नयाँ वर्ष नजिकिँदै गर्दा चितवन र पोखराका होटलमा अकुपेन्सी बढ्यो, विदेशी पर्यटक आन्दोलनको मारमा

काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ साल सुरु हुन अब केही दिनमात्रै बाँकी छ । नयाँ सालमा काठमाडौं उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकको चहलपल हुने गरेको छ । नयाँ साल लाग्न अझै केही दिन बाँकी भएकाले पर्यटकीय स्थलमा नयाँ वर्षको चहलपल सुरु भइनसकेको व्यवसायीहरू बताउँछन् ।

तथापि अहिले पर्यटकीय सिजन भएको हुँदा पर्यटकीय स्थलमा पर्यटकको राम्रै चहलपहल छ । ती क्षेत्रहरूमा नयाँ वर्षको चहलपहल सुरु भइसकेको छ । होटहलरूमा प्रि–बुकिङ सुरु भएको व्यवसायीहरूको भनाइ छ । 

नयाँ वर्षमा उपत्यकाको कुरा गर्दा एकदिन अघिदेखि चहलपहल सुरु हुन्छ । विशेषगरी ठमेल क्षेत्र र वसन्तपुरमा पर्यटकको बढी चहलपहल हुने गर्छ । उपत्यका आसपासका क्षेत्रहरू नगरकोट, धुलिखेलमा पनि नयाँ वर्षमा पर्यटकको चहलपहल बढी हुन्छ । पर्यटकीय क्षेत्र चितवन, लुम्बिनी, बन्दिपुर, सुकुटेमा पनि उस्तैउस्तै हुन्छ ।

पर्यटकीय स्थल पोखरामा पर्यटकको चहलपहल राम्रै रहेको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ । अहिले पोखरासम्म पुग्ने बाटोको सुविधामा पनि विगतको तुलनामा सुधार भएको हुँदा यस पटक पर्यटकको आगमनमा राम्रै वृद्धि भएको उनीहरू बताउँछन् । 

पोखरा अरू बेला पनि घुम्नको लागि पर्यटकको रोजाइ बन्दै आएको छ । नयाँ वर्षलक्षित घुम्न आउने पर्यटकहरू बढेसँगै होटलहरूको अकुपेन्सीमा पनि राम्रो सुधार भएको होटल व्यवसायीहरू बताउँछन् । अहिले त्यहाँको होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म रहेको छ । होटल संघ पोखराअन्र्तगतका होटलहरुले पर्यटकलाई आकर्षित गर्नलाई होटल बुकिङमा अहिले २० प्रतिशत छुटको व्यवस्था गरेको संघका निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले ‘जाऊँ है पोखरा’ अभियानसहित विभिन्न प्याकेजहरू ल्याएको छ । संघले ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’जस्ता प्याकेजहरू पनि घोषणा गरेको निर्वतमान अध्यक्ष तुलाचनले बताए ।

नयाँ वर्षलाई लक्षित गरेर होटल संघ पोखराले आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा महोत्सव गर्दैछ ।  निवर्तमान अध्यक्ष तुलाचनका अनुसार नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने उनले बताए । यसबाहेक अन्य साना होटल तथा रेष्टुरेन्टहरुले पनि पर्यटकलाई आकर्षित गर्ने हिसाबले विभिन्न अफर सार्वजनिक गर्ने तयारीमा रहेको संघले जनाएको छ ।

चितवनको सौराहामा पर्यटकको चहलपहल बढ्दो  छ । घुम्नका लागि आन्तरिक तथा विदेशी पाहुनाको संख्या बढ्दै होटलको अकुपेन्सीमा राम्रो सुधार भएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले बताए । अध्यक्ष गंगा गिरी अहिले होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशतमा पुगेको बताउँछन् । अध्यक्ष गिरीका अनुसार अहिले होटलहरुमा प्रिबुकिङ सुरु भइसकेको छ ।

सौराहामा विशेषगरी विदेशीहरु ट्रेकिङको समयमा बढ्ने हुँदा त्यो बेला होटलको अकुपेन्सी पनि बढ्ने उनले बताए । विदेशीहरू ट्रेकिङको लागि आउने समयमा यहाँको होटलमा अकुपेन्सी बढ्न मद्दत पुग्ने उनको भनाइ छ । 

अहिले बुटवलको बाटोमा सुधार भएको कारण पर्यटकको संख्या बढ्न थालेको अध्यक्ष गिरी बताउँछन् । साथै रक्सोल क्षेत्रबाट आउने भारतीय पर्यटकको संख्यामा उल्लेखीय वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार चाइनिज र आन्तरिक पर्यटकको आगमन राम्रो भएकोले अहिले चितवनका धेरै होटलहरु भरिभराउ रहेको छ ।

होटल संघ सौराहाले नयाँ वर्षलाइ लक्षित गरेर रुम रेटमा विशेष छुट दिएको छ । अहिले संघअन्तर्गतका होटलहरुले न्यूनतम ५५ सय पर्ने रुमलाई ४५ सयमा दिन थालेको छ । होटलहरूले यति प्रतिशत छुट भनेर घोषणा नगरेपनि केही न केही छुट होटलहरुले दिएको अध्यक्ष गिरीले बताए । सौरहामा नयाँ वर्ष लक्षित गरेर दुई÷तीनवटा कार्यक्रम हुँदैछन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) ले नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दैछन् । रेवानले ३१ र १ गते सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको छ । अध्यक्ष गिरीले भने, ‘हामीले सांस्कृतिक थारुको झाँकी प्रर्दशन गर्दैछौं । चितवन थारु बस्ती र संस्कृतिको बाहुल्यता रहेको हुनाले त्यसकै प्रमोसनको लागि थारु खानालाई अगाडि सार्ने जमर्को गरेका छौं ।’

बर्दियामा छैन चहलपहल 

नयाँ वर्ष सुरु हुनैलाग्दा पर्यटकीय स्थल बर्दियामा भने कुनै चहलपहल नभएको क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए । तथापि त्यहाँका होटल व्यवसायीहरूले नयाँ वर्षलक्षित कार्यक्रम, प्याकेज ल्याउने तयारी भने गरिरहेका छन् । 

अध्यक्ष चौधरीका अनुसार काठमाडौं, चितवन, पोखराजस्ता ठाउँबाट पर्यटक आउनको लागि गाडीको यात्रा निकै कठिनाइ भएकोले नयाँ वर्षलाई भनेर बाह्य पर्यटक निकै नै कम आउने गरेका छन् । त्यसमाथि अहिले देशका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनले विश्वमा राम्रो सन्देश प्रवाह हुन नसक्दा विदेशी पर्यटकको संख्यामा कमी आएको उनले बताए ।

गाडीबाट २५÷२६ घण्टा  यात्रा गर्नुपर्ने, हवाइबाट यात्रा गर्न प्लेन टिकट महँगो हुँदा नयाँ वर्षमा टाढाबाट पर्यटक आउन नखोज्ने भएकाले बर्दियामा कुनै चहलपहल बढ्न नसकेको उनको भनाइ छ । अहिलेको अवस्थामाा होटल व्यवसायीहरू पनि नयाँ वर्ष आयो भनेर खासै उत्साहित नभएको उनले सुनाए । बर्दियाले यो वर्ष ‘भिजिट बर्दिया’ घोषणा गरेको छ । यसले पनि पर्यटक संख्या वृद्धिमा प्रभाव पार्न नसकेको अध्यक्ष चौधरीको बुझाइ छ । 

त्यस्तै, उनले खर्च गर्ने युवाहरू बाहिर हुँदा, टाढाको यात्रा गरेर पर्यटक आउन नखोज्ने, स्थानीय आफ्नै काममा व्यस्त हुँदा अहिलेको अवस्थामा चहलपहल बढ्न नसकेको सुनाए । 

अध्यक्ष चौधरीले भने, ‘अहिले तुलनात्मक रूपमा बर्दियामा पर्यटक घटेको छ । किनकि बाटोघाटो सजिलो छैन । कनेक्टिभिटीमा सुधार हुन सकेको छैन । लगानीकर्ताहरू उत्साहित हुनुपर्ने अवस्था अहिले छैन ।’ 

भारतीय पर्यटक भित्रिने सीमा नाकामा बस्ने नेपाली कर्मचारीले अनावश्यक दुःख दिने, अनुचित पैसा माग्ने गरेको गुनासो आउने गरेको हुँदा पर्यटकको संख्या झन् घट्न पुगेको उनको भनाइ छ । 

पर्यटकीय क्षेत्र भैरहवामा पनि पर्यटकको खासै चहलपहल नभएको क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले बताए । उनका अनुसार होटल बुकिङ पनि खासै छैन । उनले होटल बुकिङ खुलेपनि नयाँ वर्षको एक/दुई दिन अगाडि मात्रै बुकिङ बढ्ने सुनाए । 

अहिलेको अवस्थामा होटलको अकुपाइड २५ देखि ३० प्रतिशतको हाराहारीमा रहेको उनले बताए । अहिले पर्यटकीय सिजन हुँदा पहिलेभन्दा होटलको अकुपेन्सी बढे पनि सन्तोषजनक नभएको गुनासो उनको छ । नयाँ वर्षमा होटलको अकुपेन्सी ६० प्रतिशत बढ्न सक्ने अनुमान उनले गरे ।

अध्यक्ष श्रेष्ठका अनुसार नयाँ वर्षमा होटलहरूले होटल बुकिङमा २० प्रतिशतसम्म छुट दिने गरेका छन् । अहिले चहलपहल नभए पनि नयाँ वर्षको एकदिन अघिदेखि भने बुकिङ बढ्नेमा उनी ढुक्क छन् । नयाँ वर्षको अवसरमा होटल तथा रेस्टुरेन्ट संघले स्ट्रीट फुड फेस्टिभलको आयोजना गर्दैछ ।

Share News