नियमविपरीत धमाधम सञ्चालन हुँदैछन् क्यासिनो, नवीकरण नगरेरै बिजनेस

काठमाडौं । जुवा खेलाउन दर्ता भएका जुवा घर (क्यासिनो) ले नवीकरण दस्तुर नतिरीकनै सञ्चालन गर्ने गरेको खुलेको छ । पर्यटन विभागका अनुसार रक इन्टरनेशनलसहित एक दर्जनभन्दा बढी क्यासिनोले नवीकरण नगरिकनै क्यासिनो सञ्चालन गरिरहेका छन् ।

नवीकरण दस्तुर नतिर्ने क्यासिनोमा रक इन्टरनेशनल, ह्यापी आवर, भेन्यु क्रियसन, स्माइल क्यासिनो, सिएमजीलगायत छन् । विभागका अनुसार एक वर्षअघि (असार मसान्तसम्म) मा नवीकरण गरेकोले मात्रै क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान छ । तर रकम नतिर्ने अधिकांश क्यासिनो अदालतको आदेशमा सञ्चालन भइरहेको विभागका सूचना अधिकारी लीलाधर अवस्थीले बताए । 

ऐनअनुसार ठूला क्यासिनोले इजाजत दस्तुर २ करोड ५० लाख रुपैयाँ, नवीकरण दस्तुर १ करोड २५ लाख रुपैयाँ र रोयल्टी पाँच करोड रुपैयाँसम्म तिर्नुपर्छ ।  त्यस्तै, साना क्यासिनोले इजाजत दस्तुर एक १ करोड रुपैयाँ, नवीकरण दस्तुर ५० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पर्यटन विभागका अनुसार काठमाडौंको लाजिम्पाटमा सञ्चालित रक इन्टरनेशनलले विगत ११ वर्ष (२०७० साल) देखि नवीकरण दस्तुर नतिरिकनै निर्वाध रूपमा क्यासिनो सञ्चालन गरिरहेको छ । रक इन्टरनेशनलले चार ठाउँमा क्यासिनो सञ्चालन गरिरहेको पाइएको छ ।

रक इन्टरनेशनको मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ । त्यसैले गर्दा पनि उक्त क्यासिनोले निर्वाध रूपमा नवीकरण दस्तुर नतिरिकनै क्यासिनो सञ्चालन गरिरहेको हो । क्यासिनोले विभागमा नवीकरण नगरेपनि सरकारी खातामा भने रोयल्टी जम्मा गर्ने गरेको पाइएको सूचना अधिकारी अवस्थी बताउँछन् । 

रक इन्टरनेशनलले चालु आवमा ३ करोड १६ लाख रकम सरकारी खातामा जम्मा गरेको छ । काठमाडौंमै सञ्चालित ह्याप्पी आवरले पनि २०७१ सालदेखि बिना नवीकरण चार ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएको छ । उक्त क्यासिनो पनि अदालतको अन्तरिम आदेशअनुसार नवीकरण नगरिकनै विगत ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । विभागमा नवीकरण हुन नआए पनि ह्यापी आवरले चालु आवमा २ करोड ४० लाख रुपैयाँ सरकारी खातामा रकम जम्मा गरेको पाइएको छ ।

त्यस्तै, सेन्ट्रल मिडिया प्रालिले २०७८ पछि नवीकरण नगरिकनै क्यासिनो सञ्चालन गर्दै आएको विभागले जनाएको छ । विराटनगरस्थित होटल रत्नले सञ्चालित रत्न सर्भिसेसले यो वर्षमा नवीकरण गर्न बाँकी छ । त्यसैगरी, नेपालगञ्ज होटल स्टारलाइटबाट सञ्चालित भेन्यु क्रियसनले पनि यो आवमा नवीकरण नगरी क्यासिनो सञ्चालन गरिरहेको छ । त्यस्तै, विरगञ्जमा सञ्चालित स्माइल मिनी क्यासिनोले पनि नवीकरण नगरी क्यासिनो सञ्चालन गरिरहेको छ ।

कुन क्यासिनोले कति तिरे रोयल्टी ?
    
क्यासिनो सञ्चालन गरेबापत क्यासिनो सञ्चालकहरूले पहिलो किस्ता बापत पुस मसान्तसम्ममा तिर्नुपर्ने कुल रोयल्टीको ४० प्रतिशत रकम बुझाइ सक्नुपर्छ । त्यस्तै, चैत्र मसान्तसम्ममा ३० प्रतिशत र असार मसान्तसम्ममा सबै रकम चुक्ता गर्नुपर्ने हुन्छ । कसैले पहिलो किस्ता बुझाउँदा पुरै रकम बुझाउन सकिने व्यवस्था रहेको विभागले जनाएको छ ।

चालु आव २०८१/८२ को पुस मसान्तसम्ममा सञ्चालनमा रहेका डेढ दर्जन क्यासिनोले सरकारलाई ३३ करोड रूपैयाँभन्दा बढी रोयल्टी बुझाएका छन् । पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको पुससम्ममा क्यासिनोबाट सरकारले ३२ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो क्यासिनो कम्पनीहरूले पुस मसान्तसम्ममा बुझाएको रोयल्टी रकम हो ।

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडाैंस्थित द मल्ल होटलमा सञ्चालनमा रहेको बेल्लिज नेपाल प्रालिले २ करोड रुपैयाँँ रोयल्टी सरकारलाई बुझाएको छ । एभरेष्ट हस्पिटालिटीद्वारा सञ्चालनमा रहेको डेल्टीन नेपाल प्रालि २ करोड रुपैयाँ रोयल्टी तिरेको छ । सोल्टी होटलले सञ्चालन गरेको माजोङ इन्टरनेशनल, होलट अलुुप्ट परिसरमा सञ्चालनमा रहेको बाल्डो डायनेस्टी, होटल मेचि क्राउनमा सञ्चालित भेगस रिक्रिएसन, होटल टाइगर वान परिसरमा सञ्चालनमा रहेको रोयल टाइगर क्रिएसन, तारागाउँ रिजेन्सी होटल परिसरमा सञ्चालित प्राइड इन्टरटेन्टमेन्टले २ करोड रुपैयाँको रोयल्टी दस्तुर बुझाएका छन् ।

यस बाहेक सोल्टी शिव विक्रम होटल तथा रिसोर्टमा सञ्चालित इम्पेरियल इन्टरटेन्टमेन्टले चालु आवको लागि १ करोड २५ लाख नवीकरण दस्तुर बुझाएका छन् । निर्भाना लक्जरी इन्टरनेशनलले नवीकरण दस्तुर बापत ५० लाख रुपैयाँ र रोयल्टी बापत १ करोड ५० लाख रुपैयाँ बुझाएको छ ।

पुस मसान्तसम्म बुझाएको रोयल्टी 

null

नियमविपरीत क्यासिनो सञ्चालन 

धेरै होटलमा विभागको नियमविपरीत क्यासिनो सञ्चालन हुँदै आएको छ ।  क्यासिनो नियमावली २०७० अनुसार कम्तीमा पाँच तारे होटल वा सो स्तरको डिलक्स रिसोर्टको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न पाउने सकिने व्यवस्था छ । तर आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्रै खेलाइने खेलको हकमा कम्तीमा चार तारे होटलमा सञ्चालन गर्न पाउने नियममा उल्लेख छ । तर, तारे होटल बाहेकमा पनि क्यासिनो सञ्चालन हुँदै आएको छ । 

क्यासिनो नियमावली २०७० को परिच्छेद ३ को १८ अनुसार नेपाली नागरिकलाई क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाइने उल्लेख छ । तर, क्यासिनोभित्र नेपाली नागरिकले पनि प्रवेश गर्ने खेल्ने गरेको पाइएको छ ।  

क्यासिनो सञ्चालनसँग सम्बन्धित कर्मचारी, सुरक्षा निकायका कर्मचारी, मन्त्रालय, राजश्व अनुसन्धान विभाग, उद्योग विभाग वा कम्पनी रजिस्ट्र्रारको कार्यालयले अनुगमन, अनुसन्धानको लागि खटाइएको हकमा भने यो नियम लागू हुँदैन । 

Share News