काठमाडौं । ‘बैंकको ब्याजदर घट्दा सेयर बजार उकालो लाग्छ, ब्याजदर बढ्दा घट्छ’ विगतमा लगानीकर्ताहरंले भन्दै आएको वाक्यांश हो, जतिबेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च थियो । तर, अहिले बैंकको ब्याजदर घटेर एकल अंकमा पनि न्यून बिन्दुमा झरिसकेको छ ।
साथै, नेपाल राष्ट्र बैंक सेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ । ५० लाख रुपैयाँभन्दा कम कर्जामा मात्रै १ सय प्रतिशत जोखिम भार लागू हुने भनेपनि सेयर बजारका लागि सकारात्मक पक्ष हो । बजेटमा पुँजीगत लाभकर वृद्धि हुने त्रासमा लगानीकर्ताहरू थिए ।
तर, बजेटले सेयर बजारसँग सम्बन्धित करका दरमा कुनै फेरबदल नगरी हाल कायम व्यवस्था नै यथावत राखेको छ । तरलता सहज हुँदा बैंकहरूले ८ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिन थालिसकेका छन् । जबकि विगतमा ८ प्रतिशत हाराहारीमा ब्याजदर हुँदा बजार ३२ सय अंक पुगेको थियो ।
पछिल्लो समय सेयर बजारसँग सम्बन्धित नियामकीय व्यवस्थादेखि अन्य वातावरण सहज बन्दै गएको भएपनि पुँजी बजारमा सुधारको संकेत भनेको देखिएको छैन । नियामक निकायले पूर्ण रूपमा नीतिगत सहजीकरण नगरेको भए पनि आगामी दिनमा थप लचकता अपनाउने संकेत गरेको छ । तर, त्यसको असर भने बजारमा परेको देखिँदैन । जसले पुँजी बजारमा विगतमा भइरहेका अभ्यास, मान्यता, कथनमा परिवर्तन आएको हो ? भन्ने बुझाइ पनि देखिन्छ ।
लामो समयदेखि पुँजी बजारमा आबद्ध रहेका लगानीकर्ता छोटेलाल रौनियार अचम्मित छन् । किनभने वातावरण सुधारको संकेत देखिँदा पनि बजारले लय समात्न सकेको छैन । सेयर बजारमा पछिल्लो समय ट्रेडर हाबी भएका कारण बजार उकालो लाग्न नसकेको उनको बुझाइ छ । कोरोनापछि लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो, जसमा ट्रेडर्स धेरै आए । ट्रेडर्सको संख्या बढेपछि सेयर कारोबारको संरचनामा पनि सोही अनुसारको परिवर्तन आएको उनको बुझाइ छ ।
‘खातामा सेयर भएपछि १०/२० रुपैयाँ नाफा हुँदा पनि बिक्री गर्ने चलन बढ्यो । जसले बजारलाई दीर्घकालीन बनाएन । एउटा सर्कल ट्रेडर, बदमासी गर्नेहरू बजारमा देखिए । लो क्यापिटलको कुनै कम्पनी जसको नेटवर्थ छैन तर, त्यस्ता कम्पनीको सर्कल ट्रेड गरेर सेयर मूल्य २/३ हजार पुर्याउने गर्छन्,’ उनी भन्छन्, ‘जुन गलत अभ्यास हो । बजार माग र आपूर्तिको आधारमा सञ्चालन हुने भएपनि गलत अभ्यास मौलाइरहेको छ । जसले गर्दा फण्डामेन्टल सेयर ओझेलमा परेका छन् ।’
राैनियारका अनुसार एउटा समूह बनाएर कुनै एउटा कम्पनीको सेयरमा समात्छन्, त्यो फण्डामेन्टल होस् वा नन फण्डामेन्टल । हावादारी कम्पनीलाई सर्कल ट्रेडिङ गरेर बजारमा मूल्य बढाउने अभ्यास बजारमा हाबी भएको उनको दाबी छ । जसले गर्दा बजारमा सानोतिनो सुधारको कार्यक्रम आउँदा पनि असर नै नपर्ने अवस्था बनेको उनले बताए ।
‘बजेटमा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने चर्चा थियो । तर, त्यो भएन । जुन लगानीकर्ताका लागि सकारात्मक पक्ष हो । मौद्रिक नीतिको त्रैमासिक समीक्षाले सेयर धितो कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट १ सय प्रतिशतमा झार्यो, आगामी मौद्रिक नीतिमा अझै सुधारको अपेक्षा छ,’ उनले भने, ‘तर, यी सबै सुधारको लयमा जाँदा पनि बजार बढ्न सकेको छैन । सरप्राइज हो । सबै पक्ष सकारात्मक हुँदा पनि पुँजी बजार विचित्र रुपमा अगाडि बढिरहेको छ ।’
उनका अनुसार विगतमा ब्याजदर घट्दा ८ प्रतिशत हुँदा बजार ३२ सय अंक पुगेको थियो । तर, अहिले ब्याजदर ८ प्रतिशतभन्दा कम हुँदा पनि बजार माथि जान सकेको छैन । यो अनौठो भइरहेको छ ।
नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली आईपीओ आउने प्रक्रियामा रहेका कम्पनीमा सेयर लगानीकर्ताको लगानी बढेको बताउँछन् । आईपीओ आउनुपूर्व सस्तोमा सेयर खरिद गर्ने र दोस्रो बजारमा आइसकेपछि महँगोमा बिक्री गरेर बाहिरिने परिपाटी बढेको उनको भनाइ छ ।
‘ब्याजदर न्यून बिन्दुमा पनि अझै घटिरहेको छ । तर, बजार बढ्न सकेको छैन । किनभने आईपीओको प्रक्रियामा रहेका कम्पनीमा ठूलो पैसा गएको देखिन्छ । र, आईपीओ जारी गरेपछि सूचीकृत हुने कम्पनीको सेयर मूल्य १५ सय २ हजार रुपैयाँसम्म पुग्छ । तीन वर्षपछि सेयर कन्भर्ट हुँदा पनि एउटै मूल्यमा बिक्री गर्न पाउँछन् । राम्रो मूल्यमा बिक्री गर्न पाउने माहोल देखिएको छ,’ उनले भने, ‘दोस्रो बजारका लगानीकर्ताहरू त्यतातिरै आकर्षित भएको देखिन्छ । धेरैले आफैंसँग भएको रकम अथवा बैंकबाट लिएको ऋण त्यहाँ डाइभर्ट गरेका छन् । त्यसकारण ब्याजदर घट्दा दोस्रो बजारमा छिर्नुपर्ने पैसा कम मात्रै छिरेर धेरै उता छिर्ने गरेको देखिन्छ ।’
उनका अनुसार विगतमा सूचीकृत कम्पनीको संख्या कम थियो । जसमा बैंक बीमा कम्पनीको बाहुल्यता थियो भने पछिल्लो समय म्यानुफ्याक्चरिङ र जलविद्युत कम्पनीको दबदबा बढ्दैछ । यी क्षेत्रका कम्पनीको सेयर तीन वर्षपछि लकिङ खुल्ने र लकिङ खुलेपछि सबै सेयर बिक्री गरेर प्रमोटर भाग्ने परिपाटीले पनि बजारमा असर परेको उनको भनाइ छ ।
‘उत्पादन र जलविद्युतका प्रमोटरले बिक्री गरेको रकम पनि अन्य क्षेत्रमा लगानी गर्ने गरेका छन् । उनीहरुले अन्य उद्योग वा प्रोजेक्ट चलाउन लगानी गरिरहेका छन् । त्यो रकम बजारमा नफर्किने गरेको देखिन्छ । त्यसरी पनि ठूलो पैसा बाहिरिएको छ,’ उनले भने, ‘जुन पैसा बजारमा आउनुपर्ने थियो, ब्याजदर र तरलता हुँदा पनि बजारमा आउने भन्दा अन्य क्षेत्रमा डाइभर्ट भएको देखिन्छ ।’
उनका अनुसार बजार बढ्नका लागि लगानी भित्रिनुपर्ने हुन्छ । पैसा आएपछि माग बढ्ने हो । तर, ब्याजदर, तरलता, अन्य लगानीको अवस्था सहज भएपनि यो क्षेत्रमा लगानी आउन सकेको छैन । लगानी आउन नसकेपछि कुनै पनि क्षेत्रको २/४ वटा कम्पनीको मूल्य वा माग बढाउन थोरै पैसा आए पनि पुग्ने उनको भनाइ छ । पछिल्लो समय समग्र क्षेत्र बढ्ने भन्दा पनि एक/दुईटा कम्पनी मात्रै बढी कारोबार हुने गरेका छन् ।
एलाइट क्यापिलटका कार्यकारी अध्यक्ष दिनेश आचार्य जोखिम भार कम हुँदैमा सबै नीति सहज भएको भन्न नमिल्ने बताउँछन् । कर्जा लिनका लागि सीमा तोकिएको हुँदा यसले अप्ठेरो पारेको उनको भनाइ छ । नीतिगत समस्या सबै समाधान भइसकेर पुँजी बजार उकालो लाग्न नसकेको र सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड सकारात्मक छ भन्ने विषय गलत रहेको उनको भनाइ छ ।
‘जोखिम भार १ सय प्रतिशतमा झारिएको छ तर, ५० लाखभन्दा कमका लागि मात्रै । खुट्टा बाँधेर राख्ने अनि दौडे भन्नु हुँदैन । बजारमा पुँजी परिचालन नै हुन सकिरहेको छैन । किनभने सरकार, नियामकसँग लगानीकर्ताको विश्वास छैन,’ उनले भने, ‘एउटा नीति बनाएपछि कम्तिमा पनि एक/दुई वर्ष टिक्नुपर्छ । त्यसपछि मान्छेले विश्वास गर्छन् । तर, नियामकले तीन/तीन महिनामा नीति परिवर्तन गर्ने गरेको छ ।’
उनका अनुसार छोटो समयमा नाफा खोज्नु हुँदैन दीर्घकालीन लगानी गर्न राज्यले प्रोत्साहित गर्छ । तर, तीन/तीन महिनामा नीति परिवर्तन गरेपछि लगानीकर्ताले विश्वास गर्ने वातावरण नरहेको उनको भनाइ छ । सेयर बजारप्रति नियामकको सोचाइ नै उल्टो रहेको उनले बताए ।
‘सेयर बजारप्रति नियामकको सोच उल्टो छ । नीति बनाउनेहरू आफ्नो फाइदाका लागि बनाइरहेका छन् । संसारमा नभएको नीति नेपालमा छ । व्यक्तिको नाममा लगानी गर्यो भने कसैलाई रोजगारी दिनुपर्दैन, कम्पनी दर्ता गर्नुपर्दैन, कर तिर्नुपर्दैन, भ्याटमा दर्ता गर्नुपर्दैन, अडिट गर्नुपर्दैन,’ उनले भने, ‘तर, सेयर बजारमा लगानी गर्ने संस्थालाई ३५/४० प्रतिशत कर छ । कम्पनीले सेयर बजारमा लगानी गरेवापत ४० प्रतिशत कर तिर्छ । तर, व्यक्तिको नाममा लगानी ५/७ प्रतिशत मात्रै तिरे हुन्छ ।’
एकातिर प्रोत्साहित गरेर अर्काेबाट कडाइ गर्दा बजारले लय लिन नसकेको उनको भनाइ छ । जस्तो संस्थालाई जतिपनि कर्जा लिन पाउने व्यवस्था गरेको छ । तर, ३५ प्रतिशतभन्दा बढी कर्जा तिर्नु पर्छ । यस्तै, व्यक्तिलाई कर्जामा कडाइ गरेको छ । तर, ५/७ प्रतिशत मात्रै कर तिरे पुग्छ ।
‘राज्यले संस्थाको नाममा लगानी गर्न दिनु पर्छ । किनभने संस्थाको तथ्याङ्क रेकर्डमा रहन्छ, कर तिर्छ, रोजगारी दिन्छ, राज्यको सबै नियमन भित्र बस्छ, अडिट गर्छ । त्यसैले संस्थाले तिर्ने कर पनि कम हुनुपर्छ, व्यक्तिको नाममा लगानी गर्दा कर बढी हुनुपर्छ,’ उनले भने, ‘यस्तो नीतिलाई सहज भन्न मिल्दैन । राज्य उल्टो बाटोमा छ । नियम बनाउने अधिकारीहरु आफूलाई कम कर तिर्न यस्तो नीति बनाइरहेका छन् ।’
लगानीकर्ता राजु पौडेल सेयर बजारसँग सम्बन्धित सकारात्मक समाचार आए पनि उकालो लाग्न नसकेको प्रति चिन्ता व्यक्त गर्छन् । वि.सं २०६८ देखि बजारमा आबद्ध रहेको बताउँदै ठूला लगानीकर्ताले बजारलाई चलायमान बनाउने उनको भनाइ छ ।
उनी लगानीकर्तालाई पहिलो उचालेर अहिले थचार्ने काम भएको सुनाए । उनका अनुसार बजेटमा १० प्रतिशत पुँजीगत लाभकर लगाइने भनेर लगानीकर्तालाई त्रसित बनाइयो । तर, बजेटमा पनि सो अनुसारको व्यवस्था आएन । अहिले बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) संशोधनको विषयले लगानीकर्तालाई त्रसित बनाएको र ट्रेडर हाबी हुँदा पनि बजारलाई माथि जान नदिएको उनको भनाइ छ ।
‘सबैबाट सकारात्मक समाचार आइरहेका छन् । तर, बजार उकालो लाग्न सकेको छैन । किनभने अप्रेटरले सेयर थुपार्न बाँकी रहेछ । अप्रेटरले आफ्नो भारि पुर्याउन पाइरहेका छैनन् । बैंकबाट अथाह कर्जा लिएर सेयर एक्यूमुलेसन गरेको देखिन्छ । लामो समयसम्म यसमा रहन्छ । जब उनीहरुको भारी पुग्छ तब बजार माथि जाने हो,’ उनले भने, ‘साथै पछिल्लो समय बजारमा ट्रेडरको बाहुल्यता छ, थोरै बढ्ने बित्तिकै बिक्री गर्ने ट्रेण्ड चलिरहेको छ ।’