स्वास्थ्यका लागि चिया र कफी कत्तिको उपयोगी ?
धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका छन् । विश्वका धेरै देशहरुमा चिया, कफीको सेवन निकै हुने गरेको छ । अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्दछ । नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्दछ । पछिल्लो समय कफीको प्रयोग गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ । नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्य रुपमा लिने गरिन्छ । यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका दृष्टिले कत्तिको लाभदायक छ भन्ने कुरा उल्लेख गरिएको छ । संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो । हामीले धेरैथरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसैकसैले चिनी नहालेको चिया मन पराउँछन् । दूध–चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ । स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्याउँछ भनी खबरदारी गर्छन् । यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध–चिनी केही पनि नमिसाइ कालो चिया पिउने गर्छन् । कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् । कस्तो चिया फाइदाजनक ? स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ । हामीले दिनदिनै दुई–चार कप चिया पिएकै हुन्छौँ । हरियो र कालो दुवै चिया एउटै जातको ‘क्यामेलिया’ नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ । हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरू नष्ट हुँदै जान्छन् । यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वस्थ्यवर्द्धक मान्नुपर्छ । हरियो चियामा स्वस्थ्यवर्द्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिदैन । चियामा भएको गुणकारी तत्वहरू पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ । चियालाई धेरै बेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरू निष्क्रिय भइदिन्छन् । यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो । हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्यो ? फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौँ । यी चिजहरू खाए भइहाल्यो नि ! चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनुपर्यो ! कोक, फन्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध–चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ । यस्तो चिया दैनिक एक–दुई कप पिउँदा केही पनि हानि छैन । तर जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पुर्याउनुपर्छ कस्तो चिया पिउने ? कति कप पिउने ? कुनबेला पिउने ? चिनी–दूध हाल्ने कि नहाल्ने ? भन्ने कुरा आफ्नो स्वास्थ्यअनुसार विचार गर्न सकिन्छ । यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको (४०० भन्दा बढी नै) छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो । पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरूले दूधबिनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ । तर तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खाली पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ । तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस् । यसभन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्याउनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक दुई कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् । तर दैनिक दुई कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ । यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस् तर सावधान ! धेरै नपिउनुहोस् । कफीको नशा चिया जस्तै कफीको स्वादमा रमाउने मानिस पनि विश्वमा धेरै छन् । धेरैलाई कफीको नशाबारे थाहा छैन । कफी र रक्सी दुवैमा नशा लाग्ने तत्व हुन्छ । कडा कफी पिउने बानी भएकाहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपर्दा उनीहरू रक्सी छोड्छन् । रक्सी छोड्नसक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमाभन्दा पनि कडा नशा कफीमा छ भनी बुझ्नुपर्छ । चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर असर पार्छ । रक्सी र चुरोटको लत बसेकाहरूले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्नेजस्ता समस्या देखा पर्छन् । यसलाई ‘विड्रअल इफेक्ट’ भनिन्छ । कफीको लत बसेकाहरूले कफी पिउन नपाउँदा यस्तै अवस्था उत्पन्न हुन्छ । संसारमा धेरै पिइने पदार्थहरूमध्ये एक हो कफी । विकसित राष्ट्रहरूमा आधा जनसङ्ख्याले कफी सेवन गर्ने गरेका छन् । त्यहाँ प्रत्येक दिन एक जनाले सरदर तीन कप कफी पिउने गर्छन् । कफीको उत्पादन भने सबैभन्दा बढी विकासोन्मुख राष्ट्रहरूमा हुने गरेको छ । कफीको खेती संसारका ७० भन्दाबढी देशमा गरिन्छ । सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल हो । यो देशले संसारको कूल ३५ प्रतिशत कफी उत्पादन गर्दछ । नेपालमा पनि कफीको उत्पादन हुन्छ । नेपालमा पाल्पा र गुल्मीका कफीहरू प्रख्यात छन् । कति पिउने कफी ? रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएजस्तै कफीमा क्याफिन हुन्छ । यसमा एक प्रकारको लत वा नशा बस्छ । मान्छेले एकपटक पिएपछि फेरि पनि पिउँपिउँ जस्तो लाग्ने कारण यही हो । दुई चिया चम्चा धुलो कफी मिसाएको एक कप कफीमा सय मिलिग्राम क्याफिन हुन्छ । स्वास्थ्यका दृष्टिले दैनिक दुई सयदेखि चार सय मिलिग्रामसम्म क्याफिन पिउन सुरक्षित मानिन्छ । अर्थात् एक जनाले दुईदेखि चार कपसम्म दैनिक कफी पिउन सक्छन् । तर कफी पिउन हुने/नहुने भन्ने कुरा व्यक्तिको स्वास्थ्य स्थितिमा भर पर्छ । क्याफिन तत्व कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिङ्क्स र इनर्जी ड्रिङ्क्समा पनि पाइन्छ । इनर्जी ड्रिङ्क्स पिउँपिउँ लाग्ने कारण पनि क्याफिनको नशा लागेर हो । कफीले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ । यसले दिमाग र मुटुमा असर पार्ने, मुटुलाई उत्तेजित बनाउने एवं पाचन प्रणालीमा पनि असर गर्छ । थोरै प्रयोगले खासै असर नगरे पनि, धेरै हुनेबित्तिकै पाचन प्रणालीमा असर पार्छ । दैनिक चार कपभन्दा बढी कफीलाई धेरै मान्नुपर्छ । कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काँप्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, अपच हुनेजस्ता समस्या देखिन सक्छन् । धेरै भयो भने मृत्युसमेत हुन सक्छ । दिनमा ५० कपदेखि एक सय कपसम्म कफी पियो भने मृत्युसमेत हुन सक्छ । १० हजार मिलिग्राम क्याफिन शरीरमा पर्यो भने तत्काल मृत्यु हुनसक्छ । कुनै व्यक्तिलाई कफी शरीरमा पर्नेबित्तिकै आनन्द महसुस हुन्छ भने कतिपयलाई छटपटी हुन्छ । कसैकसैलाई अलिकति कफी पिउनेबित्तिकै असर पर्छ, यसलाई कफीमा ‘सेन्सेटिभ’ भएको भनिन्छ । कफीमा सेन्सेटिभ भएकाहरूलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने, निद्रा नपर्ने, अपच हुने, रक्तचाप बढ्ने, छिटोछिटो पिसाब लाग्नेजस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मुटुको धड्कन खराब भएकाहरूले दैनिक एक कपसम्म कफी पिउनु सुरक्षित मानिन्छ । विज्ञानले भन्छ–एक कप कफी गर्भवतीहरूका लागि समेत सुरक्षित छ तर यसभन्दा बढी भएमा गर्भपात हुने वा कम तौल भएको बच्चा जन्मिने खतरा बढ्छ । १८ वर्ष उमेरमुनिका र गर्भवती महिलाले कफी नपिउँदा बेस हुन्छ । आफ्नो स्वादअनुसारको कफी पिउने गर्नुहोस् । कालो, दूध–चिनी नहालेको ‘ब्ल्याक’ अथवा ‘मिल्क विथ सुगर’, ‘कफी लाटे’, ‘अमेरिकानो’, ‘एक्सप्रेसो’, ‘क्यापुचिनो’ आदि जुन स्वादिलो लाग्छ, छानीछानी पिउने गर्नुहोस् । यसबाट स्वाद, सन्तुष्टि र सुस्वास्थ्य प्राप्त हुन्छ । कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धानहरू भएका छन् । कफी सेवन नगर्नेहरूको तुलनामा कफी सेवन गर्नेहरू धेरै वर्ष बाँच्ने गरेको कुरा वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् । दैनिक दुईदेखि चार कपसम्म कफी पिउनेहरूमा अरूको तुलनामा १६ प्रतिशतले मृत्युदर कम भएको पाइएको छ भने २१ प्रतिशतले हृदयघातबाट हुने मृत्यु घटेको पुष्टि भएको छ । हृदयघात भइसकेकाहरूका लागि पनि कफीको सेवन लाभदायी देखिन्छ । दैनिक दुईदेखि चार कपसम्म कफी पिउँदा यसले स्वास्थ्यमा राम्रो असर पार्छ । विज्ञानले के पनि भन्छ भने कफीले मधुमेह र मुटुरोगबाट बचाउन मद्दत गर्छ । दिमागसम्बन्धी रोग– ल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ । पार्किन्सन्स रोग, लिभर सिरोसिस र क्यान्सर हुनबाट पनि धेरै हदसम्म रोक्छ । हिजोआज धेरै मानिसलाई कलेजोमा बोसो जम्ने रोग छ । यसलाई नन अल्कोहोलिक फ्याट्टी लिभर पनि भनिन्छ । यसलाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ । तर गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ । किनकी उनीहरूलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पुर्याउँछ । त्यसैले भरसक आफ्नो शरीरको स्थितिलाई विचार गरेर कफी पिउँदा राम्रो हुन्छ । दूध र चिनी नहालेको ब्ल्याक कफी पिउँदा स्वाद, सन्तुष्टि र सुस्वास्थ्यसमेत पाउन सकिन्छ । रासस (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)
गुलियो कति खाने ?
यतिबेला हामी तिहार पर्व मनाइरहेका छौँ । तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । अहिले सेल रोटी वा अन्य परिकारहरु घरमा पकाउने भन्दा पनि बजारबाट खरिद गर्ने चलन सुरु भएको छ भने सेल रोटीको ठाउँमा अन्य मिठाईंसमेत प्रयोग गर्न थालिएको छ । उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपना, हृदयघात, मस्तिष्कघात, थाइरोइड, क्यान्सरजस्ता जटिल स्वास्थ्य समस्याहरूको शुरुआत ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ । त्यसैले चाडवाडको बेला धेरै परिकारमा गुलियोको प्रयोग हुने हुँदा शरिरमा चिनीको मात्रा बढ्न गई कोलेस्टेरोल बढाउँछ, रक्तचाप/मधुमेह/अम्लपित्त आदिको समस्या ल्याउन सक्दछ । हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘रातो राम्रो गुलियो मीठो ।’ सबैलाई मीठो खान मन पर्छ । धेरैलाई गुलियो खानेकुरा मीठो लाग्छ । मीठो भनेकै गुलियो हो भन्ने धेरैजनाको बुझाइ पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले गुलियो खानेकुरा कति लाभदायी छ र यो कति खाने भन्ने बारे यहाँ सङ्क्षेपमा वर्णन गर्ने प्रयास गरिएको छ । ‘गुलियो’ एउटा स्वाद हो । यो स्वाद चिनी मिसिएका खानेकुरामा पाइन्छ । प्राकृतिक स्रोतबाट बनेको चिनी फलफूल, तरकारी र अन्नहरूमा पाइन्छ । उद्योगहरूले उत्पादन गर्ने चिनी कृत्रिम हो र यो धेरै प्रकारको हुन्छ । मीठो स्वाद दिनका लागि हामीले चिया, कफी, दूध, सर्बत, रोटी, मिठाईलगायत धेरै खानेकुराहरूमा चिनी मिसाउने गर्दछौँ । उद्योगहरूले उत्पादन गर्ने तयारी खानेकुराहरू जस्तै– बिस्कुट, केक, कुकिज आदि र बोतलमा बन्द गरिएका पेय पदार्थहरू जस्तै–कोक, फ्यान्टाहरूमा धेरै मात्रामा चिनी मिसाइएको हुन्छ । यस्ता गुलिया खानेकुराहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । चिनी कार्बोहाइड्रेट्स समूहको खाद्यपदार्थभित्र पर्दछ । चिनीका विभिन्न रूप र नामहरू छन् । ती हुन्– ग्लुकोज, फ्रुक्टोज, सुक्रोज, डेक्सट्रोज, ल्याक्टोज, गालाक्टोज, माल्टोज, सेलुलोज आदि । यिनीहरूमध्ये ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज अलि हलुका र साधारण प्रकृतिका चिनीहरू हुन्, जसलाई मोनोस्याकाराइड भनिन्छ । यिनीहरू सजिलै पानीमा घुलिन्छन् र यिनीहरूबाट तुरुन्तै ऊर्जा प्राप्त हुन्छ । अलि गह्रुङ्गा र जटिल प्रकृतिका चिनीहरूको समूहमा सुक्रोज, ल्याक्टोज, माल्टोज, सेलुलोज, स्टार्च आदि पर्दछन् । यिनीहरू दुई वा सोभन्दा बढी मोनोस्याकाराइड मिलेर बनेका हुन्छन् । जस्तै– ग्लुकोज र फ्रुक्टोज मिलेर सुक्रोज बन्दछ । ग्लुकोज र गालाक्टोज मिलेर ल्याक्टोज बन्दछ । यस्तै प्रकारले दुईवटा ग्लुकोज मिलेर माल्टोज बन्दछ । यी जटिल चिनीहरू हाम्रो शरीरभित्र पाचनरसको असरबाट ग्लुकोजमा टुक्रिन्छन् । मह, फलफूल र तरकारी प्राकृतिक चिनीका महत्ववपूर्ण स्रोतहरू हुन् । उखुमा सुक्रोज हुन्छ । उखुलाई पेलेर यसबाट निस्किएको रसलाई प्रशोधन गरी उद्योगहरूले चिनीको उत्पादन गर्दछन्, जुन टेबल चिनीको रूपमा सबैको घर–घरमा पुग्दछ । यो चिनीलाई चिया, रोटी, मिठाई, पेयपदार्थ आदिमा मिसाई मीठो मानेर खाइन्छ । ल्याक्टोज यस्तो चिनी हो, जुन वनस्पतिबाट निकाल्न सकिदैन । यो दूधमा मात्र पाइन्छ । विश्वमा मान्छेले अत्यन्तै ठूलो मात्रामा चिनीको खपत गर्दछन् । एउटा व्यक्तिले बर्सेनि सरदर २४ किलो चिनी खपत गर्दछ । अमेरिकीहरूले यसको दोब्बर मात्रामा अर्थात् बर्सेनि ५० किलोसम्म चिनीको खपत गर्दछन् । धेरै मात्रामा चिनीको उपभोग गर्नाले मोटोपना, मधुमेह, मुटुरोगजस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । विश्वमा चिनी नखाने कुनै जात, वर्ग, लिङ्ग छैन । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रत्येक व्यक्तिले आफूलाई आवश्यक दैनिक ऊर्जा (क्यालोरी) को पाँच प्रतिशतसम्म मात्र चिनीको उपभोग गर्नुपर्दछ । यो भनेको दुई हजार क्यालोरी ऊर्जा चाहिने व्यक्तिले एक सय क्यालोरीसम्म ऊर्जा दिने मात्रामा चिनी खानुपर्छ । एक ग्राम चिनीले चार क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम चिनीले एक सय क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम भनेको पाँच चिया चम्चा हो । यस प्रकार दुई हजार क्यालोरी ऊर्जा बराबरको खाना खाने व्यक्तिले दैनिक पाँच चिया चम्चासम्म मात्र चिनीको उपभोग गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ । यसभन्दा बढी चिनीले विभिन्न रोग उत्पन्न गराउन सक्छ । हामीले एक कप चियामा दुई चम्चा चिनी हाल्छौँ । दिनमा ४–५ कप चिया खाँदा ८–१० चम्चा चिनी हुन जान्छ । पाँच सय मिलिलिटरको मझौला कोकाकोलामा १२ चम्चा चिनी हुन्छ । आधा कप आइसक्रिममा पाँच चम्चा चिनी हुन्छ । एउटा रसवरी वा लालमोहनमा चार चम्चा चिनी हुन्छ । यस प्रकार हामीले सजिलै बुझ्न सक्छौँ कि विचार नगरी खाने हो भने हामीले आवश्यकभन्दा धेरै गुणा बढी मात्रामा चिनी खाइराखेका हुन्छौँ । यसैको एउटा नतिजा हो नसर्ने रोगहरू जस्तै– अति मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मानसिक रोग आदि बढ्दै जानु । चिनी, पाचन प्रणाली र इन्सुलिन खानाको रूपमा मुखभित्र पसेपछि विभिन्न पाचनरस (इन्जाइम) को असरबाट जटिल चिनी साधारण चिनीहरूमा टुक्रिन्छन् । ल्याक्टोजलाई ल्याक्टाजले, माल्टोजलाई माल्टाजले र सुक्रोजलाई सुक्राजले टुक्र्याइदिन्छ । यिनीहरूबाट शरीरमा ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज बन्दछन्, जसले ऊर्जा प्रदान गर्दछन् । अन्तिममा गएर गालाक्टोज पनि ग्लुकोजकै रूपमा परिवर्तन हुन्छन्, जुन शरीरले ऊर्जाको रूपमा प्रयोग गर्छ । प्रयोग नभएको ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज कलेजो र मांसपेशीमा सञ्चित भएर रहन्छन् । यिनीहरू अत्यधिक मात्रामा जम्मा भएमा बोसोमा परिवर्तन भई पेट र अन्य भागहरूमा जम्मा हुन्छन् । ग्लुकोजलाई ऊर्जामा परिवर्तन गर्न इन्सुलिन नामक हर्मोनको आवश्यकता पर्दछ । इन्सुलिनले ग्लुकोजलाई कोशिकाभित्र पठाउन मद्दत गर्छ, जहाँ ग्लुकोजबाट ऊर्जा उपन्न हुन्छ । इन्सुलिन भएन भने ग्लुकोज कोशिकाभित्र पस्न सक्दैन र रगतमै जम्मा भइरहन्छ । ग्लुकोजको मात्रा रगतमा बढ्दै जाने रोगलाई मधुमेह भनिन्छ । चिनीको लतको जोखिम रक्सी र चुरोटमा जस्तै चिनी, गुलियो खानेकुराहरू र प्रशोधित कार्बोहाइड्रेट्सयुक्त खानेकुराहरूमा पनि लत बस्छ । गुलियो वा कार्बोहाइड्रेट्स धेरै भएको खानेकुरा खाने बानी परेपछि त्यो खाइराख्न मन लाग्छ । चकलेट, आलु, केक, आइसक्रिम, बिस्कुट आदि खाने बानी परेपछि यसमा लत बस्छ । यस्तो लत हिजोआजका बालबालिका र युवायुवतीहरूमध्ये धेरैमा बसेको देखिन्छ । लत बसेको खानेकुरा छिन्–छिन्मा खाइराख्न मन लाग्छ । यस्तो लतले शारीरिक तथा मानसिक दुवै प्रकारको स्वास्थ्य समस्या उत्पन्न गराउँछ । गुलियो खानेबित्तिकै यसलाई पचाउन शरीरमा इन्सुलिन निस्किन्छ । छिन् छिन्मा खाने बानीले इन्सुलिन पनि छिटो–छिटो निस्किनुपर्ने हुन्छ । यसो हुँदा शरीरमा धेरै मात्रामा इन्सुलिन जम्मा हुन पुग्छ र यसको काम गर्ने क्षमता कमजोर भएर जान्छ । इन्सुलिन थाक्छ । यसै समयमा तनावको हर्मोन अर्थात् कोर्टिजोल उत्पादन हुन्छ । गुलियो खाने बानीले तनाव उत्पन्न गराउँछ र पछि गएर मान्छे डिप्रेसनको सिकार हुन सक्छ । चिनी र स्वास्थ्य समस्याहरू के हुन सक्छन् ? गुलियो खानेकुरा खानै हुँदैन भन्ने होइन । स्वस्थ व्यक्तिले ठीक मात्रामा खाँदा गुलियोले खासै बेफाइदा गर्दैन । हाम्रो खानामा कार्बोहाइड्रेट्स बढी हुन्छ । हामीले दुई छाक भात खान्छौँ । यसैबाट प्रशस्त मात्रामा शरीरलाई चाहिने ग्लुकोज र ऊर्जा प्राप्त हुन्छ । यसमाथि थप गुलियो खाना वा चिनी खायो भने शरीरलाई चाहिनेभन्दा बढी ऊर्जा जम्मा हुन्छ, जसका कारण मोटोपना बढ्छ । आवश्यकभन्दा बढी क्यालोरी खाने गर्यो भने मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सर, दाँतका रोगहरू, कलेजोमा बोसो जम्ने, मानसिक तनाव, डिप्रेसन जस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुने सम्भावना बढेर जान्छ । शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी दिने खाना नखाने र आहारलाई सबै थरीका पौष्टिक तङ्खवहरूसहितको सन्तुलित बनाउने प्रयास सबैले गर्नुपर्छ । मोटोपना घटाउनका लागि गुलियो खान छोड्नुपर्छ । यस्तै प्रकारले मधुमेह रोगबाट पीडितहरूले पनि क्यालोरीको हिसाब गरेर कम कार्बोहाइड्रेट्सयुक्त खाना खानु उचित हुन्छ । मुटुरोगीहरूका लागि चिल्लोभन्दा गुलियो खाना बढी हानिकारक हुन्छ । धेरै मानिसलाई चिल्लो पदार्थ रक्तनलीमा गएर जम्छ र हृदयघात हुन्छ भन्ने भ्रम भएको पाइन्छ । वास्तवमा भन्ने हो भने धेरै गुलियो खाएर यसबाट शरीरभित्र बन्ने बोसोले हृदयघातको सम्भावनालाई बढाउँछ । खानामा भएको खराब चिल्लो (ट्रान्स फ्याट) ले अवश्य हानि गर्दछ तर असल चिल्लो (घिउ, दूध, दही, माछा, मासु) आदि ठीक मात्रामा खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । यस कारण भनेको हो– घिउ खान डराउनु पर्दैन, बरु चिनी खान डराउनुपर्दछ । हिजोआज धेरैलाई नसर्ने रोगहरूको समस्या छ । गुलियो र प्रशोधित कार्बोहाइड्रेट्स धेरै भएको खाना खाएमा रोग लाग्ने सम्भावना बढ्छ । स्वस्थ रहन सन्तुलित भोजन लिनुका साथै चिनी मिसाइएको र प्रशोधन गरिएको कार्बोहाइड्रेट्सयुक्त खाना सकेसम्म कम मात्रामा उपभोग गर्नुपर्दछ । रासस (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)