मदिरामा २० प्रतिशत कर बढ्ने सूचना अर्थबाटै चुहियो, विष्णुले महत र पुनको नीति उल्ट्याउँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुन अब १० दिनमात्रै बाँकी छ । तर, राजधानी काठमाडौंलगायत प्रादेशिक राजधानीका मदिरा व्यवसायीहरू यही समयमा व्यस्त छन् । मदिरा गोदामहरूमा विगतका दिनहरूको भन्दा पृथक किसिमको चहलपहल छ । विगतमा व्यापार भएन भनेर रोइकराइ गर्ने उनीहरू अहिले बजारमा रहेको मदिरा पनि स्टकमा थन्क्याइरहेका छन् । यसको एउटै कारण हो- बजेटमार्फत मदिरामा २० प्रतिशतसम्म अन्तशुल्क वृद्धि हुने सूचना । जुन सूचना बजेटअघि नै अर्थ मन्त्रालयबाटै बाहिरियो । 

अहिले यो सूचनाले मदिरा उद्योगी तथा व्यवसायी तनावमा छन् । यसअघि नै आयात गरिसकेको मदिरालाई उनीहरू स्टकमा राखिरहेका छन् । अर्थमन्त्रालयका अधिकारीले मदिरामा अधिकतम २० प्रतिशत कर बढाउने तयारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको रहेको खबर मदिरा उद्योगीलाई सुनाएपछि अहिले यो सूचना उद्योगी व्यवसायीमाझ हावासरी फैलिएको छ । 

यो सूचना नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा समक्ष पनि पुगेको छ । उनले पनि बजारमा मदिराको करवृद्धि तीन गुणाले बढाउने हल्ला आफूले पनि सुनेको जानकारी दिए । ‘हामीले मदिरामा कर घटाउनुपर्छ भनेर सुझाव दिएका छौं । तर, बजारमा कर उच्च अंकले बढाउने हल्ला सुनिएको छ,’ उनले भने । 

उनले एक हजार रुपैयाँ पर्ने रक्सीको तीन हजार रुपैयाँ पुर्याउने तयारी रहेको पनि सुनाए । ‘सरकारी तबरबाट कर बढाएर एक हजार रुपैयाँ पर्ने मदिराको मूल्य तीन हजार रुपैयाँ पुर्याउने भन्ने सुनिएको छ । बजारमा मदिराको माग नै नभएको बेला कर बढाउन आवश्यक छैन,’ उनले भने । 

एक अर्का उद्योगीले पनि कर बढ्न लागेको सूचना आफूले पनि सुनेको जानकारी दिए । ती उद्योगीका अनुसार २० प्रतिशतसम्म कर बढ्छ भन्ने सूचना अर्थमन्त्रालयकै अधिकारीले भनेको भनेर उनलाई अर्का उद्योगीले सुनाएका हुन् ।
 
‘प्रत्येक वर्ष मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढ्दै आएको छ । तर, यस वर्ष अप्रत्यासित रुपमा उच्च अंकले बढ्छ भन्ने सुनिएको छ, सो निर्णय हाम्रा लागि सह्य हुँदैन, कतिपयले यो खबरपछि स्टक नै राख्न थालेको सुनिएको छ,’ ती उद्योगीले भने । 

अहिले नगद कारोबारमा स्टक भइरहेको बुझिएको छ । विगतमा व्यवसायीहरूले बैंकबाट कर्जा लिएर स्टक नै राख्ने गरेका थिए । कतिपयले उधारोमा कारोबार गर्ने गरेका थिए । पछिल्लो समय कर्जा र उधारो कारोबार कम रहेको र नगदमा कारोबार भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

‘हामीले नबढाए राम्रो हुनेछ भनेर सुझाव दिएका छौं, भारतमा पनि कर बढेको छैन, नेपालमा एउटा सिग्नेचरको मूल्य ५ सय रुपैयाँ पर्छ भने भारतमा २ सय रुपैयाँ पर्छ, कर बढायो भने थप सरकारलाई राजस्वमा ह्रास आउन सक्छ, गैरकानुनी कारोबार बढ्न सक्छ,’ उनले भने । 

उनले कर वृद्धि भएमा नेपालमा मदिराकाे व्यवसाय ध्वस्त हुने र स्थानीय रक्सीले बजार पाउने सुनाए । उनले अर्थमन्त्रीले सीमित मान्छेको कुरा सुनेर करका दर निर्धारण गर्ने गरेको गुनासो पनि गरे ।

‘मदिरा व्यवसायीको सुझाव सरकारले सुन्दैन, सीमित मान्छेको कुरा सुनेर कर निर्धारण हुन्छ, यो बेला पैसा हुनेले स्टक राखे राम्रो हो, बजेटमार्फत कर बढ्यो भने पछि बिक्री गर्दा फाइदा नै हुन्छ,’ उनले भने । उनले मदिरा व्यवसायमा विगतको जस्तो रौनक नभएको पनि सुनाए । 

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसअघिका अर्थमन्त्री वर्षमान पुन र प्रकाशशरण महतका नीतिलाई उल्ट्याउने योजना बनाएको बुझिएको छ । पुन र महतले मदिरा व्यवसायको पछिल्लो प्रवृत्ति, करको प्रभाव र राजस्व सन्तुलनलाई बुझ्दै करमा न्यूनतम वृद्धि गरेका थिए । अत्यधिक कर वृद्धिले चोरी र पैठारी बढाउने र राजस्वमा बजार अस्थिर बनाएर राजस्वमै ह्रास आउने विश्लेषण उनीहरूको थियो ।

सोही कारण पनि महत र पुनले मदिरामा तीन प्रतिशतमात्रै अन्तशुल्क बढाउने घोषणा गरेका थिए । उनीहरूको सो योजनाले केही हदसम्म काम भने गरेको उद्योगी व्यवसायीको प्रतिक्रिया छ । राजस्वमा सो नीतिले सकारात्मक प्रभाव नै परेको व्यवसायीहरूको बुझाइ छ । 

तर, वर्तमान अर्थमन्त्री विष्णु पौडेलले भने अन्तशुल्क बढाएर राजस्व बढाउने रणनीति अघि सारेका छन् । उनको रणनीतिमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि साथ दिएका छन् । स्वास्थ्य मन्त्रालयले पनि मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव दिएको बुझिएको छ । सोही सुझावअनुसार अर्थमन्त्री पौडेलले पनि मदिरामा अन्तशुल्क बढाउने योजना अगाडि सारेका हुन् । 

उसो त केही दिनअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको मदिरा तथा सुर्तीजन्य पदार्थमा कर वृद्धिको विकल्प नरहेको धारणा सार्वजनिक भएको थियो । स्वास्थ्यमन्त्रीले अर्थमन्त्री पौडेलसँग जसरी पनि मदिरा र सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने अडान राखेका छन् । 

डा. शम्भु आचार्य संयोजक रहेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले समेत मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाएर स्वास्थ्य बीमाको स्रोत थप्नुपर्ने सुझाव दिएको छ ।  

‘विश्वका ३५ देशहरूले सुर्तीजन्य कर लगाई त्यसको निश्चित अंश सिधै स्वास्थ्यमा खर्च गर्ने व्यवस्था गरेका छन्, विश्वका १५ देशहरूले मदिरामा कर लगाई त्यसको निश्चित अंश सिधै स्वास्थ्यमा खर्च गर्ने व्यवस्था गरेका छन्, नेपालमा पनि स्वास्थ्य बीमाको स्रोत थप्न मदिरा, सुर्तीजन्य पदार्थमा विशेष कर लगाउन आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । 

सोही प्रतिवेदनलाई कार्यान्वयन गर्नका लागि स्वास्थ्यमन्त्री पौडेलले अर्थमन्त्रीसामु कर बढाउने सुझाव दिएका हुन् । अर्थमन्त्री पौडेलले पनि त्यसमा ग्रिन सिंग्नल दिएको बुझिएको छ । त्यसैको तयारीमा लाग्दा अर्थमन्त्रालयकै अधिकारीले मदिरामा २० प्रतिशत अन्तशुल्क बढाउने सूचना उद्योगी व्यवसायीसामु पुर्याएका हुन् । 

अहिले १५ युपीको मदिराको १ हजार ८६० रुपैयाँ, २५ युपी एक हजार ३९० रुपैयाँ, ३० युपीको १ हजार २९० रुपैयाँ, ४० युपीको ६५० रुपैयाँ, ५० युपीको ४९० रुपैयाँ र ७० युपीो ६० रुपैयाँ अन्तशुल्क निर्धारण गरेको छ । अब यसलाई युपीका आधारमा अधिकतम २० प्रतिशतसम्म बढाउने तयारी थालेको हो । 

मदिरा क्षेत्रमा उच्च कर वृद्धिको सूचना सार्वजनिक हुनु, त्यसका आधारमा व्यापारीहरूको मदिरा धमाधम स्टकमा राख्नु र उपभोक्ताले महँगीको मारमा पर्नु आफैमा विडम्वनाको विषय हो । यस विषयले सरकारको कर प्रशासन, बजेट निर्माण प्रक्रिया र नीति पारदर्शितामाथि प्रश्न खडा गर्ने काम गरेको छ । 

Share News