स्नातकको पढाइपछि मात्रै विदेश जान पाइने व्यवस्था गरौं
म शिक्षण पेशामा आबद्ध भएको करिब २५ वर्ष भयो । एसएलसी (अहिलेको एसईई) दिइसकेपछि चितवनको एउटा स्कुलबाट स-साना विद्यार्थीलाई अक्षर लेख्न सिकाउने कामबाट मेरो पेशा सुरु भयो । त्यसपछि विस्तारै माथिल्लो तहमा हुँदै अहिले प्लसटु, स्नातक, स्नातकोत्तर तहसम्मको शैक्षिक व्यवस्थापनको काम गरिरहेको छु । अहिले शिक्षा क्षेत्रलाई हेर्दा तीन चरणमा हेर्न सकिन्छ । एउटा शिक्षण पेशा, अर्को शैक्षिक लगानी र व्यवसाय र समग्र शैक्षिक प्रणालीलाई विद्यार्थी अभिभावकले कसरी हेरेका छन् भन्नेगरी हेर्न सकिन्छ । शिक्षण पेशा पहिले सहज थियो । यो पेशाबाट पनि परिवार पाल्न सकिने अवस्था थियो, अहिले त्यस्तो छैन । कुनैपनि शिक्षकले केही कमाउनेभन्दा पनि घर चलाउने अवस्था छ । अर्को शिक्षण पेशाबाट पाउने जुन इज्जत थियो, अहिले त्यसमा पनि कमी आएको छ । आजभोलि शिक्षकले सामाजिक पहिचान, इज्जत कम पाएको लाग्छ । राम्रो कुरा के आएको छ भने पहिले पाठ्यपुस्तकमा मात्र सिमित रहेर घोकाउने, रटाउने गरिन्थ्यो भने अहिले विद्यार्थीको समग्र विकासको लागि बाह्य ज्ञान सिकाउनुपर्छ भन्ने सकारात्मक सोचको विकास भएको छ । निजी क्षेत्रमा शिक्षा व्यवसायकारूपमा लाग्ने व्यक्तिहरूका हिसावमा हेर्ने हो भने तत्कालीन समयमा जे अवस्था थियो अहिलेको अवस्थामा छैन । शिक्षाको क्षेत्रमा सम्मान पनि हुने, सेवा पनि हुने र कमाइ पनि हुने भन्ने हिसाबले लगानी हुन्थ्यो भन्ने थियो । शिक्षामा गरेको लगानी गर्दा नाफा वितरण गर्ने भन्दा पनि सस्टेन गर्ने विषयमा पनि केही समस्या देखिएको छ । तेस्रो, पहिले केही उदेश्यका साथ विद्यार्थीले शिक्षा लिने गर्थे । म यो पढेपछि यस्तो बन्ने हो भन्ने उदेश्य हुन्थ्यो । पढ्दा र नपढ्दाको फरक ठूलो देखिन्थ्यो । अहिले समग्रमा नपढ्नेहरूको संख्या कम भयो, धेरै मान्छे पढ्नेहरू नै भए । पढ्ने र नपढ्नेमा फरक छुट्याउन सकिँदैन । पछिल्लो समयको पुस्तालाई हेर्ने हो भने के को लागि म अध्ययन गरिरहेको हो भन्ने समेत उनीहरूलाई थाह हुँदैन । विद्यार्थी पढ्न आउँदा पनि कुन विषय रोज्दा त्यो विषयले मलाई कहाँ लान्छ, मैले यो विषय के अर्थमा पढिरहेको छु, यो विषयले मलाई कुन कुरामा सक्षम बनाउँछ, यो विषय सकेपछि कुन जागिर अथवा कुन व्यवसायमा जाने हो भन्ने कुरा अहिलेको विद्यार्थीमा कम देखिन्छ । कोही मान्छे नपढेर घरजग्गाको कारोवार गरेकै कारण अर्थात् सामान्य गाउँमा ठेकेदारी गरेकै कारण उसले राम्रो गाडी चलाएर हिँड्यो भने मान्छेको आकर्षण त्यता जान थाल्यो । राम्रो अब्बल भएको व्यक्तिको भन्दा नपढेकोले पनि पैसा कमाउन सक्ने रहेछ भन्ने भएर मान्छेलाई पढाइप्रतिको मोह कम हुँदै गयो । उसले कस्तो लगाएको छ, कस्तो गाडी चलाइरहेको छ, कस्तो ठाउँमा गएर खान्छ भन्ने हेर्न थालियो । अहिले इमानको कुरा ओझेल पर्दै गयो । यो ओझेल पर्नुको कारण माथिल्लो तहको हात छ । हुन त यति भने गाली धेरै गरेजस्तो हुन्छ तर, समाजको सबैभन्दा ऐना देखाउने भनेको माथिल्लो तह अथवा राजनीतिले हो । राजनीतिकरूपमा संरक्षित भएपछि राम्रो र नराम्रो कामको रूपमा छुट्टिदैन । समाजमा कुनै राम्रो वा नराम्रो घटना भयो भने पनि त्यसलाई राजनीतिकरण गरिन्छ । जसले गर्दा राज्यसत्ता सञ्चालन गरिरहेका व्यक्तीहरूले इमान प्रदर्शन नगर्दा समाजको तल्लो तहमा पनि यसको असर परिरहेको हुन्छ । ती असरका कारण यस्ता विषयहरू समाजमा देखिन थाले । विद्यार्थीको विदेश मोह नेपालमा विद्यार्थीहरू किन बस्न रूचाउँदैनन् भन्ने विषयमा म खोज अनुसन्धान गरिरहेको छु । नेपालमा ११/१२ पढ्ने २५ सय ३ हजार विद्यार्थीकोे तथ्यांक हेर्दा पनि हामीले देख्ने चित्र राम्रो छैन । मेडिकल र इन्जिनियरिङ पढाइले केही रोकिनेवाला थियो । आजको दिनमा त्यसले पनि विद्यार्थी रोक्न सकिने अवस्था रहेन । यदि नेपालमा एसईई नदिँदै वा एसईई दिएपछि पनि सरकारले बाहिर जानका लागि अनुमति दिने हो भने विद्यार्थी सबै बाहिर हिँड्छन् । किन कि हामीले नेपालमा आशा नै देखाउन सकेका छैनौं । नेपालमा पढेर यहीँ केही गर्छु भन्ने विद्यार्थीलाई आशाको सञ्चार नै देखाउन सकेका छैनौं । यसका लागि राजनीतिक स्थायित्व चाहिन्छ । किनकि सरकारले यो विषयमा काम गर्न पाएकै छैन । गम्भीर विषय के हो भने यहाँ सरकारको काम के हो भन्ने विषयमा पनि प्रष्ट देखिएन । टालटुल काम गर्ने र सरकार जोगाउने भन्ने विषयमा राजनीतिक व्यक्तिहरू लागे । जब सरकारको काम नै सरकार जोगाउने हुन्छ भने यसमा दीर्घकालिन काम के हुन सक्छ ? सोच्ने बेला आएको छ । विद्यार्थी विदेश पलयान भए भन्ने विषयको जानकारी सबैलाई छ । यसमा समाधानको बाटो देखाउन मात्र बाँकी हो । हामी शिक्षा क्षेत्रमै काम गर्नेहरूले पनि समाधानका विषय देखाउनुपर्छ । अब उनीहरूमाथि दुइटा तरिकाले हेरिनुपर्छ । एउटा उनीहरूलाई बाहिरको आकर्षण के हो ? नेपालप्रतिको विकर्षण के हो ? भन्नेबारे जानकारी गराउनुपर्छ । म आफुले गरेको अनुसन्धानलाई हेर्ने हो भने विद्यार्थीले नेपालमा शिक्षा राम्रो भएन, राम्रो शिक्षा लिन जाँदैछु भन्नेहरू ८/१० प्रतिशतमात्र हुनुहुन्छ । धेरैजसो विद्यार्थी देशमा बस्न सक्ने अवस्था छैन । यो काम गरे यस्तो हुन्छ भन्ने ग्यारेन्टी छैन भन्नेहरू छन् । ७२ प्रतिशतभन्दा बढी विद्यार्थी नेपाल फर्किने मानसिकतामै छैनन् । म नेपाल नै बस्न चाहँदैन भन्नेहरू पनि छन् । यो विद्यार्थीको रूपमा जाने बाटोमात्र हो, धेरैजसो उतै बसाइसराइँ गरेर नै जानेहरू छन् । मैले २०७३ सालदेखि कति प्रतिशत विद्यार्थी बाहिरजान चाहन्छन् ? कुन–कुन विषयमा जान चाहन्छन् ? किन जान चाहन्छन ? के चिज नेपालमा छ ? के नेपालमा छैन? भन्ने विषय अध्ययन गर्दै जानेक्रममा यस्तो देखिएको हो । ७३ सालतिर ३२ प्रतिशत विद्यार्थी मात्र बाहिर जाने चाहना राख्थे भने आजको अवस्थामा ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरू कक्षा १२ सकेपछि बाहिर जान चाहान्छु भन्ने इच्छा राखिरहेका छन् । हाम्रोमा अध्ययन सम्पन्न गरेपछि विद्यार्थीहरू कहाँ जान्छन् ? कस्तो काम गर्छन् ? अहिले उनीहरूको जागिर छ कि छैन के गर्दैछन् भनेर हेर्दा यस्तो अवस्था देखिएको हो । खाली हुँदैछन् कलेज विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा दुई वर्ष विद्यार्थीको संख्या घटेको थियो । यो वर्ष पनि लगभग हाम्रो प्रक्षेपण अनुसार सुरुको लटमा लगभग १ लाख ८९ हजार विद्यार्थी पास भए । पछिल्लो चरणमा ग्रेटवृद्धी गरेकाको संख्या हेर्दा २ लाख ५० हजारको हाराहारीमा प्लसटु सकेको विद्यार्थी स्नातकको लागि तयारी गरिरहेको हुन्छ । ती मध्ये अहिलेको वर्षको प्रेक्षपण हेर्दा १ लाख ३० हजार विद्यार्थी यो आर्थिक वर्षमा बाहिर जाने देखिन्छ । यसमा एनओसी नलिएर भारतमा जाने विद्यार्थीको संख्या सामेल छैन । गत वर्ष १ लाख १७ हजार थियो । यो वर्ष प्रत्येक महिना अघिल्लो वर्षको तथ्यांकलाई बिट् गरिरहेको छ । भनेपछि बाहिर जाने क्रम यसरी बढिरहेको छ । नेपालमा हामीले रोक्ने छेक्नेभन्दा पनि नेपालमै अवसर जुटाउने तिर लाग्नुपर्छ । यतातिर सरकार लागेको म देख्दिनँ । यसले गर्दा यो वर्ष पनि विद्यार्थी संख्या बाहिर जाने बढी देखिन्छ । धेरैजसो विद्यार्थी देशमा म बस्न सक्ने अवस्था छैन । यो काम गरे यस्तो हुन्छ भन्ने ग्यारेन्टी छैन भन्नेहरू छन् । ७२ प्रतिशतभन्दा बढी विद्यार्थी नेपाल फर्किने मानसिकतामै छैनन् । म नेपाल नै बस्न चाहँदैन भन्नेहरू पनि छन् । नेपालमा भएका कुनैपनि विश्वविद्यालयका कुनैपनि कार्यक्रममा अहिले विद्यार्थीको संख्या पुरा हुने देखिँदैन । त्यसमा हामी पनि त्रिभुवन विश्वविद्यालय अन्र्तगतको कलेज सञ्चालन गरिरहेको नाताले हाम्रोमा पनि विद्यार्थीको संख्या परा भएको छैन । केही समयको लागि कोटा भरिएपनि फेरि विद्यार्थी बिचमै ड्रप्टआउट हुने हुन्छ । त्यसैले हाम्रोमा पनि जति विद्यार्थी हुनुपथ्र्यो त्यति छैन । हामीले गरेको प्रक्षेपण बीबीए, बीए, बीबीएम बीबीएसको गरेर २ सय ५० विद्यार्थीको कोटा राखेका थियौं । तर, हामीसँग अहिले २७ विद्यार्थीमात्र भर्ना भएको अवस्था छ । त्यसले गर्दा कतिपय समेस्टर सिस्टमकै प्रोग्रामका कोटामा अहिले पनि भर्ना कार्यक्रम चलिरहेको छ । यो कोटा पुरा हुन्छ, हुँदैन अहिले भन्न सकिने अवस्था छैन । तर, गत वर्षको संख्या हेर्ने हो भने कोटा पुरा भएको भएपनि बिचमै विद्यार्थी छोडेर विदेश गएको देखिन्छ । सरकारले निजी कलेजमध्ये नेपालकै सर्वोत्कृष्ट अवार्ड गरेको कलेजको यस्तोे अवस्था छ भने नेपालको अन्य कलेजको अवस्था के होला अनुमान लगाउन मात्र सकिन्छ । स्नातक तहमा विद्यार्थी कम हुनुमा दुइटा कारण छ । एक कलेजहरूको संख्या बढ्दै गयो । आजभन्दा ५ वर्ष पहिले बीबीए पढाइ हुने कलेजहरू कति थिए, आजको अवस्थामा के छ भनेर हेर्दा हुन्छ । अर्को, सरकारी कलेजहरूले नै कोटा थप गरेर पढाइ गरिरहेका छन् । जसले गर्दा विद्यार्थी कम भएको भन्न सकिन्छ । अर्को मुख्य कारण भनेको ठूलो संख्यामा विद्यार्थीहरू विदेशतिर लागे । ५/६ वर्षअघि हेर्दा २५ हजार विद्यार्थी वर्षमा बाहिर जान्थे भने आज लाखौँ विद्यार्थी बाहिर जान थाले । विद्यार्थीको समग्र पास हुने संख्या विगत ४/५ वर्षको हेर्ने हो भने उस्तै देखिन्छ । तर, जाने विद्यार्थीको संख्या धेरै देखिन्छ भने नेपाल भित्रै विद्यार्थी नहुँदा र नेपालभित्रै कलेजको संख्या बढ्दा अहिले कलेज खाली हुन थालेका हुन् । अब स्नातक तहको शिक्षा भन्ने मात्र रहेन । के पर्छ असर ? हुनत सरकारले केहीलाई अनुदान तथा सहयोग गरेर पनि पढाउँछ । युवा जमात तयार गर्छ । उनीहरू बालबालिका हुने बेला सरकारले लगानी गरेर पढाउँछ । केही काम गर्न योग्य व्यक्ति भएपछि उहाँहरू विदेश जान थाले । त्यसो भए सरकारले शिक्षामा गरेको लगानी कहाँ गएर पोखिँदैछ ? सानो बिरुवा हुँदा मलजल गर्ने काम नेपाली समाजले गर्ने, त्यो बिरुवा ठूलो भएर फूल फुल्ने, सुगन्ध दिने, फल दिने क्रममा अन्तै अथवा अर्को देशको बगैँचामा गएर फुल्ने काम भयो । नेपाली युवाको बल, बुद्धी, विवेक, श्रम उतै खर्च हुने अवस्था छ । यो धेरै ठुलो गम्भीर अवस्था हुनेवाला छ । तर, छेकेर रोकेर बार बनाएर हुँदैन । नेपालमै केही काम गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्छ । राज्यसंयन्त्र यहाँ अवसर कसरी बनाउने भन्ने तर्फ लाग्नुपर्छ । रोजगारी सुनिश्चतता, स्वास्थ्य सुनिश्चतता कसरी गर्ने भन्नेतिर लाग्नुपर्छ । अर्को महत्वपूर्ण विषय राज्यले स्नातक तहसम्मको शिक्षा नेपालमै पढ्नुपर्छ भन्ने नीति बनाउन सक्यो भने अर्को बिकल्प हुन सक्छ । कानुनी रूपमा हामीले छेकबार लगाउनेभन्दा यो अवसर छ है भनेर त्यो देखाउनुपर्छ । नेपालमा अर्को डर लाग्दो अवस्था भनेको यी विद्यार्थीको काम गर्ने समय सकिन्छ, उहाँहरूको शारीरिक र सामाजिक काम गरिसकेपछि मानसिक रुपमा सोच्नु नै हुन्छ । पछि गएर उहाँहरू नेपाल फर्कनसक्ने सम्भावना धेरै हुन्छ । देशले केही दिनेबेलामा उहाँहरू नेपालमै हुनुभयो । समाजले, देशले, परिवारले उहाँहरूलाई केही दिरहेको बेलामा उहाँहरूको पौरख पसिना बुद्धि विवेकको प्रयोग गर्ने बेलामा उहाँहरू बाहिर हुनुहुन्छ र फेरि देशले दिनुपर्ने बेला वृद्ध भइसकेपछि उहाँहरू नेपाल फर्कदा यो अवस्था देशका लागि कति जटिल होला ? (लेखक सुवेदी काठमाडौं मोडेल कलेजका प्राचार्य हुन् ।)
६ दशकसम्म नथाकेका डा.पाण्डे र सपनाले दिएको त्यो सफलता
काठमाडौं । चिटिक्कको सुट पाइन्टमाथि रातो टाई । हँसिलो मुहार । मुहारको मुस्कानले बताइरहेको थियो मिहिनेत । उमेरले ६० वर्ष । तर, कल्पना पनि गर्न सकिँदैन, ६० वर्षको उमेरसम्म पनि यतिसम्मको सक्रियता रहन्छ ? यही जिज्ञासामा हामीले सुरुमा डा. चक्रराज पाण्डेसमक्ष राख्यौं । उनले जवाफमा भने, जति काम गरियो, जति आफूलाई व्यस्त राख्न सक्यो, त्यति नै जवानी भइन्छ ।’ चिकित्सा क्षेत्रमा एउटा परिचित नाम हो डा. चक्रराज पाण्डे । ३२ वर्षको उमेरदेखि अहिले ६० वर्षसम्म आइपुग्दा पनि उनी आफ्नो क्षेत्रमा सक्रिय छन् । वरिष्ठ अर्थोपेडिक सर्जनकारूपमा उनले उपत्यकाका धेरै अस्पतालमा काम गरे । उनी अहिले काठमाडौँको लाजिम्पाटमा आफ्नै अनामिवा अस्पताल सञ्चालन गरिरहेका छन् । उनको दिन बिरामी हेर्दै, अप्रेसन गर्दै बित्छ । गएको साता उनकै अनामिवा अस्पताल गएर डाक्टरलाई भेट्दा उनी बिरामीको जाँच गरिरहेका थिए । एउटा डाक्टरको दैनिकी कसरी बित्छ ? हाम्रो जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘बिरामी हेर्दै, उपचार गर्दै,’ उनले थपे, ‘ मेरो त केही समय पढाइमा बित्छ ।’ पढाइको मतलब उनी कुनै कोर्षको तयारीमा छैनन् । आफूले उपचार गर्ने बिरामीको सफल उपचार कसरी गर्ने भन्नेमा उनी धेरैभन्दा धेरै मिहिनेत गर्छन् । उनी भन्छन्, ‘एउटा गुड डाक्टर तब बेष्ट ठानिन्छ, जब उ आफ्नो विशेषज्ञताबारे पोख्त हुन्छ ।’ डा. पाण्डे हरेक दिन बिहान सबेरै उठेर सबैभन्दा पहिले आफ्नो नित्यकर्म गर्छन । त्यसपछि आज गर्नुपर्ने काम के छ, आफ्नो दैनिकी रुटिन हेर्छन । त्यो दिन कस्तो बिरामीको अप्रेसन गर्नुपर्छ, त्यसका लागि चाहिने औषधी, प्रविधि तथा उपकरण कस्तो छ र त्यसका लागि अक्सिजनको व्यवस्था छ या छैन भन्नेबारे हेर्छन् । त्यसपछि त्यो केशलाई सफल बनाउन कसरी काम गर्ने भनेर डाक्टर र नर्ससँग छलफल गर्छन् । आफ्नो टोलीसँगै गएर बिरामीको सल्यक्रिया गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूसँग भेटघाट गर्छन् । दिउँसोको खाना खाएर फेरि काममा लाग्छन् । अस्पतालमा अहिले दैनिक ६०/७० बिरामी आउँछन् । तीमध्ये अप्रेसन गर्नुपर्ने कमै हुन्छन् । उनले दिनभर गरेको कामको समीक्षा साँझ हुन्छ । फेरि भोलिको अप्रेसनका लागि कति जना छन्, त्यसको तयारीमा लाग्छन् । उनी आफ्नो मानसिक र शारिरीक अवस्थालाई कसरी सन्तुलन राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउँछन् । उनी आफ्नो लागि पनि समय छुट्याँउछन् । घरमा श्रीमती छिन् । छोराछोरी विदेशमा पढ्छन् । ‘छोराछोरीसँग भीडीओमा कुरा गर्छु, धेरै समय म आफ्नो काममा बिताउँछु, मेरो मुख्य काम भनेको बिरामीको सेवा गर्ने र पढ्ने हो,’ उनले भने । उनी आफूलाई मान्छेसँग भेटघाट तथा कुराकानी गर्न मन पर्ने बताउँछन् । ‘हाउ इज दि डाक्टर्स थिंक,’ ‘मेडिकल कम्प्लिकेसन’ लगायतका किताबहरू उनी बढी पढ्छन् । अरूको अनुभवबाट पनि धेरै विषयहरू सिक्न सकिने उनी बताउँछन् । अध्ययन कति आवश्यक ? एउटा डाक्टरका लागि अध्ययन कति आवश्यक छ होला ? जवाफमा उनले भने, ‘डाक्टरलाई मात्रै होइन, हरेक क्षेत्रको मान्छेलाई अध्ययन आवश्यक छ, सबैले पढ्नैपर्छ, सबै कुरा अनुभवबाट मात्रै सिकिँदैन, अध्ययनबाट धेरै कुरा सिकिन्छ ।’ उनी पढ्ने विषय अनुसन्धानसँग जोडिएकोले सोही अनुसन्धानका आधारमा बिरामीको उपचारको निर्णय हुने बताउँछन् । २७ वर्षअघि उनले अर्थाेपेडिक पढे । २७ वर्ष अगाडिको अर्थोपेडिक्सलाई मात्र आधार मान्ने हो भने राम्रो डाक्टर भइँदैन । हरेक दिनको अपडेटले अहिलेको अर्थोपेडिक्समा आफूलाई माथि राख्न सकिएको उनी बताउँछन् । ‘म अब केही गर्दिनँ भनेर बस्नुहुन्छ भने त्यो दिन पढाइ छोड्नुपर्छ । तर, म यो काम गर्छु भनेको दिनसम्म पढ्नैपर्छ, पढाइ भन्दा अर्को विकल्प म देख्दिनँ,’ उनले भने । सपनाले दिएको त्यो सफलता डाक्टर पाण्डे दिनमै १५ वटासम्म अप्रेसन गरेको उनीसँग अनुभव छ । अहिले पनि उनी दैनिक दुई÷तीन जनाको अप्रेसन गर्छन् । अप्रेसन आफैंमा एउटा गम्भीर र जटिल विषय हो । मान्छेको मासु काटेर पुनः सिलाउनु असामान्य काम हो । कुनै माया, ममता, डर र त्रासको प्रवाह नगरी अप्रेसन गर्ने डाक्टर आफैंमा महान हुन् । दिनभर अप्रेसन गर्ने डाक्टरले राति कस्तो सपना देख्छन् होला । यो जिज्ञासा हामीले डा. पाण्डेसँग राख्यौं । जवाफमा उनले भने, ‘मैले गाह्रो अप्रेसनहरू सपनामै सामाधान गरेको छु, कहिलेकाहीँ किताबमै नपाएको प्रश्नको उत्तर मैले सपनामा पाउने गरेको छु,’ उनी रोकिए । सपनामा अप्रेसन कसरी सम्भव भयो ? हाम्रो जिज्ञासामा थप उत्सुकता थपियो । उनले सुस्त गतिमा त्यो दिन स्मरण गर्दै भने, ‘म ग्राण्डी अस्पतालमा कार्यरत थिएँ, तीन खुट्टा भएको बच्चाको अप्रेसन गर्नुपर्ने थियो, बच्चाको तीन खुट्टामध्ये कुन खुट्टा निकाल्ने भन्ने अन्योलता मनमा रहिरह्यो, अन्योलताकाबीच सुतें,’ त्यो कहानी सुनाउँदै डा. पाण्डेले अगाडि बढ्दै भने, ‘राति यो खुट्टा निकाल्दा राम्रो हुन्छ, बच्चा स्वस्थ हुन्छ भन्ने सपना देखें, भोलि बिहान सपनाले निकाल भनेको खुट्टा निकालें, अप्रेसन सफल भयो ।’ त्यो अप्रेसन उनको जीवनको अविस्मरणीय पल बनेको छ । उनी थप्छन्, ‘जब कुनै विषय समाधान हुँदैन, तबसम्म दिमाखमा खेलिरहन्छ, मेरो दिमाखमा बिरामीको विषय बाहेक अन्यले खासै स्पेस पाउँदैन ।’ बिरामीप्रतिको व्यवहार भनिन्छ नि, ‘मुस्कान एउटा औषधी हो ।’ कुनैपनि मान्छेसगँ हामी मुस्कुराएर बोल्दा हामीप्रति उसको धारणा सकारात्मक हुन जान्छ । अझ यो कुरा बिरामीको हकमा बढी लागू हुन्छ । एउटा बिरामीलाई नर्स अथवा डाक्टरले गर्ने व्यवहारले धेरै फरक पार्छ । हरेकसँग पृथक क्षमता हुन्छ । त्यो क्षमता डाक्टरले पनि देखाउनु पर्ने उनको भनाइ छ । ‘म मेरो बिरामीलाई जाँच्दा मनबाट जाँच्छु, मेरो जीवनभरको मिहिनेत बिरामीका लागि हो, बिरामी बिनाको म केही पनि हैन,’ उनी भन्छन्, ‘एउटा डाक्टरले बिरामीलाई व्यापारका रुपमा मात्र हेर्नु हुँदैन, यसरी हेर्दा त्यहाँ समस्या हुन्छ ।’ डा. पाण्डेलाई बिरामीसँग भेटेर कुराकानी गर्दा धेरै खुसी लाग्छ । ‘उहाँहरूको दुःखलाई हटाएर सफल बनाउन सक्यो भने एक साता मलाई ‘रिल्याक्स फिल’ हुन्छ, यसले मलाई थप काम गर्ने हौसला दिन्छ, यही हौसलाको कारण पनि अहिलेसम्म काम गर्न सकेको छु,’ उनले भने । उनी डाक्टरको केन्द्रबिन्दु बिरामी भएको धारणा राख्छन् । ‘बिरामीले सिकाएर डाक्टरलाई डाक्टर बनाएको हो, उनीहरू बिना डाक्टर हुन गाह्रो छ, उनीहरूले आफ्नो शरीरमा अप्रेसन गर्न दिएर डाक्टरको सीप र क्षमता बढेको हो, बिरामीहरूले औषधी खाइदिएर डाक्टरले साइड इफेक्टहरू पत्ता लगाएको हो,’ उनी भन्छन्, ‘उनीहरूले दुई पैसा तिरेर आज डाक्टरले राम्रो लुगा लगाउन पाएको हो ।’ साढे दुई दशक काम गरेपछि आफ्नै अस्पताल डाक्टर चक्रराज पाण्डेको घर सिन्धुपाल्चोकको जरायटार हो । उनी ६ वर्ष गाउँमै बसे । त्यसपछि उनलाई काकाले पढाउन काठमाडौं ल्याए । उनी कीर्तिपुरमा रहेको लेबोरेटरीमा पढे । पढाइ राम्रै थियो । पढाइ राम्रो भएकै कारण उनी छात्रवृतिमा पढ्न पाए । त्यही स्कुलबाट उनले २०३६ सालमा एसएलसी पास गरे । एसएलसीमा राम्रो अंक ल्याएर उनी बोर्ड छैटौं भए । त्यसपछि उनी अमृत साइन्स कलेजमा भर्ना भए । त्यहाँ पनि उत्कृष्ट अंक ल्याएर प्लसटु पास गरे । त्यो बेला पनि उनी छात्रवृतिमै पढे । त्यसपछि नेपाल सरकारको स्कलरसीपमा उनी टर्की गए । त्यहाँ उनले मेडिकल स्कुल गरे । ७ वर्ष मेडिकल स्कुल पाँच वर्ष हाडजोर्नीको विशेषज्ञता हासिले गरे । त्यसपछि उनले हाडजोर्नीमा अर्थोपेडिक्स ट्रमाटोलोजीमा विशेषज्ञता गरे । टर्कीमा पढिसकेपछि सन् १९९७ पछि उनी नेपाल फर्के । उनी नेपाल फर्किसकेपछि काठमाडौँ नर्सिङ अस्पतालमा काम गरे । त्यसपछि बिएण्ड बी अस्पतालमा काम गरे । ११ वर्ष मेडिकियर अस्पतालमा काम गरे । त्यसपछि उनलाई लाग्यो नेपालमा मल्टिपल डिपार्टमेन्टको जरूरी छ । बिरामीलाई तत्काल रेस्क्यू गर्न सक्ने संस्था आवश्यक परेको देखेपछि उनले ग्राण्डी अस्पतालको सुरूवात गरेको बताउँछन् । दुई वर्ष अगाडिमात्र पाण्डे ग्राण्डी अस्पतालबाट निस्केका हुन् । त्यसपछि उनले नर्भिक अस्पतालमा काम गरे । नर्भिकपछि उनी फ्रन्टलाईन अस्पतालमा गए । तर, अहिले उनी आफ्नै अस्पताल अनामीवा सञ्चालन गरिरहेका छन् । ‘धेरै ठाउँको अनुभव लिइयो, जहाँ भएपनि नेपाललाई स्वास्थ्य क्षेत्रमा राम्रो गर्नुपर्छ भन्ने नै लाग्यो, करिब तीन दशक यही क्षेत्रमा बिताएँ, अब आफ्नै अस्पतालबाट सकेको सेवा दिन्छु,’ उनले भने । सकुञ्जेल काम गर्छु डाक्टर पाण्डेको इच्छा सकुञ्जेल यही क्षेत्रमा काम गर्नेछ । उनलाई जुन दिन सबैभन्दा अप्ठ्यारो अप्रेसन सफल भयो, जुनदिन बिरामीलाई भेटेर सल्लाह दिन पायो, त्यही दिन धेरै खुसी मिल्ने बताउँछन् । यस्ता किसिमका खुसीले आफुलाई ६० वर्षमा पनि तन्नेरी देखाएको उनी मुसुक्क मुस्कुराएर बताउँछन् । ‘म मान्छे बुढो देखिन्छु होला । तर, मेरो जोश जाँगर र काम गर्ने रूचि आज पनि त्यही २८ वर्षअघिको जस्तो छ, उनी थप्छन्, ‘अब बाँकी जीवनलाई कसरी गुणस्तरीयमा कन्भर्ट गर्ने, कसरी मानिसलाई प्रभावित बनाउन सक्छु भन्नेतर्फ नै रहन्छ ।’ उमेर ६० भयो भन्दैमा पाण्डे आँतिएका छैनन् । उमेर बढेसँगै अनुभवी भएको र थप मिहिनेत गर्नु पर्ने जोश आएको उनी बताउँछन् । ‘कतिपयले डाक्टर कति काम गरेको, आराम गर्नु पर्दैन भनेर प्रश्न गर्छन्, के गर्नु मेरो जीन नै यस्तै छ त्यत्तिकै बस्न मान्दैन भनेर जवाफ फर्काउन्छु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।