जसले कारागारमै सुने आफैले जन्माएको बैंक विलयको सन्देश

<p>काठमाडौं । स्वागत र बिदाइको क्षण पृथक हुन्छ । स्वागतमा सबैले खुशी मनाउँछन् । बिदाइमा अधिकांशका आँशु बर्सिन्छन् । कतिपय निरास हुन्छन्, विगत सम्झेर भक्कानिन्छन् । बाआमाले छोरीलाई पराइको घरमा पठाउँदाको क्षणहरु तपाईंले नियाल्नु भएको छ नी ? हो, त्यही विवाहलाई एकछिन सम्झनुस् त, कति भावविहल हुन्छ त्यो माहोल । हुन त कतिपय बिदाइहरुले नयाँ [&hellip;]</p>

काठमाडौं । स्वागत र बिदाइको क्षण पृथक हुन्छ । स्वागतमा सबैले खुशी मनाउँछन् । बिदाइमा अधिकांशका आँशु बर्सिन्छन् । कतिपय निरास हुन्छन्, विगत सम्झेर भक्कानिन्छन् । बाआमाले छोरीलाई पराइको घरमा पठाउँदाको क्षणहरु तपाईंले नियाल्नु भएको छ नी ? हो, त्यही विवाहलाई एकछिन सम्झनुस् त, कति भावविहल हुन्छ त्यो माहोल । हुन त कतिपय बिदाइहरुले नयाँ सम्भावना र अवसरहरुको पनि सञ्चार गर्छन् । तर, आफ्नो अस्तित्व मेटाउँदाको बिदाइ भने धेरैलाई असहज लाग्छ ।

पछिल्लो समय बैंकहरुको मर्जरलाई पनि धेरैले विवाहको रुपमा चित्रण गर्छन् । तर, शुक्रबार एकीकृत कारोबार भएको हिमालयन र सिभिल बैंकबीच विवाह होइन, विलय भयो । सिभिल बैंक हिमालयन बैंकमा विलय भयो । ९ महिनाको लामो छलफल र अनेक विषयहरुलाई समाधान गर्दै शुक्रबार दुई बैंकबीच एकीकृत कारोबार भयो । यो एकीकृत कारोबारसँगै अब सिभिल बैंकको नाम नामेट भएको छ । ब्राण्ड सधैंका लागि सकिएको छ ।

जसले सिभिल बैंकलाई जन्माए, यो बैंकलाई एउटा ब्राण्डका रुपमा स्थापित गर्ने योजना बुने, ती व्यक्ति नै सिभिल बैंकको विलयमा भौतिक रुपमा उपस्थित हुन सकेनन् । अर्थात् सिभिल बैंक हिमालयन बैंकमा विलय भएको सन्देश तिनले सञ्चार माध्यमबाट सुने ।

२०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने लहर थियो । त्यो लहर सुरु भएको एक दशक नबित्दै राष्ट्र बैंकले मर्जरको अवधारणा अघि सार्यो । दुई दशक नबित्दै मर्जरको लहरको सुरु भइसकेको छ । बैंक स्थापनाको लहरमा बैंक स्थापना गर्ने रहर पलायो व्यवसायी इच्छाराज तामाङलाई पनि । एक प्रतिष्ठित रियलस्टेट व्यवसायी । हाउजिङमा एकपछि अर्को सफलता । त्यही सफलताले इच्छाराजलाई पनि बैंक खोल्ने इच्छा जाग्यो ।

सुरुमा उनले रियलस्टेटमा मात्रै लगानी गर्ने बैंक स्थापना गर्ने प्रस्ताव लिएर राष्ट्र बैंक पुगे । राष्ट्र बैंकले उनको त्यो प्रस्ताव अस्वीकार गर्यो । पछि अन्य बैंक सरह नै स्थापना हुने भनेपछि राष्ट्र बैंकले वाणिज्य बैंकको लाइसेन्स दियो । त्यसबेला सिभिल समूहलाई नपत्याउने कोही थिएनन् । र, इच्छाराजकै सक्रियतामा वि.सं. २०६७ सालमा स्थापना भयो सिभिल बैंक ।

इच्छाराजकै अध्यक्षतामा १४८ जना मिलेर कान्छो सिभिल बैंक स्थापना भयो । त्यतिखेर सञ्चालकमा प्रकाश पायल, अम्बिर बोगटी, जुनी गुरुङ, त्रिमीर महर्जन थिए । सीईओ किशोर महर्जन बने । सुरुमा बैंकको पुँजी १ अर्ब ६० करोड रुपैयाँ थियो । हाउजिङ तथा रियलस्टेटमा सफल व्यवसायीका रुपमा परिचित इच्छाराजको प्रवेश बैंकिङ इन्ड्रष्टीमा भएपछि धेरैले उनी बैंकिङमा पनि सफल हुन्छन् भन्ने अनुमान नगरेका होइनन् ।

तर, नियामक राष्ट्र बैंकसँग ट्युनिङ नमिल्दा उनले सोचे जस्तो बैंक सिभिललाई बनाउन सकेनन् । एकताका सफल उदाहरणीय व्यवसायीका रुपमा प्रोफाइल बनाएका इच्छाराज दिनहुँ खस्किँदै गए । व्यापार व्यवसाय चौपट बन्यो । आफैले खोलेका संस्थाहरु एकपछि अर्कोमा संकट उत्पन्न हुन थाल्यो । सिभिल सहकारीका बचतकर्ताको पनि पैसा फिर्ता गर्न सकेनन् । र, उनी बचतकर्ताको पैसा ठगेको आरोपमा कारागार पलायन हुन विवश भए ।

अहिले उनी कारागारमा छन् । उनैले ठूलो संघर्ष गरेर स्थापना भएको सिभिल बैंक हिमालयनमा विलय भयो । उनी प्रत्यक्ष रुपमा एकीकृत कारोबार कार्यक्रममा सहभागी हुन सकेनन् । उनले आफैले जन्माएको संस्था सधैंका लागि विलय भएको सन्देश सञ्चार माध्यमबाट सुने ।

‘सिभिल बैंक स्थापना गर्दा इच्छाराज तामाङजीले १० वर्षमा टप टेन बैंकका रुपमा चिनाउनु पर्छ भन्नु भएको थियो, हामीले १० वर्षमा टप टेन बैंक बनाउने लक्ष्य पनि राखेको हौं तर टप टेन बैंक बन्न सकेनौं,’ इच्छाराज तामाङले विगतमा भनेका कुराहरुलाई स्मरण गर्दै संस्थापक सञ्चालक अम्बिर बोगटीले भने, ‘लक्ष्य हासिल गर्न क्रम भंग गर्नै पर्दो रहेछ ।’

सिभिल बैंक अब तत्कालीन सिभिल बैंक बनिसकेको छ । तत्कालीन सिभिल बैंकका सञ्चालक बोगटी १० वर्षमा टपटेन बैंक बन्न नसकेपनि १२ वर्षपछि छैठौं बैंकको सेयरधनी बनेकोमा खुशी व्यक्त गर्छन् । ‘हामीलाई विकास बैंकले टप्न थालिसकेका थिए, हामी कान्छो बैंक भएपनि देशको जेठो बैंकसँग जोडिएका छौं,’ बोगटी भन्छन्, ‘यो अस्तित्व नामेट होइन, सिभिल बैंकको त्याग हो ।’

शुक्रबार भएको हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार कार्यक्रममा सिभिल बैंकका सबै सञ्चालकहरु निराश देखिन्थे । कार्यक्रममा सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र शम्भुप्रसाद पन्त पनि मलिन देखिन्थे । उनीहरुलाई आफ्नो आफैले जन्माएको ब्राण्ड गुमेको पीडा थियो । तर, राष्ट्र बैंकको मर्जर नीति र प्रतिस्पर्धी बैंकसँगको प्रतिस्पर्धाकै लागि भएपनि विलय वाहेकको विकल्प सिभिलसँग थिएन ।

यो विषयको स्वीकार तत्कालीन सिभिल बैंकका अध्यक्ष पाण्डे पनि गर्छन् । पाण्डे भन्छन्, ‘कुनै पनि डिल गर्दा मेरो हैसियत के हुने भनेर अपनत्व खोज्यो भने त्यो कहिल्यै पनि पुरा हुँदैन, डिल गर्दा आफूलाई अन्तिममा राख्यो भने मात्रै सफल हुन्छ, सिभिल बैंकको व्यवस्थापन र सञ्चालक समितिले कहीँ पनि आफ्नो हिस्सा खोजेको छैन तर पनि हामी सन्तुष्ट छौं, खुशी छौं ।’

सिभिल बैंकको ब्राण्ड बैंकिङ इन्ड्रस्टीबाट गुम्दा नरमाइलो भने पक्कै लाग्छ । त्यो नरमाइलो कारागारभित्रै संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पनि नलागेको होइन । एक साताअघि सिभिल बैंकको सञ्चालक समूह तामाङलाई भेट्न कारागार पुगेको थियो । त्यो भेटघाटमा पनि तामाङले सिभिलको ब्राण्ड नै स्मरण गरेका थिए ।

‘हामीले संस्थापक अध्यक्ष र बैंकको सक्रिय सेयरधनी भएकोले पनि एक साताअघि इच्छाराजजीलाई भेट्न गएका थियौं, उहाँले प्रतिस्पर्धाका लागि मर्जर आवश्यक भएपनि सिभिल ब्राण्ड पनि जोडिनु पर्ने अर्थात् सिभिल बैंकको नाम पनि हिमालयन बैंकमा जोडिनु पर्छ भन्ने कुरा राख्नु भएको थियो तर त्यो सम्भव भएन,’ तामाङसँग भएको कुरा उद्दृत गर्दै पाण्डेले विकासन्युजसँग भने ।

Share News