काठमाडौं । ‘शिक्षा प्रविधिमैत्री हुनुपर्छ’ अहिले नेपालमा बहस हुँदै आइरहेको यो एउटा विषय हो । सरकारले पनि प्रविधिमैत्री शिक्षा बनाउन कम्प्युटर, ल्यापटप वितरण गर्नेदेखि लिएर विभिन्न विद्यालयमा डिजिटल बोर्डहरू समेत राखेको छ । के हामीले भनेको प्रविधिमैत्री शिक्षा यस्तै हो ? शिक्षा र प्रविधिलाई कसरी सँगै अगाडि बढाउन सकिन्छ । अहिलेको अवस्थामा नेपाल प्रविधिको क्षेत्रमा कुन स्थानमा छ ? कम्प्युटर वैज्ञानिक तथा एआई विज्ञ डा. दोभान राईसँग यही विषयवस्तुसँग सम्बन्धित रही विकासन्युजकी इन्द्रसरा खड्काले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली नागरिकमा प्रविधि पहुँचको अवस्था कस्तो छ ?
अहिले प्रायः धेरै नागरिकको पहुँचमा फोन र इन्टरनेट पुगेको छ । सामाजिक सञ्जालको प्रयोग पनि त्यहीअनुसार बढ्दै गएको छ तर कसरी प्रयोग गर्ने भन्ने धेरै अन्यौलता छ । अर्थात सही सदुपयोग हुन सकेको छैन । कसरी यसको सदुपयोग गर्ने, यस्ता प्रविधिबाट के सिक्ने भन्ने विषयमा शिक्षा पनि छैन, जनचेतना पनि छैन । यता सरकारले पनि त्यही अनुसारको गाइड गर्न सकेको छैन । समग्रमा भन्नुपर्दा पहुँच बढिरहेको छ तर प्रयोगमा कसरी ल्याउने भन्ने विषयमा चाहिँ ध्यान दिएको छैन । नम्बर बढाउने किसिमले प्रविधिका पहुँच भनियो तर सही कुरा सिकाइएन ।
शिक्षामा प्रविधिमैत्री शिक्षा हुनुपर्छ भन्ने बहस धेरै हुन्छ खासमा शिक्षा प्रविधिमा कसरी आधारित हुनुपर्छ ?
शिक्षा र प्रविधि आफैमा महत्त्वपूर्ण हुन् । समाजलाई कुन बाटोमा कसरी डोर्याउने भन्ने कुरामा दुवैको भूमिका उत्तिकै हुन्छ । प्रविधिले नयाँ कुरादेखि सहजीकरण गर्न नयाँ सम्भावना खोल्ने काम गर्छ । शिक्षा झन् पुरानो संस्था हो । हुन त एक तरिकाले प्रविधि केलाई भन्ने कुरा पनि आउँछ । मान्छेले आगोको विकास गर्यो, यो पनि त एउटा प्रविधि हो । तर हामीले अहिले जुन डिजिटल प्रविधि भन्छौं यो पनि मान्छेको दिमाग, सूचना सञ्चारसँग सम्बन्धित कुरा हो । शिक्षाले पनि गर्ने त्यही हो । प्रविधि र शिक्षालाई सघाउनुपर्ने भन्ने कुरा अहिले उठिरहेको छ र यसो भन्दैमा यसलाई एउटैमा थुपारेर राख्न पनि हुँदैन । प्रविधिको विभिन्न आयाम हुन्छ । त्यसैले शिक्षामा पनि प्रविधि जोड्न कस्तो खाले जोड्ने, कहाँ के गर्ने, कुन विद्यार्थीलाई कसरी गर्ने भन्ने कुरामा गहन तरिकाले बुझ्न आवश्यक छ ।
शिक्षामा हुनुपर्ने प्रविधि कस्तो हो ?
नेपाली शिक्षा प्रविधिको कुरा गर्दा नेपाल सरकारले आईसीटी एजुकेसन भनेर कार्यक्रम सुरु गरेको पाइन्छ । किन कापी किताबमा मात्रै सीमित हुने, कम्प्युटरबाट पढाऔं भन्ने हिसाबले सुरु गरियो । किताबमा लिमिटेसन हुन्छ । कम्प्युटर जस्तो श्रव्यदृश्य हुँदैन, जिओग्राफी, हिस्ट्री पढ्नलाई किताबको कुरा पढाएर मात्र हुँदैन । त्यो के हो ? कस्तो हुन्छ भने पढाइसँगै देखाउने बुझाउने काम पनि प्रविधिले गर्छ ।
सूचनालाई विस्तृत तरिकाले रमाइलो गरी कसरी बनाउने भन्नेमा कम्प्युटरको ठूलो भूमिका हुन्छ । किताबको पाना सीमित हुन्छ, प्रिन्ट गर्न पैसा लाग्छ, पटकपटक परिवर्तन गर्न सकिँदैन । योभन्दा कम्प्युटरबाट अथाह सूचना अनि चाँडै जानकारी लिन सकिन्छ । यसरी नेपालको सुरुवातामा शिक्षामा प्रविधि आयो भने बिस्तारै कक्षाकोठालाई पनि एन्टरएक्टिभ ( यस्तो प्रणाली, प्रक्रिया वा प्रविधिलाई जनाइन्छ जसमा प्रयोगकर्ता र प्रणालीबीच दुईतर्फी सञ्चार हुन्छ । ) बनाउन स्मार्टबोर्डको कुरा आयो । यसले शिक्षक, विद्यार्थी र कक्षाकोठामा पनि आकर्षण देखियो । अर्को कुरा नेपालमा कोभिडको समयमा इन्टरनेटमार्फत पनि कक्षा सञ्चालनमा आयो । नयाँनयाँ टुल्सहरू पनि आइरहेका हामी देख्न सक्छौं । अहिले भने एआईको पनि प्रयोग हुन थालिएको छ ।
शिक्षामा एआईको प्रयोग कसरी गर्न सकिन्छ ?
एआई भनेको वृहत प्रविधि हो । यसमा फरकफरक प्रविधि छन् । एउटा शिक्षकले कक्षाकोठाका सबै विद्यार्थीहरूलाई ध्यान दिन सकेको हुँदैन । कुनै विद्यार्थीले धेरै बुझिसकेका हुन्छन् त कसैले बुझेको हुँदैन । कसैलाई एउटै कुरामा धेरै सहयोग चाहिन्छ, कसैलाई एकैपटक भन्दा पनि भइहाल्छ । यस्तो अवस्थामा प्रविधिको साथ आवश्यक पर्छ । कम्प्युटरसँग विद्यार्थीले कुरा गर्दा विद्यार्थी कहाँ अड्केको छ, केमा सिकाउनु पर्ने, कसरी सिकाउनुपर्ने हो भन्ने कुरामा ध्यान दिन्छ । एआईको प्रयोग पढाउनदेखि होमवर्क गराउनसम्म सहज हुन्छ । एउटा शिक्षकलाई ५० जनाको होमवर्क गर्न गाह्रो हुन्छ । यसका लागि पनि एआईले अटोमेट गरिदिने कि भन्ने खालको कुरा पनि आइरहेको छ । एआईसँग विद्यार्थीले आफ्ना जिज्ञासा मेटाउनुका साथै विभिन्न वस्तुमा रुचि बढाउन पनि सक्छन् ।
एआई च्याटजीपीटीले भनेको उत्तर कति सही हुन्छ ? के विद्यार्थीले यसमा विश्वास गर्न सक्छन् ?
नेपालमा कतिपय विद्यार्थीले च्याटजीपीटीलाई गुरु मानेर पनि सिक्न सक्ने वातावरण बनेको छ । तर च्याटजीपीटी, जेमीनी एआई जति पनि अहिले आइरहेका छन् यिनीहरूको आफ्नै विशेषता छ । यो यही कामको लागि भनेर बनाएको होइन । त्यसैले सहयोग पनि गर्न सक्छ तर कहिलेकाँही सोचेको भन्दा विपरीत अर्को परिणाम पनि दिनसक्छ । यसैको भर परिहाल्नु भने हुँदैन । जता पनि बहकिन सक्छ । त्यसैले विद्यार्थीको लागि राइट गाइडेन्स आवश्यक पर्छ । यो प्रविधि प्रयोग पनि गर्नुपर्छ तर यसमा एउटा गाइड गर्ने मान्छेको आवश्यक देखिन्छ ।
नेपाली शिक्षामा एआईको प्रयोग गर्दा हामी विश्वको कुन स्थानमा छौं ?
कुनैकुनै तथ्यांक हेर्ने हो भने धेरै प्रविधि प्रयोग गर्नेमा नेपालीहरू पनि पर्छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युटुब कन्टेनमा हेर्ने हो भने हामी धेरै अगाडि छौं । यो हामी आफैले स्वस्फूर्त रूपमा चाहेर प्रयोग गरेको भयो । प्रविधिको प्रयोग एक तरिकाले व्यापक छ । तर त्यसको सही प्रयोग भएको पाइँदैन । अघि भनेको जस्तै हामीले टिकटक हेर्नलाई मात्र, युटुब हेर्नलाई मात्र होइन । हुन त यसको पनि आफ्नो भ्यालु छ । तर यसमा सूचना बाहेक हाम्रो आफ्नो नयाँ विचार, तरिका, केही कुरा सिर्जना गर्ने क्षमता अथार्त क्रिएटिभिटी, उत्पादकता अर्थात प्रडक्टिभिटीमा हामी धेरै पछाडि छौं । यसमा मैले यकिन अध्ययन त गरेको छैन तर, समग्ररुपमा हेर्दा यो पाइन्छ । गलत सूचना केही आउनेबित्तिकै पत्याइहाल्ने, त्यसैको पछाडि लाग्ने प्रवृत्ति बढ्दै गइरहेको छ ।
सही तरिकाले प्रयोग गर्न विद्यार्थी, शिक्षकले कसरी संयमतता अपनाउने ?
सरकारले गर्न खोजेको छ तर ढंग पुगेको छैन । सरकारले गर्नुपर्छ भनेर जिम्मेवारी त गराउनुपर्ने नै हो तर हरेक कारण कहिले सत्ता परिर्वतन भइराख्छ । कहिले राम्रो मान्छे सरकारमा सहभागी होलान्, कहिले सही नियत नभएकाहरू पनि सरकारमा पुग्ने हुन्छ । यस्तो अवस्थामा हामीले सरकारलाई झकझक्याइ राख्नुपर्छ तर सबैले सरकारलाई मात्र दोष देखाएर नयाँ युवा, बालबालिकाहरूको भविष्य धरापमा राख्नु भएन । यसका लागि शिक्षक, अभिभावकका संघसंस्थाहरूले सामाजिक जागरण खालको पहल गर्नुपर्ने देखिन्छ । यसो नगरिकन यो समस्या हल हुने म देख्दिनँ । सचेतनामूलक अभियान चलाउनुपर्छ । अहिले नियममात्र बनाएर कुनै एक व्यक्तिले आवाजमात्र उठाएर, माइतीघरमा मात्र आएर समस्या समाधान हुँदैन । यसको लागि ईको सिस्टममा परिवर्तन गर्नुपर्छ ।
एआईको प्रवेशसँगै हरेक क्षेत्रमा कर्मचारी कटौतीको कुराहरू पनि उत्तिकै सुनिन्छ, के शिक्षा क्षेत्रमा शिक्षकको जागिर जाने सम्भावना पनि छ ?
हामीले देख्दै आएको प्रविधि आएपछि केही मान्छेले गर्ने काम परिवर्तन हुँदै नै जाने हो । तर प्रविधि जति शक्तिशाली हुन्छ त्यति मान्छेको जागिर जाने दर पनि बढ्दै जान्छ । यसमा एआई अझ धेरै शक्तिशाली प्रविधि छ । पहिले मान्छेलाई गाह्रो लाग्ने काम मात्र गर्थ्यो भने अहिले सबै कुरा गरिदिन थालेको छ । यसमा आंशिक सत्य पनि छ । नेपालमा अझै पनि एआईको राम्रो एडप्सन भइसकेको छैन । अमेरिकातिर हेर्ने हो भने नयाँनयाँ कलेजबाट निस्केको विद्यार्थीले जागिर पाउन गाह्रो भइसकेको छ । किनभने धेरैकुरा अटोमेट भइरहेको छ । हलिउड, मिडिया लगायतका विभिन्न पेशामा धेरैजनाको जागिर गइरहेको छ । तर यो भन्दैमा शिक्षामा सजिलै जागिर नगइहाल्ला । किन भन्दा एआईले विद्यार्थीलाई पढाउने सम्भावना त राख्छ तर हामीसँग त्यस्तो खालको अवस्था छैन । विद्यार्थीले सिके पनि उसलाई गाइड गर्ने मान्छे चाहिन्छ । स्कुल भनेको सूचनामात्र होइन, चरित्र निर्माण पनि हो । समूहसँग मिलेर काम गर्न, समय व्यवस्थापन गर्न आदि लगायतका कुराहरू सिक्नुपर्ने हुन्छ । शिक्षा भनेको मान्छेलाई मान्छे बनाउने ठाउँ हो । यस्तो अवस्थामा तत्काल शिक्षकहरूको जागिर नै गइहाल्ला भने लाग्दैन । तर मोडालिटी परिर्वतन हुन सक्छ, जबको नेचर परिवर्तन हुन सक्छ । बाहिरतिर पनि उच्च शिक्षामा कलेजको औचित्य केहो त भन्ने प्रश्नहरू पनि आइरहेका छन् । यसले एक किसिमको बहस त ल्याउँछ तर मान्छे नै नचाहिने भन्ने होइन ।
नेपालको उच्च शिक्षामा एआई प्रविधिको प्रयोग कत्तिको पाउनुभएको छ ?
नेपालमा आधिकारिक रूपमा एआईको प्रयोग भइरहेको छ । संस्थाले पनि यो एआई प्रयोग गर, यो नगर भनेर छुट्याएको पनि देखेको छैन । अहिलेसम्म जति गरेको छ व्यक्ति आफैले प्रयोग गरिरहेको पाइएको छ । अहिले शिक्षक विद्यार्थीले एआईको प्रयोग गरिरहेका छन् । एक वर्ष अगाडि टियूले विद्यार्थीलाई एआई प्रयोग गर्न भनेको थियो । एआई परीक्षामा प्रयोग गर्दा कसरी गर्ने, गृहकार्यमा गर्दा कसरी गर्ने, प्रोजेक्टमा कसरी कसरी प्रयोग गर्ने भन्ने विषयमा गहिरो तरिकाले फ्रेमवर्क तयार नगरी चलाउन हुँदैन ।
पढाइको हिसाबमा स्वदेश र विदेशमा के फरक छ ?
म बाहिर पीएचडीको लागि पढ्न जाँदा स्नातक तहका विद्यार्थीलाई पढाउने अवसर पाएकी थिएँ । अमेरिका सबभन्दा सम्वृद्ध देश, नेपाल विकासोन्मुख देश, दुई देशको पढाइको कुरा गर्दा नेपालको केही कमजोर प्रणाली नै छ । यहाँ निजी क्षेत्रमा कुनैकुनै सामुदायिक विद्यालयमा पनि उदाहरणीय काम गरेको छ । तर समग्रमा भन्नु पर्दा नेपालका विद्यार्थीहरूलाई ठूलो अन्याय गरेका छौं । रिसोर्स नै नपुगेपनि जति उपलब्ध छ त्यो अनुसारको ध्यान दिएको पाइँदैन । कक्षा १० सम्म निजी शैक्षिक संस्थामा केही राम्रो प्रयास देखिएपनि उच्च शिक्षामा नेपालको स्थिति भयावह नै छ । जोसँग पैसा छ उसले ब्याचलर्स, मास्टर्सका लागि छोराछोरी बाहिर पढाउँदा यहाँ जसले बाहिर पठाउन सक्दैन उसको बच्चाहरूमात्र अध्ययन गरिरहेको पाइन्छ । बाहिरको कुरा गर्ने हो १२ सम्म सरकारले हेरेपनि माथिल्लो तहमा धनी र गरिबले पढ्ने शिक्षामा फरक नै पाइन्छ ।
अब भन्नूस् पढाउने तरीका कस्तो हुनुपर्छ त ?
त्यहाँ शिक्षकहरू धेरै मिहिनेत गर्नुपर्छ । यति गर्नुपर्छ कि म आफै शिक्षक हुँदा छक्क परेँ । विद्यार्थी भन्दा बढी मिहिनेत शिक्षकले गर्दा नतिजा पनि राम्रो आउँछ । सिस्टम हुन्छ । तर हाम्रो यहाँ यस्तो हुँदैन । शिक्षकले यहाँ मिहिनेत गरेको देखिदैन । यहाँ सबै शिक्षकहरूले आ आफ्नै तरिकाले पढाउँने गरेको पाइन्छ । यो ज्ञान पनि विद्यार्थीले राम्ररी पाएको हुँदैन । कसरी पढाउँदा यसका राम्रो प्रभाव पर्छ यसको रिसर्च पनि हुँदैन । यो विषयमा गहन तरिकाले छलफल पनि भएको पाइँदैन । यहाँ शिक्षण पेशा पनि ज्यालादारी काम जस्तो भएको छ । यसो हुँदा गुणस्तर हुँदैन । मैले यसो भनिरहदा कतिपय राम्रो काम गरिरहेका शैक्षिक संस्थाहरूले गरेको कामलाई नजरअन्दाज गरेको होइन । तर जस्तो हुनुपर्ने त्यो भएन । यसमा हामीले इँटा थप्दै जानुपर्छ । यहाँ यस्तो हुँदैन ।
नेपालमा भइरहेको प्रयास कस्तो पाउनुभयो ?
नेपालमा प्रयास नभएको होइन भएको छ । केही कलेजहरूले नयाँ केही गरौं भन्ने प्रयास छ तर यहाँ के लिमिटेसन देखे भने निजी संस्थाहरूको पनि भरपुर रिसोर्स छैन । भाडा तिर्नुपर्छ आफ्नै बनाउन खोज्नेहरूको पनि पूर्वाधारमै लगानी धेरै लाग्छ । यसले चाहेर पनि शिक्षामा राम्रो गर्न सक्दैन । सामुदायिक विद्यालयमा पूर्वाधार छ तर उसले गरिसकेको छैन । गर्न चाहनेहरूसँग पूर्वाधार छैन, पूर्वाधार भएकाहरूसँग राम्रो जनशक्ति छैन । निजीसँग जनशक्ति छ तर पूर्वाधार छैन । यो लिमिटेसनले गर्दा समस्या भएको देखिन्छ । यहाँ एउटा योजना पनि भएन अर्को दिगो हुन्छ कि हुँदैन भन्ने डर पनि छ । यहाँ कुन पेशामा म कति टिक्छु भन्ने नै यकिन छैन । सबैको ध्यान आफू कसरी टिक्ने भन्नेमा मात्र केन्द्रित भयो यसो हुँदा झन् समस्या निम्तियो ।
यो प्रवृत्तिले जुन हामीले खोजिरहेको र चाहिएको प्रविधिसहितको शिक्षामा कस्तो असर पर्छ ?
अहिले नेपालमा भइरहेका धेरै काम नतिजाका आधारमा भन्दा देखाउने आधारमा भइरहेको पाइन्छ । निजी र सरकारी संस्था मिलेर केही गरौं भन्ने विश्वासको वातावरण नभएसम्म साँच्चिकै गुणस्तरको काम गर्न सकिँदैन । शिक्षामा पनि प्रविधिसहितको शिक्षा भनियो । त्यही अनुसार डिजिटल बोर्ड पनि राखियो तर त्यहाँ के पढाउने भन्ने छैन । आवश्यक भएको ठाउँमा सामग्री छैन, सामग्री भएको ठाउँमा जनशक्ति छैन । सरकारले सामान किन्ने, सफ्टवयेर किन्ने भन्ने छ । यहाँ के कता केही तालमेल नमिलेको अवस्था छ ।
शिक्षकलाई प्रविधिमैत्री कसरी बनाउने ?
नेपालका कुनै सामुदायिक विद्यालयले राम्रो प्रयास गरेका छन् । मेरै मामाघरको एउटा जाल्पा माविले पनि राम्रो प्रयास गरेको मैले देखेकी छु । एउटा सानो विद्यालय, शिक्षकले राम्रो प्रयास गर्यो भने पनि यसको प्रभाव कम हुन्छ । यसो हुँदा उसलाई सहयोग गर्ने सघाउने पनि थाक्छ । यहाँ जति पनि प्रयास भएको छ एकजनाले अलि अलि गरेर भएको छ । प्रयासहरू छिटफुट रूपमा भए तर एकमुष्ट तरिकाले भएनन् । अब हाम्रा बच्चाहरूले अहिलेको अवस्थामा विश्वका मान्छेसँग भिड्नसक्ने चाहिँ बनाउनुपर्छ ।
नेपालमा सर्टिफिकेट एकदम सस्तो भइसक्यो । यो दिँदा पनि एक मापदण्ड हुनुपर्यो । परीक्षा दिएकै भरमा सर्टिफिकेट पाउने पनि राम्रो भएन । पढाइ केको लागि भन्ने कुरा आउँछ । कुनै पनि व्यक्ति जसले ब्याचलर्स, मास्टर्स गरिसकेको छ भने उसलाई आउनै पर्ने काम के हो ? आईटी पढ्ने विद्यार्थीले कुनै एप्लिकेशन बनाउन सक्नुपर्यो, सामाजिक विज्ञानको विद्यार्थीले एउटा विषलाई विश्लेषण गर्नसक्ने हुनुपर्यो । यस्ता खालका विविध कुराहरू हेरिनुपर्छ । अहिले सूचना प्रर्याप्त छ तर त्यसलाई मूल्यांकन गर्न सक्ने विद्यार्थी हुनुपर्छ । म उपभोक्ता मात्र होइन, म आफैले पनि केही नयाँ दिनसक्नुपर्छ भन्ने हुनुपर्छ । एउटा मास्टर्स गरेको मान्छेले अरुले गराएको काम गर्नेमात्र होइन, यसलाई यो तरिकाले गर्न सकिन्छ कि भन्नसक्ने हुनुपर्छ।
शिक्षा र प्रविधि सँगसँगै अगाडि बढाउन के गर्नुपर्छ ?
यो एक जना व्यक्ति अथवा संस्थाले गरेर मात्र हुने कुरा होइन । समष्टिगत रूपमा इकोसिस्टममा जानुपर्ने हुन्छ । यसमा अनुसन्धानको पाटो पर्छ, पूँजीको कुरा पर्छ, स्थानीय तहको कुरा आउँछ । मलाई के लाग्छ भने युवाहरू धेरै भएको, शिक्षाको लामो इतिहास नभएको, धेरै शिक्षित नभएको हाम्रो जस्तो मुलुकमा प्रविधि राम्रो पुलको रूपमा आउन सक्छ । तर प्रविधिको सही सदुपयोग गर्न सक्नुपर्छ । यसमा हाम्रो छुटिरहेको पाटो भनेको अनुसन्धान हो । शिक्षा र प्रविधिलाई समेटेर एउटा अनुसन्धान गरेर खाका मात्र बनाउन सक्यो भने पनि राम्रो गर्न सकिन्छ ।