या पर्छ । त्यसकारण दसैँतिहारमा माछा मासु खाँदा रेसादार तत्व भएका खानेकुराहरू जस्तै-सब्जी, तरकारी, टुसा उमारेका खानेकुराहरू प्रयोग गर्नुपर्छ । पहिले र अहिलेको खानपानमा आकाश जमिनको फरक छ । हामी सानो हुँदा अहिलेको जस्तो बिस्कुट, चाउचाउ लगायतको जंकफुड थिएन । खानेकुरा दाल, भात, तरकारी थियो । दिउँसोको खाजामा पनि भुटेको भात, चना, आलु, रोटी, दही चिउरा खाइन्थ्यो । दसैँमा पनि अम्बा र नास्पाती फल्ने समय भएकाले धेरै फलफुलहरू ल्याइन्थ्यो । घरमै बनाएको स्वस्थकर खानेकुरा खान्थ्यौँ । त्यही बेलाको खानेकुरा खाएको हुनाले होला म ६८ वर्षको उमेरसम्म पुग्दा अहिलेसम्म नसर्ने रोग लाग्न पाएको छैन । अब भोलि के हुन्छ थाहा छैन तर अहिलेसम्म मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, घुँडा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, यस्तो किसिमको समस्या भएको छैन । अहिले फलफूल सलादभन्दा बढी मदिरा र मासु हुन्छ । मदिरा नखानेहरू कोकाकोलाजस्ता पेयपदार्थहरू लिएर मासु खाने चलन बढी छ । घरभित्र भान्छामा पकाएको खानेकुरा भन्दा आजभोलि बजारको खानेकुरा दसैँमा बढी हुन्छ । यस्ता खानेकुराले भोलिको दिनमा ठूलो समस्या निम्त्याउन सक्छ । सबै जनाले एकदम रमाइलोसँग दसैँ मनाउनुहोस् । दसैँ तिहार मनाएपछि पछि पनि आफ्नो स्वास्थ्य राम्रो रहोस् भनेर खानपिन गर्नुहोस् । स्वास्थ्य जीवनशैलीमा, योगासन, व्यायाममा चाहिँ ध्यान दिनुहोस् । (पोषणविद डा. अरुणा उप्रेतीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)