‘अनधिकृत सर्भेयरले गरेको गल्ती हामीले भोग्दैछौं, ढाडस दिने कोही भएनन्’ {अन्तर्वार्ता}

बीमा व्यवसायमा सर्भेयर एक महत्वपूर्ण अंग हो । दाबी भुक्तानीमा सर्भेयरको भूमिकाबिना न बीमितले भुक्तानी पाउँछ नत बीमकले नै भुक्तानी गर्न सक्छ । सर्भेयरले घटनास्थलमा गएर क्षतिको मूल्यांकन गरेर रिर्पोट बुझाएपछि मात्रै कम्पनीले बीमितलाई भुक्तानी गर्छन् । सर्भेयरले सत्य र निष्पक्ष भएर मूल्यांकन गर्नुपर्ने हुन्छ । साथै सर्भेयरलाई पनि स्वतन्त्र र ढुक्क भएर काम गर्न ऐन कानुनमा उनीहरुको हकहित समेट्न जरुरी छ । नेपालको सन्र्दभमा सर्भेयरको हकहितको लागि ऐनमा भएका व्यवस्था, सर्भेयरका समस्या तथा चुनौती, नियामक निकायको भूमिका, बीमक कम्पनीबीचको सहकार्य र समन्वयका विषयमा विकासन्युजका लागि बबिता तामाङले बीमा सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालसँग कुराकानी गरेकी छन् । 

नेपालमा बीमा सर्भेयर क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?

बीमा सर्भेयर क्षेत्रको अवस्था नराम्रो कहिल्यै थिएन । हिजो थिएन, आज पनि छैन । यद्यपि बीमा क्षेत्रमा तीन/चार थरिका सर्भेयरहरू छन् । एक थरिका सर्भेयर जसले सबै काम छाडेर यसैलाई आफ्नो पेशा मानेर पुरै समय दिएर लागिरहेका छन् । अर्को थरि ‘पार्ट टाइम’ पेशाको रुपमा लिएर काम गरिरहेका छन् । अर्को पटके सर्भेयर जसले काम आएको खण्डमा मात्रै गर्छन् । यस्तै, भरिया सर्भेयर जसले अरूले काम दिएको अवस्थामा मात्रै गर्ने । यी विभिन्न थरिका सर्भेयरलाई निगरानी गर्ने निकाय भनेको हामीलाई काम दिने कम्पनी र दोस्रोमा नेपाल बीमा प्राधिकरण नै हो । बीमा सर्भेयरलाई प्राधिकरणको व्यवहार फरक-फरक हुनुहुँदैन, एकैथरिले हेर्नुपर्छ । बीमा सर्भेयरले कुनै गल्ती गरेको अवस्थामा एकैपटक कारबाही गर्नु हुँदैन । 

सर्भेयर पनि मान्छे नै हो, कुन कम्युटर या क्याल्कुलेटर होइन । काम गर्ने क्रममा गल्ती हुन सक्छ । त्यस्तो अवस्थामा कसैलाई सचेत गराउने, कसैलाई सम्झाउने गर्नुपर्छ । राम्रो गर्नेलाई स्याबास र दोषी छ भने सजग गराउनुपर्छ । सूचना र प्रविधिको विकाससँगै अहिले हरेक कुरा गुगलमा उपलब्ध छ । सर्भेयरलाई सम्झाउने, सचेत गराउने काम प्राधिकरणले नगर्ने हो र नभ्याउने हो भने सर्भेयरको हकहीत र संरक्षणको लागि बसेका बीमा सर्भेयर संघ छ । उहाँहरूले हामीलाई भन्दिनुपर्यो । यो सर्कुलर हो, यसमा सजगता गराउनूस्, अर्कोपल्ट गल्ती दोह¥याउनुभयो भने कारबाही हुन्छ भनेर भन्नुपर्यो । यस्तो भयो सर्भेयरले गर्ने भुल सुधार हुन सक्छ ।

बीमा सर्भेयरले सामना गरिरहेका प्रमुख चुनौतीहरू के-के हुन्, नेपालमा बीमा सर्वेक्षणको क्रममा आइपर्ने समस्याहरू के-के छन् ? 

मुख्य चुनौती भनेकै हामीलाई ढाडस दिने कोही भइदिएनन् । सर्भेयर जहिल्यै आफ्नो वर्किङ प्लेसबाटै बाहिर नै जान्छ । जहाँ उनीहरूसँग कोही हुँदैन, जुन ठाउँमा जान्छ, त्यहाँ ऊ एक्लो नै हुन्छ । कम्पनीले हामीमाथि निगरानी राख्छ, नराख्ने होइन । सर्भेयरले कहाँ के गर्दैछ, बीमितलाई कतिको सेवा दिएको छ/छैन, कहाँनिर जान/अञ्जान गल्ती गरेको छ भन्नेमा कम्पनीको निगरानी हुन्छ । तर गल्ती गरेको ठाउँमा काउन्सेलिङ गर्ने, गल्ती देखिए सुध्रिने मौका दिनेमा कम्पनीको प्राथामिकता पर्न सकेको छैन । केही कम्पनी सर्वेयरको पक्षमा भएका छन् त र अधिकांश बीमा कम्पनीले सर्भेयरको पक्षमा खडा भएर काम गरेको छैन । कम्पनीको लागि सेवाग्राही देवता हो भने त्यही देवतालाई सेवा दिन हामीलाई पुजाहारीको रूपमा खटाइएको हुन्छ । हामीले उहाँहरूलाई सन्तुष्ट बनाउनेगरी सेवा गर्नुपर्ने हुन्छ । 

बीमितलाई सन्तुष्टि बनाउन सक्ने दुईटा माध्यम छ । एउटा– जति पनि पैसा दिन सक्नुपर्यो अर्को– भुक्तानी कम आउँदा किन आयो या बढी आउँदा कसरी आयो भनेर बुझाउन सक्नुपर्यो । यो बुझाउने जिम्वेवारी पनि सर्भेयरकै हो, बुझाउनु सक्नुपर्छ । सर्भेयरले क्षतिको रिर्पोटिङ गर्ने क्रममा जे हो त्यही नै रिर्पोट गरेर पीडितलाई क्षतिपूर्ति दिलाउने हो । तर कतिपयले क्षतिभन्दा बढीको दाबी भुक्तानी मागिरहेको हुन्छ । सर्भेयरले आफ्नो मनलागी दिन नैतिकताले दिँदैन । नैतिक आचारणमा बसेर सत्यतथ्य रिर्पोट गर्ने सर्भेयरले कहिल्यै गलत गर्दैन । सर्भेयर योग्य व्यक्ति हो, जसले कुनै पनि विश्वविद्यालयबाट दीक्षित भइसकेको हुन्छ । सर्भेयर समाजमा प्रतिष्ठित पेशा पनि हो । उसले गर्ने हिसाब सही नै हुन्छ । कुनै–कुनै सर्वेयरले गल्ती गर्न सक्छ, यस्तो अवस्थामा सुध्रिएर जाने हो । किनभने सर्वेयर पेशा सिक्दै गर्ने कोर्ष हो । भर्खर सिक्दै गरेकाहरूले आफूभन्दा सिनियरसँग सोधेर गर्न सकिन्छ । 

सर्भेयरको हकहित सम्बन्धी व्यवस्था ऐनमा के-के छन् ? नियमनकारी निकायसँग सहकार्य कस्तो छ ?

मैले विसं २०५० सालतिर प्राधिकरणबाट सर्भेयरको लाइसेन्स लिएको हो । विस २०५२/५५ सालतिर तत्काालीन बीमा समितिले (हाल प्राधिकरण)मा राम्रो अभ्यास थियो ।  बीचमा प्राधिकरण सुस्तायो । राम्रा कार्यक्रम रोकिए भने केही नराम्रा काम थपिए । अहिले तीन/चार वर्षयता प्राधिकरण पुनः सक्रिय हुँदै आएको छ । अझ भन्ने हो भने अहिलेको प्राधिकरण विल्कुलै नयाँ हो । विसं २०४९ सालमा स्थापना भएको बीमा समिति वि.सं २०७९ सालमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भयो । बीमा ऐन २०७९ कायम भएसँगै बीमा समिति प्राधिकरणको रूपमा रूपान्तरण भएको हो । नयाँ ऐन २०७९ लागू भएसँगै त्यसबाट हामीलाई पर्न गएको सहज-असहज कुराहरू धेरै छन् । नयाँ नियम लागू भएपछि त्यसबाट हामीलाई पर्न गएको असहज कुराहरुलाई लिएर हामीले ५२ जना सांसदहरूलाई भेटेर छलफल गरेका थियौं । उहाँहरूमध्ये कतिले हाम्रो कुरा सुन्दिनुभयो, कतिले भएन । तर हामीले राखेका मागहरू अहिले पनि कार्यान्वयनमा आएका छैनन् ।

हामीले राखेका विभिन्न मागमध्येमा केहीमा काम भएको छ । नयाँ ऐनमा एउटा सर्भेयर एउटा पोर्टफिलियो भन्ने छ । हाम्रो माग जुन दिनबाट नियम लागू भयो त्यसपछिका सर्भेयरलाई यो नियम लागू होस् त्यसअघिका सर्भेयरलाई लागू नगराइदिनूस् भन्ने हो । अहिले इन्स्यारेन्स इन्स्युच्युट अफ नेपाल (आईआईएन) ले तालिम आह्वान गर्दा त्यो छुट दिएको छ । यही क्षेत्रमा लामो समय काम गरिसकेका सर्भेयर हरेक क्षेत्रमा अनुभवी भइसकेका हुन्छन् । त्यसलै उहाँहरुले हरेक फिल्डमा काम गर्न सक्नुहुन्छ । नयाँलाई स्पेसिलाइज्ड गर्न सकिन्छ । नयाँहरू ‘मास्टर इन वान’ भएर जान सकिन्छ । यसमा प्राधिकरणले काम सुरु गरेको छ ।

बीमामा बीमक, बीमित र बीमा अभिकर्ता परिपूरक हुन् । त्यसैले उहाँहरूको विषयमा हाम्रो पनि चासो रहन्छ । सरकारले बीमितको सहजीकरणको लागि अप्ठ्यारो नपार्ने नीति नियम तर्जुमा गर्नुपर्यो । नयाँ ऐनले बीमा अभिकर्ताको कमिसन घटाइदिएको छ । अर्कोतिर डाइरेक्ट बीमा गराउनेलाई अभिकर्तालाई भन्दा बढी कमिसन छ भनेको सुनेको छु । यसले अभिकर्तालाई बाइबास गरेर प्रत्यक्षलाई बढी प्राथमिकता दिएकै कारण अहिले बीमा सरेण्डर, दाबी भुक्तानीमा हुने लफडाजस्ता समस्या बढ्न थालेको छ । 

त्यसैले अब नियामक निकायले अभिकर्ता संघलाई तपाईंहरु काम गर्नूस् हामी अभिभावक छौं भनेर विश्वास दिलाउन सक्नुपर्छ । किनभने अभिकर्ताले बीमितलाई राम्रो बुझाएको छ भने त्यसको फाइदा हामीलाई नि हुन्छ । हामी क्षति मूल्यांकनको लागि जाँदा समस्या सिर्जना हुँदैन । यदि बुझाउनुपर्ने अवस्था आयो भने पनि उहाँहरूलाई बुझाउन सहज हुन्छ । बीमितलाई बुझाउने कुरामा प्राधिकरणको ठूलो भूमिका हुन्छ तर प्राधिकरणले गर्न सकेको छैन ।

बेलाबेला बजारमा सर्भेयरले नै कम्पनीलाई गलत रिर्पोट बुझायो भन्ने आरोप लाग्ने गरेको छ, यसबारे के भन्नुहुन्छ ?

नराम्रो गर्ने मान्छे यो क्षेत्रमा मात्रै होइन, जुनसकै क्षेत्रमा हुन्छन् । केही खराब गर्ने मान्छेले गर्दा सिंगो क्षेत्रलाई खराब भन्न मिल्दैन । सर्भेयरले गलत रिर्पोट पेश गर्ने कुरामा यो हुन सक्छ । सर्भेयरले जानाजान गरेको पनि हुन सक्छ, अञ्जानमा पनि । धेरै नयाँ साथीहरुले अञ्जानमा यस्तो गर्न सक्नुहुन्छ । उहाँहरूले सिक्ने क्रममा कहाँनिर गल्ती भयो भनेर पहिल्याउन सक्नुपर्छ । अञ्जानमा भएको हो भने यसले प्राधिकरणले सजग गराउने र सम्झाउने गर्नुपर्छ । जानजान गलत नियतले गरेको गल्तीलाई कारबाही गर्ने कि सचेत गराउने भन्ने कुरा प्राधिकरणको हो । त्यसमा प्राधिकरणले आफ्नो भूमिका निभाउनुपर्छ । 

यो क्षेत्रलाई लाइसेन्स लिएर काम गर्ने सर्भेयरले भन्दा अनधिकृत सर्भेयरले बदनाम गराइरहेको छ । जसको कुनै जवाफदेहिता छैन । ती अनधिकृत सर्भेयरले गरेको गलत कामको फिडब्याक हामीले भोगिरहेका छौं । नियामक निकायबाटै लाइसेन्स लिएको छैन तर बीमितको क्षतिको मूल्यांकन निर्धारण गर्दा यसबाट धेरै बीमित पीडित हुन पुग्यो । यसको दोष बीमितले सिधै सर्भेयरलाई देखाइदियो । हामीले गल्ती नगरिकनै बदनामी भोग्नुपय¥यो ।

बजारमा अनधिकृत सर्भेयरले काम गरिरहेको भनेर कम्पनीलाई थाहा हुँदैन ? कि जानाजान कम्पनीले नै खटाउने गरेको पाउनुभएको छ ?

प्राधिकरणबाट लाइसेन्स लिएका १२ सय हाराहारीमा बीमा सर्भेयरकै लिस्ट उपलब्ध छ । त्यसैले को–अथोराइज्ड को अनअथोराइज्ड भन्ने कुरा कम्पनीलाई थाहै नहुने कुरा हुँदैन । कतिपय कम्पनीले अनधिकृत सर्भेयरलाई मूल्यांकनको लागि नियुक्ति गर्न सक्छन् । लाइसेन्स नलिएका तर सर्भेयर गर्न सक्ने छ भने अनधिकृतले काम गर्न मिल्दैन । यो व्यवस्थामा आँच नआउनका लागि प्राधिकरणले नियामक भूमिका निभाउनुपर्यो । हामीले धेरैपटक यस विषयमा कुरा राखिसक्यौं ।

बीमितले अनधिकृत र अधिकृत सर्भेयर कसरी चिन्ने ?

बीमितलाई आफ्नो क्षतिको मूल्यांकन गर्न आउने सर्भेयर कुन अनधिकृत र कुन अधिकृत भनेर सिधै छुृट्याउन गा¥हो हुन्छ । किनभने कम्पनीबाट खटाइएको व्यक्तिबारे बीमितले प्रश्न गर्दैन । बीमितले आँखा चिम्लेर विश्वास गर्छ । चिन्ने माध्यम भनेको परिचयपत्र नै हो । यो कुरा हरेक बीमितले खोज्नुपर्यो र सर्भेयरले देखाउनुपर्यो । आफनो क्षति मूल्यांकन गर्न आउने सर्भेयरबारे बीमितले आँखा चिम्लेर विश्वास गर्नुभन्दा एक पटक परिचयपत्र हेर्नुपर्छ ताकि भोलि आफ्नो क्षतिको वास्तविक भुक्तानीमा कुनै समस्या नआओस् । प्राधिकरणले पनि यस्ता अनाधिकृत व्यक्तिबारे उजुरी गरेको अवस्थामा सहजै कारबाही गर्न पाउँछ ।

सर्भेयरले दाबी मूल्यांकन गर्दा कुन-कुन कुरामा ध्यान दिनुपर्छ ? 

सर्भेयरलाई जुन बेला कम्पनीबाट मूल्यांकन गर्न जानुपर्यो भनेर फोन आउँछ त्यतिबेलादेखि नै उसको जिम्मेवारी सुरु हुन्छ । त्यतिबेलाबाटै सर्भेयर मूल्यांकनको लागि तयार हुनुपर्छ । दाबी भुक्तानीको केस सुरु हुनेवित्तिकै सर्भेयरले बीमितसँग सम्पर्कमा रहनुपर्छ । त्यतिबेला बीमित आत्तिएको हुन्छ । तत्काल फोन गरेर सान्त्वना दिनुपर्छ, ताकि बीमितलाई आपत् पर्दा मलाई मेरो सर्भेयरले सम्झ्यो भन्ने हुन्छ । सर्भेयरले क्षति मूल्यांकन गर्दा जहिले पनि पोलिसीमा टेकेर गनुपर्छ । पोलिसीमा सबै गाइडलाइन दिएको हुँदा सर्भेयरले राम्रोसँग अध्ययन गर्नुपर्छ । बीमितलाई त्यही गएर यो–यो कागजात तयार पार्नूस् भन्दा ढिला हुन सक्छ । बरु फोनबाटै यो कुरा भन्न सकिन्छ ताकि बीमितले तयार पार्न सहज होस् । त्यहाँ सर्भेयर घटनास्थलमा गएर मूल्यांकन गर्न जानुपर्छ । सर्भेयरले घटनास्थलको सुक्ष्म अध्ययन गर्नुपर्छ । त्यतिबेला आफ्नो दिमाग चलाउनुपर्छ । त्यही चिनिने हो अधिकृत र अनधिकृत सर्भेयर । 

अधिकृत सर्भेयरले घटना हेरिसकेपछि सबै कुरा नोट गर्छ, आवश्यक अडियो, भिडियो, फोटा लिन्छ । साथै बीमितलाई ‘नियमअनुसार पाउने भुक्तानी पाइन्छ’ भनेर विश्वास दिलाउनुपर्छ । क्षतिको दाबी भुक्तानी प्रक्रिया अलि ढिलो नै हुन्छ किनभने आवश्यक कागजात जुटाउने कुरामा बीमितबाटै ढिला हुन सक्छ ।

तपाईं बीमा सर्भेयर संघमा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । संघको स्थापना, उद्देश्यबारे प्रष्ट पारिदिनूस् न ? 

यो संघ २०५९ सालमा स्थापना भएको हो । हामीले कार्यसमिति गठन ग¥यौं त्यसपछि जिल्ला प्रशासन कार्यालयमा दर्ता ग¥यौं । अहिलेसम्म चार जना अध्यक्ष भइसक्नुभएको छ । म पाँचौं अध्यक्ष भएर कार्यभार सम्हालिरहेको छु । यो मेरो दोस्रो कार्यकाल हो । हामीसँग पाँच सयभन्दा बढी सदस्यहरू छन् । हाम्रो संस्थाको आफ्नो बजेट छैन । हामीले भोलुन्टियरको रूपमा काम गर्दैै आएका छौं । हाम्रै कार्यसमिति र सदस्यहरूबाट नै यो संस्था चलिरहेको छ । साथीहरूले यहाँ आफ्नै पकेटबाट खर्च गरेर गरिरहनुभएको छ । यसरी भएन भनेर यसपालि हामीले प्राधिकरणमा बजेट प्रस्ताव गरेका छौं । तत्कालीन अध्यक्षसँग प्रस्ताव लैजाँदा हेरौंला भन्नुभयो । तर केही भएन । यो पटक भने हामीले केही आशावादी छौं । किनकि अहिलेको अध्यक्ष हामीसँग सकारात्मक नै हुनुहुन्छ ।

संस्थाको केही बजेट भयो भने हामीलाई काम गर्न पनि सहज हुन्छ । हामीले बीमा सचेतना कार्यक्रमदेखि सदस्यहरूको हक, हीत र स्तरवृद्धिको कार्यक्रम गर्न सक्छौं । अहिले बजेट नभएर हामीले गर्न सकेका छैनौं । केही गरेका छौं, तर बजेट अभावले प्रभावकारी रूपमा गर्न सकेका छैनौं । हाम्रो आफ्नै बजेट भयो भने सदस्यहरू पनि थपिँदै जानुहुनेछ र संस्थाले हामीलाई हेप्ने प्रवृत्तिमा पनि विस्तारै कम हुनेछ भन्ने लाग्छ । अहिले पनि हाम्रो संस्थाले सर्भेयरको हक हीतको लागि समय समयमा विभिन्न कार्य गर्दै आएका छौं । हामीले सबैभन्दा बढी समय त बीमा ऐनमा धेरै कुरा संशोधन हुनुपर्छ भनेर विभिन्न सरोकारवाला निकायसँग भेट्नमै खर्चियौं ।

हाम्रो अर्को प्रमुख चुनौती सर्भेयर फी हो । जुन २०७२ सालदेखि बढ्न सकेको छैन । राष्ट बैंकको मुद्रास्फीति रेट हेर्ने हो भने कहाँबाट कहाँ पुगिसक्यो । राष्ट्रिय बीमा कम्पनीले हामीले पाउने फी पनि घटाएर दिने गरेको छ । त्यसैले २ वर्षदेखि उक्त कम्पनीलाई संघमा आवद्ध साथीहरुले बाइकट नै गरेका छौं । सर्भेयर फीको विषयमा हामीले नयाँ अध्यक्षसँग कुरा राखेका थियौं । यस विषयमा पनि केही हुन्छ कि भन्ने अपेक्षा राखेका छौं । दिनको सुरुवात बिहानबाट हुन्छ । नयाँ अध्यक्षबाट केही माया देखिएको छ । आशा गरौं केही होला कि ।

नयाँ बीमा सर्भेयर बन्न चाहने युवाहरूको लागि केही सल्लाह दिनुहुन्छ ? 

नयाँ बीमा सर्भेयरको लागि चाहिने आवश्यक तालिमदेखि लिएर हरेक विषयको महसुस गरेर हामीले बीमा प्राधिकरणमा चरणबद्धरूपमा छलफल गरेका छौं । बीमा प्राधिकरणले यसको लागि कमिटी नै गठन गरेको छ । उक्त कमिटीमा प्राधिकरणका निर्देशक, कर्मचारी, बीमक संघ, अभिकर्ता संघ र सर्भेयर एशोसिएसनको सहभागिता छ । हामीले के भनेका छौं भने जति पनि सर्भेयरको लागि नयाँ एप्लिकेन्टहरू आउनुहुन्छ, उहाँहरूलाई सर्भेयर संघमा पठाइदिनूस्, संघले त्यसलाई सर्टिङ गरेपछि मात्रै प्राधिकरणले अन्तरवार्ता लिगोस् । पास भएर लाइसेन्स दिइसकेपछि पनि इन्टर्नसीप गरायोस् । 

इन्टरर्नसीप गरेपछि फिल्डमा गएर काम गर्न सहज हुन्छ । इन्टर्नसीप गरेको छैन भने त्यसलाई कसरी सर्भे गर्ने भन्ने ज्ञान हुँदैन । जसले गर्दा समस्या निम्तिन सक्छ । नयाँ साथीहरूलाई लाइसेन्स लिएपछि एकैचोटि लडाइमा नजानूस् भन्ने सुझाव दिन चाहन्छु । तालिम लिनुस् । तयारी भएर लडाइँमा जानुभयो भने तपाईँ गोली लागेर ढल्नुहुन्न, बिना तयारी जानुभयो भने पक्कै ढल्नुहुने छ । 

Share News