बढी खराब कर्जा भएका बैंक राष्ट्र बैंकको सुक्ष्म निगरानीमा, यी हुन् एनपीएल बढ्नुका कारण

काठमाडौं । तीलकराज पाण्डेय नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त हुँदा भनेका थिए, ‘बैंकको एनपीएल उच्च छ, त्यसलाई कम गर्नेछु, रिकभरी हुन सकिरहेको छैन, कर्जा असुलीमा जोड दिन्छु ।’ विसं २०८० पुसमा सीईओमा नियुक्त हुँदा नेपाल बैंकको खराब कर्जा ३.८४ प्रतिशत थियो । आक्रामक नाफा वृद्धि गरेका सीईओ पाण्डेयले बैंकको खराब कर्जा भने घटाउन सकेनन् । चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म बैंकको खराब कर्जा ५.४५ प्रतिशत पुगेको छ । 

सीईओ पाण्डेयजस्तै बैंकरहरूले खराब कर्जा घटाउन रिकभरीमा जोड दिएको भएपनि त्यसको नतिजा भने देखिएको छैन । चालु आवको ९ महिनाको तथ्याङ्क अनुसार बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८२ प्रतिशत पुगेको छ । जबकि गत आवको सोही अवधिमा औसत एनपीएल ३.६ प्रतिशत थियो ।

सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे केही वर्षदेखि अर्थतन्त्र दबाबमा रहेको र उद्योगी व्यवसायी तनावमा भएका कारण खराब कर्जा बढेको बताउँछन् । साथै अर्थतन्त्र चलायमान हुने गरी खर्च पनि नहुँदा समस्या आएको उनको भनाइ छ । 

‘लगानीकर्ताहरूको मनोबल घट्दैछ । देशको जनसंख्या विदेश पलायन भइरहेको छ । जसले देशभित्र माग बढ्न सकेको छैन । सरकारकातर्फबाट धेरै खर्च होला, विकासका गतिविधि बढ्लान, व्यक्तिहरूले घर वा कम्प्लेक्स बनाउलान् भनेर स्टिल, छड, सिमेन्ट उद्योग सञ्चालनमा आए । तर, त्यो अनुसारको माग बढ्न सकेन,’ उनले भने, ‘क्षमता प्रयोगमा नआइसकेपछि तनाव हुन्छ । जब उद्योग व्यवसाय तनावमा हुन्छन् आम्दानी पनि घट्छ । त्यसपछि ऋण तिर्ने क्षमतामा ह्रास आउँछ ।’

उनका अनुसार अर्थतन्त्र पुनः चलायमान भएपछि नगद प्रवाह वृद्धि हुने र ऋण भुक्तानीपश्चात् बैंकको एनपीएल घट्दै जानेछ । पछिल्ला केही सूचकहरू सकारात्मक रहेकाले पुरानै अवस्थामा फर्किने संकेत गरेको उनको भनाइ छ । 

बैंकिङ विज्ञ अम्बिर बोगटी उद्योग व्यवसायमा समस्या नै खराब कर्जा बढ्नुको मुख्य कारण भएको बताउँछन् । साथै खपत गर्ने जनसंख्या विदेश पलायन भएपछि उद्योग व्यापारमा समस्या आएको उनको भनाइ छ । उद्योगी व्यवसायीको ब्यालेन्ससिट बिग्रिएपछि त्यसको प्रभाव बैंकको ब्यालेन्ससिटमा परेको उनले बताए । 

‘कोरोना महामारीसँगै रूस-यूक्रेन युद्ध, इजराइल हमास युद्धको पनि असर पर्यो । साथै देशबाट उपभोग गर्ने जनसंख्या बाहिर जाँदाखेरी उद्योग व्यवसायहरू धरापमा पर्न थाले । किनकी उत्पादन वस्तुहरू बिक्री नहुने समस्या आयो । सटरहरू खाली हुन थाले । यी सबै समस्याका कारण उद्योग व्यवसायमा समस्या आयो,’ उनले भने, ‘एकतिहाई जनसंख्या विदेशमा भएपछि उपभोग ह्वात्तै घट्न गयो । उद्योग व्यवसायीहरु आफू बाँच्न नसकेपछि बैंकहरूको ऋण समयमा भुक्तानी गर्न सकेनन् । कर्जा समयमा नतिरेपछि बैंकको ब्यालेन्ससिट बिग्रियो ।’ 

बैंकिङ विज्ञ बोगटीका अनुसार बैंकले आफ्नो पुँजीबाट ऋण दिएको हुँदैन । निक्षेप संकलन गरेर राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेर ऋणीलाई कर्जा दिने हो । यदि कर्जा समयमा उठ्दैन भने प्रोभिजन गर्नुपर्ने हुन्छ । बैंकहरूको त्यो प्रोभिजन बढ्दै गएपछि खराब कर्जाको सीमा पनि बढ्ने उनले स्पष्ट पारे । 

‘जबसम्म ऋणी उद्योगी व्यवसायीहरूको ब्यालेन्ससिटमा सुधार हुँदैन तबसम्म बैंक तथा वित्तीय संस्थाहरूको ब्यालेन्ससिटमा सुधार हुँदैन,’ उनले भने । 

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री विगतमा विभिन्न समस्या देखाउँदै सहज नीतिका कारण कर्जा वृद्धि भएको तर सो लगानी सदुपयोग नहुँदा खराब कर्जा वृद्धि हुन पुगेको बताउँछन् । अर्थतन्त्र सुस्त हुँदा साना व्यवसायमा आघात पुगेको उनको भनाइ छ । साथै सहकारी क्षेत्रमा देखिएको संकटले पनि खराब कर्जा बढ्न पुगेको उनको धारणा छ ।

‘कोरोना महामारीको बेलामा राष्ट्र बैंकले उदार भएर पैसा बाँड्यो । यसले उद्यम व्यवसायलाई पुर्नताजगीकरण गर्न, रोजगारी श्रृजना गर्न बल मिलोस् भन्ने थियो । किनभने धेरैले रोजगारी गुमाएका थिए त्यतिबेला । पुनर्कर्जा, पुनर्उत्थान गर्न भनेर कर्जा दिइयो । तर, सबै रकम सदुपयोग हुन सकेन,’ उनले भने, ‘सहकारी समस्यामा परे । किनकी ब्याजदर, सेवा शुल्क चर्काे भएपनि आवश्यक पर्दा नजिकको सहकारीमा जाँदा सहज रूपमा दिन्थे । व्यवहार चलेको थियो । अहिले सहकारीहरू आफै घाइते भएको हुँदा दिन सक्ने अवस्थामा छैनन् ।’ 

साथै, बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध अराजक गतिविधि, बैंकरमाथि दुर्व्यवहारदेखि कुटपिटसम्मका घटना बढाएर अराजक गतिविधि गरिरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र मनिराम ज्ञवाली जस्ता पात्रहरूले बैंकबाट लिएको ऋण मिनाहा गर्नुपर्ने र सावाँ ब्याज नै नतिर्न सर्वसाधारणलाई उक्साए । बैंकबाट लिएको ऋण नै तिर्नुनपर्ने उनीहरूको भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ ब्याज नै तिरेनन् ।  त्यसको नकारात्मक प्रभाव अहिले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको छ ।

‘सित्तैमा पाइन्छ भने ‘१२ माना चुक पनि खाए खाउँला नभए जोहो गरे राखौं पछि काम लाग्छ’ भने जस्तै अहिले एकथरि समूह बैंक वित्तीय संस्थाबाट लिएको रकम तिर्नु पर्दैन, २० लाखसम्म म मिनाहा गरिदिन्छु भनेर मान्छेहरूलाई पछि लगाएर हिँडिरहेका छन्,’ पूर्वगभर्नर क्षेत्रीले भने, ‘लाटा खुट्टो बाँठामा पर्यो’ भने जस्तै अधिकांशलाई मिनाहा भइहाल्छ की भनेर सापटि लिएर सामान झोलामा हालेर काठमाडौंमा विरोध प्रदर्शन गर्न आए । मिनाहा हुन्छ भनेपछि लिएको ऋण पनि नतिर्ने परिपाटी चल्यो । उनीहरू अठ्ठा जोक्कर सत्ता पार्ने (सत्ता परिवर्तन गर्ने)का पछि लागेर पनि हिँडिरहेका छन् ।’ 

उनका अनुसार व्यवसाय चल्न नसक्ने परिस्थितिले कतिपय सटरहरू बन्द छन् । यदि उनीहरुले ऋण लिएका छन् भने कर्जा तिर्न सकेनन् । यी सबै कारणले हामी माखे साङ्लोमा परिरहेको उनको भनाइ छ । 

पूर्वगभर्नर चिरञ्जिवी नेपाल बैंकहरूले जोखिम नहेरी जथाभावी लगानी गरेका कारण खराब ऋणको मात्रा बढेको बताउँछन् । साथै बैंकको लगानीको गलत ठाउँमा प्रयोग भएको उनको भनाइ छ । बैंकको खराब कर्जा कम हुनका लागि अर्थतन्त्र राम्रोसँग चल्नुपर्ने र चलायमान हुने बित्तिकै खराब कर्जा आफै कम हुँदै जाने उनले बताए । 

‘कोरोनाकालमा लिएको ऋण तिर्न सकेनन् । गलत ठाउँमा बैंक तथा वित्तीय संस्थाको लगानी भयो । जोखिम नहेरीकन वा जोखिम मूल्याङ्कन कम गरेर ऋण प्रवाह गरे । अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय बढ्न पाएन । व्यापार व्यवसाय घाटामा गयो । घाटामा गइसकेपछि बैंकको खराब कर्जा बढ्दै गयो,’ उनले भने ।

यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल खराब कर्जा बढी भएका बैंकहरूलाई नजिकबाट अध्ययन गरिरहेको बताउँछन् । साथै खराब कर्जा घटाउन निर्देशन समेत दिइरहेको उनको भनाइ छ । 

‘खराब कर्जा बढी भएका बैंकहरूलाई राष्ट्र बैंकले नजिकबाट हेरिरहेको छ । नीति तथा व्यवस्था अनुसार निर्देशन समेत दिइरहको छौं । सोही अनुसार पालना समेत गरिरहेका छन्,’ उनले भने, ‘एनपीएलको असर बैंकको क्यापिटलमा पर्छ । क्यापिटल कम हुने बित्तीकै लाभांश वितरण गर्न पाउँदैनन् । खराब कर्जा विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ । रणनीति बनाएर राष्ट्र बैंकलाई पेस गर्नु पर्छ ।’

Share News