काठमाडौं । युरोपेली आयोग (ईयू) र चीनले बिजुली सवारी साधनहरूमा लगाइएको शुल्कको सट्टामा न्यूनतम मूल्य निर्धारणको सम्भावनाबारे छलफल गर्ने सहमति गरेको ईयूका प्रवक्ताले बताएका छन् ।
प्रवक्ताका अनुसार ईयूका व्यापार आयुक्त मार्काेस सेफकोभिकले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग कुराकानी गरेका थिए र दुबै पक्ष न्यूनतम मूल्य निर्धारणको सम्भावनाबारे छलफल गर्न सहमत भएका थिए ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा वार्ता तुरुन्तै सुरु हुने जनाएको छ ।
सेफकोभिकले यसअघि कुनै पनि न्यूनतम मूल्य निर्धारण ईयूले लगाएको शुल्क जत्तिकै प्रभावकारी र कार्यान्वयनयोग्य हुनुपर्ने बताएका थिए ।
ईयूले अघिल्लो पटक गरेको न्यूनतम मूल्य सम्झौता समान प्रकृतिका वस्तुहरू (जस्तैः कच्चा पदार्थ) मा केन्द्रित भएको थियो, सवारीसाधनजस्ता जटिल उत्पादनहरूमा होइन । आयोगले भनेको छ कि एउटै न्यूनतम मूल्यले अनुदानका कारण भएको क्षतिलाई पर्याप्त रूपमा सम्बोधन गर्न सक्दैन ।
ईयूले गत अक्टोबरमा चीनमा बनेका इलेक्ट्रिक सवारीमा ४५.३ प्रतिशतसम्मको शुल्क बढाएको थियो । तर ब्रसेल्स र बेइजिङले आयातित कारहरूका लागि करहरू हटाउने विचार अघि सारेका छन् ।
युरोपेली आयोगले चीनसँग शुल्कको विकल्पमा वार्ता जारी राख्न इच्छुक रहेको बताएको छ । यसमा बीवाईडीद्वारा निर्मित गाडीहरूमा १७.०, जीलीमा १८.८, र एसएआईसीमा ३५.३ प्रतिशत अतिरिक्त शुल्क समावेश छन्– जुन ईयूको १० प्रतिशत मानक सवारी आयात शुल्कबाहेक थपिएका थिए ।
यो लामो समयदेखिको व्यापार विवादलाई समाधान गर्नका लागि हुने सम्भावित सम्झौताले फ्रेन्च कन्कको व्यापारलाई पनि प्रभावित बनाएको छ, किनभने बेइजिङले प्रतिशोधस्वरूप फ्रेन्च ब्रान्डीमा शुल्क लगाएको थियो । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईयू र चीनजस्ता निकट व्यापार साझेदारहरूसँग व्यापार युद्ध थालेका छन् ।
बेइजिङले फ्रेन्च कन्कमा प्रतिबन्ध लगाएपछि हेनेसी, पर्नाेड रिकार्डजस्ता विश्वका प्रमुख ब्रान्डी उत्पादकहरूको बिक्री चीनमा घटेको छ– जुन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र ठूलो बजार हो ।
जर्मन अटो उद्योग संघले ईयू र चीनबीच भएको वार्तालाई स्वागत गर्दै ती शुल्कहरूलाई ’गल्ती’ भनेको छ र वार्तामार्फत समाधानको माग गरेको छ ।
जर्मन कार निर्माता कम्पनीहरूले गत वर्ष आफ्नो एक तिहाइ बिक्री चीनमा गरेका थिए । तिनीहरूले यी शुल्कहरूको विरोध गरेका छन् किनभने चीन अमेरिकापछिको दोस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो ।
२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने
साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा