काठमाडौं । १८ वटा वाणिज्य बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती बैंकहरू कर्जा लगानी नगर्ने अवस्थामा पुगेका हुन् ।
सबैभन्दा बढी सीडी रेसियो भएको बैंकको रुपमा प्राइम कमर्सियल बैंक देखिएको छ । यस बैंकको ९९.६२ प्रतिशत सीडी रेसियो छ । यस्तै, नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.३५ प्रतिशत छ ।
बैंक अफ काठमाण्डूको ९४.६७ प्रतिशत, मेगाको ९४.४५ प्रतिशत, सेञ्चुरीको ९३.५७ प्रतिशत, ग्लोबल आईएमईको ९३.०७ प्रतिशत, कृषि विकासको ९२.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ९२.४३ प्रतिशत सीडी रेसियो पुगेको छ ।
यस्तै, ९१ र ९० प्रतिशतको हाराहारीमा सीडी रेसियो हुने बैंकहरूमा सनराइज बैंक, हिमालयन, एभरेष्ट, कुमारी, नबिल, नेपाल बंगलादेश, सिटिजन्स, एनएमबी, नेपाल बैंक र सिभिल बैंक छन् ।
नौ वटा बैंकले भने सीडी रेसियोको व्यवस्था कार्यान्वयन गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नौ वटा वाणिज्य बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा कम नै छ ।
सबैभन्दा कम सीडी रेसियो हुने बैंकको अग्रस्थानमा प्रभु बैंक छ । प्रभु बैंकको सीडी रेसियो ८२.११ प्रतिशत छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको ८२.६९ प्रतिशत, एनआईसी एसियाको ८६.१८ प्रतिशत, सानिमाको ८७.२२ प्रतिशत, लक्ष्मीको ८७.२४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८८.१७ प्रतिशत, माछापुच्छ्रेको ८९.१३ प्रतिशत, एनसीसीको ८९.१४ प्रतिशत र सिद्धार्थ बैंकको ८९.७८ प्रतिशत सीडी रेसियो छ ।

बैंकहरूले आगामी असारसम्म सीडी रेसियो ९० प्रतिशतभित्र पुर्याउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको थियो ।
अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत नाघेकोले कर्जा दिन सक्ने अवस्थामा बैंकहरू नरहेको ग्लोबल आईएमई बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन् । उनले अहिले ठूलो कर्जाभन्दा पनि स–सानो घरायसी कामको लागि मात्रै बैंकहरूले कर्जा लगानी गरिरहेकाे बताए ।
‘नेपाल राष्ट्र बैंकले सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेसँगै बैंकहरू असारसम्म ९० प्रतिशतभित्र पुर्याउने कसरतमा छन्, अहिले अधिकांशको सो सीमा नाघेकोले पनि कर्जा दिन सक्ने अवस्था छैन, स–सानो घरायसी कर्जा गइरहेको छ, ठूलो कर्जा ठप्प छ,’ उनले भने ।
उनी अब जेठ असारमा अवस्था सहज हुन सक्ने धारणा राख्छन् । असारमा सरकारले पुँजीगत खर्च पनि बढाउने भएकोले बजारमा पैसा आउन सक्ने भएकोले पनि बैंकिङ प्रणालीमा पनि केही सहजता आउन सक्ने उनको भनाइ छ ।