काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा र जलविद्युत् क्षेत्रको सेयरमा उनको ठूलो लगानी रहेको छ । वि.सं. २०१६ पुस २४ काठमाडौंको झोसेमा जन्मिएका अग्रवाल अहिले ६२ वर्षका भए । हट्टाकट्टा देखिने उनको जीवनशैली सामान्य छ । उनी बिहान एक घण्टा मर्निङ वाक गर्छन् । दैनिक केही मात्रामा रक्सी पिउँछन् । खानपान ननभेज हो । नेपालको सन्दर्भमा एउटा सामान्य मान्छेभन्दा व्यापारीलाई बढी रोग लागेको देखिन्छ ।
अग्रवाल पनि यसलाई स्वीकार्छन् । ४५ देखि ५० वर्षभन्दा माथिका अधिकांश व्यापारीलाई ब्लड प्रेसर छ । त्यस्तै, अधिकांशमा मुटुको समस्या छ । उनलाई पनि यहि समस्या छ र दैनिक औषधि सेवन गर्छन् । मारवाडी समुदायका अग्रवालको परिवार राजस्थानबाट काठमाडौंको झोसे आएका हुन् । र, बिजनेस यात्रा पनि झोसेबाटै शुरु भएको थियो । जुन शशिकान्तको हजुरबुबाले शुरु गरेका हुन् । अग्रवालको परिवार काठमाडौंमा बस्दै आएको करिब १२० वर्ष भइसकेको छ ।
व्यापारिक पृष्ठभूमिको उनको परिवारले कपडाको व्यापारबाट आफ्नो करियर शुरु गरेको हो । पहिले इन्द्रचोकमा कपडा पसल थियो । पछि झोसेमा कपडाको होलसेल पसल चलाए ।
‘मेरो हजुरबुबा (मालुराम मारवाडी/मालुसाहु) ले नेपालमा धेरै कपडाको बजार विस्तार गर्नुभएको छ, उतिबेला पनि ओखलढुङ्गा, बनेपा, धुलिखेल, टाँडी, गोरखा, दार्खु, बाह्रबिसे, लगायत विभिन्न ठाउँमा कपडा बोकेर जानुहुन्थ्यो, धेरै ठाउँमा गएर कपडा बेच्न सकाउने, उहाँको नाम मालुसाहु नै चिरपरिचत छ, जुन नामले मलाई धेरै सहयोग गरेको छ,’ स्वर्गीय हजुरबुबाको कहानी सुनाउँदै उनले भने । शशीकान्तका हजुरबुबा (मालुराम) र बुबा (शिवकुमार) को नामबाट एमएस (मालुराम शिवकुमार) ग्रुप जन्मियो । त्यहीबाट अग्रवालको परिवारले आफ्नो व्यावसायिक पहिचान बनाएको छन् ।
कपडा ट्रेडिङबाट अग्रवाल ग्रार्मेन्ट उद्योगमा लागे । शुरुमा भारतबाट आयात गर्दै आएका अग्रवालले पछि तेश्रो देशबाट कपडाको आयात गर्न थालेका थिए । ‘सन् १९७८/१९७९ ताका सबै नेपालीहरु मिलेर कोरिया र जापानबाट एउटा ठूलो पानी जहाजमा कपडा मगाइएको थियो, उक्त जहाज कम्पनी बदमास रहेछ, जसले जहाजको सामान अन्तै बेच्ने तयारी गरेछ, पछि मुद्दा हालेपछि सामान नेपाल फिर्ता ल्याउन सफल भयौं,’ विगतलाई स्मरण गर्दै उनले भने- ‘व्यापारमा बढी जोखिम देखेपछि म ट्रेण्डबाट उद्योगमा लागेँ ।’
सुरुमा उनले मोजा, कट्टु, गञ्जी, बच्चाको सुटको उत्पादन शुरु गरे । उद्योग राम्रै चल्यो । अग्रवालले राम्रै कमाए । त्यसपछि धोविघाटमा पशुपति टेस्टाइल फ्याक्ट्री चलाए । त्यसपछि उनले क्रमशः व्यापार छोड्दै गए, उद्योग थप्दै गए । सन् १९९४ मा उनले एभरेष्ट सुगर एण्ड केमिकल्स इन्ड्रस्टीज खोले ।
जुन उद्योग अहिले पनि नेपालको सबैभन्दा ठूलो चिनी उद्योगमध्ये एक हो । सिराहामा हिमालय सुगर चलाएका छन् । वीरगञ्जमा भगवती स्टिल उद्योग छ । त्यस्तै, पवन गोल्यानसँगको पार्टनरशीपमा इटहरीमा रिलायन्स स्पिनिङ मिल्स सञ्चालनमा छ । धागोमात्र बन्ने यो उद्योगबाट टर्की, जापान, दक्षिण अफ्रिका, भारत लगायतका देशहरुमा करोडौंको निर्यात हुन्छ ।
धागो बनाउनको लागि कच्चा पदार्थ अर्थात फाइबर भने भारत, चीन, इन्डोनेसिया, थाइल्याण्डलगायतका देशबाट आयात गरिने उनले बताए । ‘अहिले हामी बल व्यिरिङको मात्र व्यापार गर्छौं, संसारको सबैभन्दा ठूलो व्यिरिङ म्यानुफ्याक्चर कम्पनी स्वीडेनको एसकेएफको एजेन्ट हौं, ४० वर्षदेखि नेपालका अधिकांश कारखाना, अस्पताल, होटल लगायतका क्षेत्रलाई चाहिने ठूलो तथा सानो सबै व्यिरिङ सप्लाई गर्दै आएका छौं, अरु व्यापारमा हामी छैनौं,’ उनले भने ।

हाल अग्रवालले काठमाडौंको दुई ठाउमा होटल चलाउँदै आएका छन् । ठमेलमा फेयरफिल्ड र नक्सालमा मेरियट होटल सञ्चालन गर्दै आएका अग्रवाल अर्को नयाँ होटल सञ्चालनमा ल्याउने योजनामा छन् । उनले काठमाडौंको कमलादीमा मेरियटकै ब्राण्डको मोक्सी नामक होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो ९० कोठाको तीन तारे होटल हो । उनका छोरा गौरव अग्रवाल पनि व्यवसायमा आइसकेका छन् । गौरवले होटल बिजनेश हेरिरहेका छन् । शशीकान्तका भाई सुमित अग्रवालले होटलसँगसँगै कन्स्ट्रक्सन एक्टिभिटी, हाउँजिङ्गको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।
जग्गा बेचेर पनि समयमा तलब
चिनी उद्योगीले किसानलाई भुक्तानी नदिएको विषयले नेपालको राजनीति र उखु किसानमा ठूलो तरङ्ग पैदा गर्छ । चिनी व्यवसायीको बदनाम हुने गरेको छ । यहि विषयमा जोडिएर शशीकान्त अग्रवालको नाम र फोटा समाचारहरुमा आईरहन्छ । अग्रवाल विगत २५ वर्षदेखि चिनी उत्पादक सङ्घको अध्यक्ष हुन् ।
‘म चिनी उत्पादक सङ्घको अध्यक्ष भएकोले पत्रकारहरुले मलाई सोध्नुहुन्छ, मेरो नाम र फोटो पनि छापिन्छ, तर मैले कुनै पनि किसानको पैसा भुक्तानी बाँकी राखेको छैन’ अग्रवालले भने- ‘कोभिड महामारीको समयमा जग्गा बेचेर कर्मचारीलाई तलब खुवाएको सुनाए, अरुले व्याज तिर्न नसकेको समयमा पनि मैले किस्ता तिरेँ, अहिले यो होटललाई पैसा चाहिएको अथवा अर्को होटल बनाउनु छ भने बैङ्कहरुले मलाई आँखा चिम्लेर पैसा दिन्छन्, आर्थिक कारोबारमा मेरो रेपुटेशनलाई लिएर कसैले पनि प्रश्न गर्ने ठाउँ राखेको छैन ।’
टुरिजम ग्लामर पनि, फ्रजाइल पनि
हालसम्म दुई होटल सञ्चालनमा ल्याएका अग्रवाल थप अर्को होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । उनी होटल व्यवसायलाई फ्रजाइल व्यवसायको उपनाम दिन्छन् अग्रवाल । ‘टुरिजम एकदमै फ्रजाइल बिजनेस हो, नेपालमा जस्तै कुनै रोग फैलियो भन्ने हल्ला कसैले फैलाइदियो, काठमाडौंमा बम् पड्कियो भनेर सुनाइदिनुस्, भोलिदेखि नै क्यान्सिलेसन शुरु भइहाल्छ, त्यसैले यो बढो फ्रजाइल बिजनेस हो,’ प्रष्टाउँदै उनले भने- ‘तर यो बिजनेसको कमाइभन्दा पनि आफ्नो प्रपर्टीको एप्रिसियसनले फाइदा गर्छ ।’
साथै, यो क्षेत्रमा ग्लामर पनि मिसिएको अग्रवाल बताउँछन् । ‘होटलभन्दा पनि एभरेष्ट सुगर मिल्स, रिलायन्स मिल्समा ठूलो लगानी थियो, तर पनि कुनै पनि पत्रकार साथीबाट ती उद्योगको बारेमा सोधखोज हुँदैनथ्यो, तर होटलको बारेमा भने दैनिक कम्तिमा ५ जनाले अन्तरवार्ता लिन आउनुहुन्थ्यो, त्यसैले यो ग्लामर बिजनेस हो,’ उनले थप्दै भने- ‘मलाई अरु क्षेत्रमा आफ्नो चिनारी बनाउन ३०/४० वर्ष लाग्यो होला तर होटलमा ५ वर्षमै बन्यो ।’
व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमा हात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्ड सेटरको उपनाम दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी ।
तपाईं कति सम्पत्तिको मालिक ? हामीले प्रश्न गर्यौं । ‘जति सम्पत्ति छ प्रायः सबै मेरै नाममा छ, कतिपय कम्पनीको सेयर भाइको नाममा होला, सबै पारदर्शी नै छन्, लुकाउनु पर्ने आवश्यकता छैन र लुकाएर लुकिने पनि होइन, तर मूल्यांकन भने गरिएको छैन,’ अग्रवालले बताए । नेपालमा व्यक्तिगत सम्पत्तिको मूल्यांकन गर्ने चलन नभएर पनि आफूहरुले यसमा गृहकार्य नगरेको उनी बताउँछन् ।
एमएस ग्रुपका प्रबन्धक निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् ।
धेरै पैसा भएपछि त्यसको भ्यालुएसन गर्न नसकिने हो ? प्रतिप्रश्न गर्दै सोध्यौं । ‘त्यो पनि होला,’ उत्तर फर्काउँदै उनले भने- ‘सार्वजनिक गर्न नचाहने पनि होला, मूल्यांकन गर्न नचाहेको पनि हुन सक्छ ।’ की म यति सम्पत्तिको मालिक हुँ भन्दा समाजमा असुरक्षित भइन्छ ? हामी रोकिएनौं । ‘विल्कुल होइन, कुनै जमाना थियो होेला, तर अहिले विनोदजीले डलरमा अरबपति छु भनिराख्नु भएको छ, उहाँले हरेक वर्ष सार्वजनिक गर्नुहुन्छ, असुरक्षित हुने भए किन सार्वजनिक गर्नुहुन्थ्यो र ? चोरेर ल्याएको हो र लुकाउन ? हामीलाई नै प्रतिप्रश्न गर्दै उनले भने ।
पैसा र खुसी दुवै आर्जन
‘यो समानान्तर हो, पैसा पनि राम्रै कमाएको छु, नकमाएको भए अहिले पाँच तारे होटलको ओनर अर्थात सञ्चालक हुँन्थिन होला र कमाएपछि यसै खुसी भइहालियो, व्यापारिक यात्रामा पैसा कमाउने दौडमा लाग्दा योसँग मेरो खटपट छ, झगडा परेको छ भन्ने दिन आजसम्म कहिल्यै आएन, यसको यति तिर्नु छ, कसरी तिर्ने ? भन्ने पनि कहिल्यै भएन, ‘आई अल्वेज इन्ज्योई माई बिजनेस, सो आई अल्वेज ह्याप्पी,’ अग्रवाल भन्छन् । व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमाहात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् ।
आफूलाई ट्रेण्डसेटरको उपमा दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । जसले ग्रोथको बाटो पहिल्याउँछ र नाम कमाउन प्रेरित गर्नेमा उनी विश्वस्त छन् ।

सफल उद्यमीका आधारहरु
‘प्यासन इज भेरि की फ्याक्टर’ भन्छन् अग्रवाल । ‘नेपालमा विश्वव्यापी कोरोना भाइरस आयो, दुई वर्ष केही भएन, व्यवसाय ठप्प, त्यही पनि हामीले धैर्यता राख्यौं, होटल बन्द पनि गरेनौं, कर्मचारीलाई पनि निकालेनौं, अहिले त्यसकै विभिन्न रिवार्डहरु पाइरहेका छौं ।’
त्यसैले, कहिले पनि प्यासन लुज नगर्न उद्यमीहरुलाई सन्देश दिन्छन् उनी । यसका साथै आफ्नो लगन छाड्नु हुँदैन । गृहकार्य गर्छु भनेर लिइसकेपछि त्यसको अर्थपूर्ण अन्त्य नभएसम्म निरन्तरता दिनुपर्छ । आजको काम भोलि गर्छु भन्ने सोच्नु हुँदैन ।
स्टेकहोल्डर सन्तुष्ट, बिजनेस सक्सेस
अग्रवाल संलग्न भएका व्यवसायमा आबद्ध जो कोही हत्तपत्त बाहिरिँदैनन् । ‘व्यापार नै उसले छाडेर अर्को लाइनमा लाग्यो भने त अर्कै कुरा हो, नत्र त हामीसँग अहिलेसम्म जोडिएका व्यापारी, एशोसिएट र स्टाफहरुले छोडेको रेकर्ड छैन,’ गौरवका साथ भन्छन् अग्रवाल ।
खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुसियाली छाउँछ । यसले काम गर्न ऊर्जा थपिन्छ, आयू बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन । फ्रस्ट्रेशन नभएपछि कति कुरा आफैं ठीक हुन्छन्,’ शशिकान्त अग्रवालले भने ।
विगत ३०/४० वर्षदेखिका स्टाफहरु आफूसँगै छन् भनेर सुनाउँन पाउँदा अग्रवालको मन खुसीले प्रफुलित हुन्छ । ‘हामीले उहाँहरुको सन्तुष्टिको ख्याल राख्यौं, आवश्यकताहरुलाई हरसम्भव पुरा गर्न कोशिस ग¥यौं, तर कोहीकसैसँग सन्तुष्टि स्तर कायम नभएसम्म कोही पनि लामो समयसम्म जोडिइ रहँदैन, पूर्णरुपमा सन्तुष्ट भएरै त होला उहाँहरुले आफ्नो पुरै जीवन दिनुभएको छ, यसमा म गर्व गर्छु,’ यसलाई अर्को सक्सेसको रुपमा लिने गरेको अग्रवालले बताउँछन् ।
ठमेल र नक्सालको दुई होटलमा एमएस ग्रुपको शतप्रतिशत लगानी छ । दुई होटलमा गरी ४ सय जना स्टाफ छन् । भगवती स्टीलमा करिब ४ सय जना छन् । अन्य कर्पोरेट अफिस तथा रिटेलहरुमा गरी कूल ५० जना रहेको र हाल ८५० जना जतिले प्रत्यक्ष रुपमा रोजगार गरिरहेका एमएस ग्रुपका अध्यक्ष अग्रवाल बताउँछन् ।
भक्तपुरमा हाउजिङ बनाउँदै
एमएस ग्रुपले पछिल्लो ५/७ वर्ष केही काम नगरेको अध्यक्ष अग्रवाल बताउँछन् । ‘जग्गा महङ्गो भएर किन्ने आट पनि गरिएन, पछि कोभिड आयो,’ उनले भने- ‘अब थिमी बजारैमा २/३ सय फ्याल्ट बन्दै छ, भक्तपुरको ताथली भन्ने ठाउँमा ५० रोपनीमा एउटा प्रोजेक्ट बनाउँदै छौं, जसमध्ये आधा जग्गामा प्लटिङ गरेर बेच्छौं र बाँकीमा अपार्टमेन्ट बनाउँछौं ।’
देश बनाउन व्यवसायीको भूमिका
अग्रवालका अनुसार देश बनाउन व्यापारीको कुनै अलग भूमिका हुनै पर्दैन । ‘यदि मैले राष्ट्रमा लगानी गरेँ भने त्यसले राष्ट्रको रोजगारी, बिजुली खपत लगायत देशमा सम्पत्ति सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । सरकारले समय सापेक्ष पोलिसी बनाउनु पर्छ । कुन बेला कुन पोलिसीमा के हेरफेर गर्ने हो भनेर अध्ययन गरेर समय हिसावले गराउनु पर्छ । ‘कानून अर्थात सविधान त परिवर्तन गराउनु पर्ने हुन्छ भने पोलिसी त के हो र ?’ अग्रवाल बताउँछन् ।
पोलिसी लविङमा अग्रवालको बिजनेस कमिटीले धेरै प्रयास गरिरहेको छ । तर राम्रो प्रभाव छोड्न सकेको छैन । ‘हामीले ठूला विज्ञहरु हायर गरेर यस्तो चाहियो भन्छौं, कलेक्टिभ लविङ गर्ने तीन चारवटा सङ्घ संस्था छन्, कमन इन्ट्रेष्ट भए पनि सेम भ्वाइस छैन, त्यसैले पनि सरकारले त्यति सिरियस्ली नलिएको होला,’ चिन्तित हुँदै अग्रवालले भने । 
अब व्यापारको ड्राइभिङ सिटमा नबस्ने
६२ वर्ष भएका अग्रवाल अब बिजनेसमा सक्रिय नहुने बताउँछन् । ‘थप व्यापारिक सङ्घर्ष गर्दिनँ, सन्यास पनि लिन्न, तर अबको समय व्यापारको ड्राइभिङ सिटमा बस्दिनँ, छोरा भाइहरुलाई गाइड गर्छु, भइराखेको कारोबारलाई अपडेट राख्ने, मोडरनाइजेशन गर्ने काम गर्छु,’ भावी योजना सुनाउँदै अग्रवालले भने । सामान्य जीवन बिताउने अग्रवाल साथीभाइहरुसँग घुलमिल हुन बढी रुचाउँछन् । ‘अबको १०/१२ वर्ष यसरी नै बित्यो भने म खुसी र भाग्यमानी हुनेछु,’ उनले भने ।
‘जीवनको प्राथमिकता नै खुसी हो, खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुशियाली छाउँछ, यसले काम गर्न उर्जा थपिन्छ, आयु बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन, फ्रस्ट्रेशन नभएपछि कति कुरा आफै ठिक हुन्छ,’ शशिकान्त अग्रवालले भने । जीवनमा मान्छेलाई कहिल्यै केही कुराको सन्तुष्टि नमिल्ने उनी बताउँछन् ।
राजनीतिको उदाहरण दिँदै उनी भन्छन्- ‘एक व्यक्ति जसले तल्लो स्तरबाट राजनीति गर्छ, गर्दा गर्दा मन्त्री बन्ला, प्रधानमन्त्री बन्ला र पनि उसको इच्छा आकांक्षा खतम हुँदैन, जुन जागेको जागै हुन्छ ।’ खासमा जीवन के रहेछ ? हामीले प्रश्न गर्यौं । ‘अरुलाई नोक्सान नपुर्याई आफ्नो कर्म गर्नु र आफ्नो लक्ष्य प्राप्त गर्न अघि बढ्नु नै जीवन हो,’ छोटोमा उनले टुङ्ग्याए । यो भन्दै गर्दा अग्रवालले आफ्ना समकालिन साथीहरुलाई सम्झिए ।
कति आफूभन्दा पछि छुटेका त कति कयौं अगाडि पुगेका । ‘यो एउटा भाग्यको खेल पनि हो र कसले कति जोखिम मोल्यो र मिहिनेत ग¥यो भन्ने पनि हुन्छ,’ उनी रोकिएनन् र भन्न थाले- ‘ जीवनले सबै मान्छेलाई एउटा मुकाममा पुर्याउँछ, त्यो मुकाममा पुगिसकेपछि जीवन कस्तो छ भन्ने बुझिन्छ, जुन मान्छेले आफूलाई सन्तोष र भाग्यशाली सम्झिन्छ त्यसको जीवन सधैँ राम्रो हुन्छ ।’
सम्बन्धित सामग्री :