सियोमा सफलता पाएका उद्यमी सञ्जयको कथा

काठमाडौं । १४ वर्षको कलिलो उमेरमा ननिदाएर मेसिन चलाउन नसिकेको भए, दिनरात नभनी काम नगरेको भए सञ्जय तामाङको जिन्दगी अहिले कसरी चलिरहन्थ्यो थाहा छैन । तर, उनको मिहिनेत र सीपले उनलाई उद्यमी बनाएको छ । जुन व्यवसायले उनलाई आर्थिक रूपमा सबल मात्र बनाएन आत्मसन्तुष्टि पनि दिएको छ ।  तीन वर्षदेखि काठमाडौंको बागबजारमा काजबटन व्यवसाय गरिरहेका सञ्जय कमिज, कोटमा काज बनाइदिने टाँसिदिने काम गर्छन् । 

तामाङले यो व्यवसाय सुरु गरेको करिब तीन वर्ष भयो । १० लाख लगानीमा एउटा कोठामा सुरु गरेको व्यवसायमा तीन वर्षमा फेरि ७ लाखको अर्को मेसिन थपेर अहिले तीनवटा मेसिनबाट काम गरिरहेका छन् । ‘कोठा त उही छ, ठूलो बनाउन सकिएको छैन तर, तीन वर्षमा लगानी उठेर पनि धेरै फाइदा भइसक्यो,’ उनी भन्छन्,‘ आजभोलि कोट पेन्ट लगाउनेको संख्या बढ्दो छ, सख्या बढेसँगै लुगा सिलाउनेको संख्या पनि बढ्दा काम राम्रै चलिरहेको छ ।’ 

नेपालमा कोट पेन्ट लगाउने चलन चलेको धेरै भएको छैन । राष्ट्रिय पोशाक नै दौरा-सुरुवाल भएर पनि होला अधिकांशले दौरा-सुरुवाल नै लगाउँथे । समय परिवर्तनसँगै नेपालमा पनि कोर्ट प्वाइन्ट लगाउने चलन बढ्दै गयो । संख्या बढेसँगै बजारमा माग पनि बढी भयो । पहिले जस्तो हातले मात्र काम गरेर हुने अवस्था रहेन । हातको सट्टा सबै काम मेसिनले गर्न थाल्यो ।

बजारको माग र आवश्यकताको बेला व्यवसाय सुरु गर्दा कमाइ पनि राम्रै भएको तामाङ बताउँछन् । एउटा काज बनाए र बटन टाँसिदिए बापत २० देखि २५ रुपैयाँ लाग्छ । उनी केही कमाइ भएन भन्ने दिन पनि दुई हजारदेखि तीन हजारसम्म कमाइ हुने दाबी गर्छन् । भन्छन्, ‘सिजनमा त राम्रै कमाइ हुन्छ महिनामा डेढ लाख, दुईलाख सम्म पनि पुग्छ, सिजन नभएपनि मासिक ६०/७० हजार कहीँ कतै जाँदैन ।’

सञ्जयको घर रसुवाको सदरमुकाम धुन्चे हो । सदरमुकाम नजिकै घर भए पनि न आर्थिक अवस्था राम्रो थियो, न खान-लाउन पुग्थ्यो । उनी सानै हुँदा काठमाडौं आए । घरको आर्थिक अवस्था पनि कमजोर हुँदा उनको बालापन राम्ररी बित्न पाएन । पढ्न स्कुल समेत जान पाएनन् । कहिलेकाँही साथीहरूसँग गए पनि ड्रेस कापी किताब हुँदैनथियो । उनको यस्तो अवस्था देखेपछि उनको स्कुलको एकजना शिक्षकले उनलाई काठमाडौं ल्याए ।

 ‘तिमी मसँग काठमाडौं जाने हो भने घुमाइदिन्छु भन्दै सरले ल्याएर यहाँ पुगेको हुँ,’ विगतका दिन सम्झँदै तामाङ भन्छन्, ‘यहाँ ल्याएर त मलाई बालमन्दिर राखेर पढ्नुपर्छ भन्नुभयो, सरले मेरो घरको अवस्था देखेरै ल्याउनुभयो होला,’ ‘पारिवारिक तथा आर्थिक अवस्था राम्रो नभएर मैले लगाएको झुत्रेझात्रे कपडा देखेर सायद सरलाई दया लाग्यो होला, सरले काठमाडौं पुर्याउँदा म सानै थिएँ,’ उनले आफ्नो विगत सुनाए । 

null

बालमन्दिर पुर्याउँदा

विसं २०४६ सालमा सञ्जय तामाङ  १२ वर्षका थिए । उनी शिक्षकसँगै काठमाडौं आए । काठमाडौं ल्याएर उनलाई बालमन्दिरमा बसेर पढ्न सल्लाह दिइयो । उनी पनि तयार भए । तर, गाउँको नजिकैको नाता पर्ने काकाले आफ्नो घरमा बस्न लगाए । उनको घर बालमन्दिर नजिकै थियो । उनी छिमेकी काकाको घरमा बसेर बालमन्दिर भर्ना भए । तर, उनले पढाइलाई निरन्तरता दिएनन् । 

गरिबहरूमाथि अवसर पाउँदा सम्पन्न व्यक्तिले मौका पाउँदा रहेछन् । शिक्षकले बालमन्दिरमा पढाइदिन राखेका तामाङलाई  आफ्नै घरमा राखेका काकाले पनि त्यही फाइदा उठाए । उनलाई दिउँसो स्कुल पढाउने र साँझ बिहान घरको काम गर्न लगाए । जबकि अनाथ, गरिब परिवारका बालबालिकालाई बालमन्दिरमा निःशुल्क पढ्न बस्न सुविधा थियो । सञ्जयलाई घरको काम गर्दै पढ्न मन लागेन । उनले पाँच कक्षा पास गरिसकेपछि पढाइ छोडे । पढाइ छाडेर काकाकै घरमा काम गर्दै बस्ने गर्न थाले । 

तामाङको दैनिकी यसैगरी चलिरहेको थियो । उनी १४ वर्ष पुगिसकेका थिए । उनलाई घरमा काम गरेको देख्दा काकाको घर नजिकैका छिमेकी राजु ठकुरीलाई थाहा थियो । उनी गार्मेन्टमा काम गर्थे । सञ्जयको उनीसँग बोलचाल भइरहन्थ्यो । एकदिन उनले  भने, ‘तिमी काम गर्ने हो ? एक ठाउँ काम भेटिएको छ ?’ तामाङले सहर्ष स्वीकार गरे । त्यसपछि उनले गार्मेन्टमा काम गर्न थाले । आफै कमाउन थालेपछि काकाको घर पनि छोडे । 

गार्मेन्टमा हेल्परको काम

२०४८ तिर काठमाडौंको न्युरोडमा पसलैपिच्छे गार्मेन्ट उद्योगहरू थिए । व्यवसायी नेपाली थिएनन् । तर, कामदार सबै नेपाली थिए । लुगा सिलाउनेदेखि काज बटन लगाउनेसम्मको काम गार्मेन्टले दिइरहन्थ्यो । यही मौकामा सञ्जयले पनि गार्मेन्टमा काम सुरु गरे । उनको काम हुन्थ्यो सर्टको कुन ठाउँमा टाँके घर राख्दा हुन्छ भन्दै मार्किङ गर्नुपर्ने । 

काम पाएपछि उनले रातदिन मिहिनेत गरे । त्यो बेला काम गरेवापत मासिक ९ सय रुपैयाँ पाइन्थ्यो । तर उनले यति मिहिनेत गरेकी महिनाको दुई हजार थाप्न थाले । एक/दुई वर्ष काम गरिसकेपछि उनलाई मार्कर लगाएर बस्न मात्र रुचि भएन । उनलाई मेसिन चलाउने रहर लाग्यो । दिनभरि मार्किङ लगाउने काम गरेर राति कोही नहुँदा मेसिन चलाउन सिके । 

‘दिउँसो सिक्ने समय पनि नहुने, अप्रेटरहरूले पनि नसिकाउने, राति सिक्न पाइन्छ भन्दै सुत्न नगइ सिकेको हुँ,’ तामाङ भन्छन्,‘ त्यो बेला अहिलेको जस्तो सीसी क्यामेरा पनि थिएन, राति अप्रेटरहरू सुत्न गइहाल्थे त्यो मौका छाप्दै  मेसिन चलाउन जानियो ।’ 

तामाङले मेसिन चलाउन थालिसकेपछि हेल्परबाट अप्रेटर बने । अप्रेटर बनेपछि उनको तलब पनि बढ्यो । २ हजारबाट ३५ हजार पुग्यो । कामको चापाचाप हुन थाल्यो । उनले ठेक्कामा काम गर्न थाले । विभिन्न कम्पनी अफिसको ठेक्का लिएर काम गर्थे । काम राम्रै चलिरहेको थियो । 

देशमा सशस्त्र युद्ध सुरु भयो । गार्मेन्ट साहुले कामदारको तलब बढाएनन् । त्यसपछि ट्रेड युनियनले आन्दोलन सुरु गरे । जनआन्दोलन र ट्रेड युनियनको आन्दोलनले न्युरोडका गार्मेन्ट धमाधम बन्द भए ।  त्यहीबेला उनको जागिर पनि खोसियो ।

इराकको यात्रा

तामाङले ६/७ वर्ष गार्मेन्टमा काम गरे । त्यो बेलासम्म उनी एक्ला थिएनन् । विवाह गरिसकेका थिए । छोरी पनि भइसकेकी थिइन् । जिम्मेवारी पनि थपिएको थियो । यही बेला जागिर खोसिँदा समस्या भयो । उनी विदेश जाने तयारीमा लागे । विदेशका लागि इराक रोजे । त्यहाँ उनको काम थियो वाइरिङ गर्ने । 

null

पाँच वर्ष त्यहीँ काम गरे । नेपाल र विदेशमा काम गर्दा अनुभव उनीसँग फरक छ । भन्छन्, ‘आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ हो, दुःखी बिरामी हुँदा सकिँदैन भन्न पाइन्छ । तर, विदेशमा त्यस्तो हुँदैन ।  सञ्चो नहुँदा पनि काम गर्नै पर्छ ।’ 

विदेशमा तोकिएको तलब समयमै थाप्न पाइन्छ । पैसा पनि बच्छ । तर, नेपालमा न राम्रो तलब हुन्छ न पैसा बच्छ । विदेशमा दुःख गरे अनुसार पैसा पनि हुने उनी बताउँछन् । उनी पाँच वर्ष विदेश बसेर २०७१ सालमा स्वदेश फर्किए । 
 
होटलमा गरेको लगानी डुबेपछि...

तामाङ नेपाल फर्किसक्दा पनि गार्मेन्टहरू बन्द नै थिए । उनलाई काठमाडौं यत्तिकै बस्न मन लागेन । अन्य जागिरको खोज्न न शैक्षिक योग्यता थियो न कुनै सीप । सीप भएका उद्योगहरू बन्द नै थिए । उनले अब आफ्नै व्यवसाय गर्ने योजना बनाए । यही सिलसिलामा उनको भेट एक जना होटल व्यवसायीसँग भयो ।

थोरै-थोरै लगानी गरेर पनि व्यवसाय गर्न सकिने भन्दै लगानी गरे आफू काममा सहयोग गरिदिने बतायो । उसकै कुरा विश्वास गरी उनले कालोपुलमा सञ्चालनमा रहेको होटल खरिद गर्ने योजना बनाए । 

‘मलाई व्यवसाय कसरी गर्ने भन्ने खासै आइडिया थिएन, त्यो भाइले म सहयोग गर्छु भन्दै लगानी गर्न लगायो,’ तामाङ भन्छन्, ‘मलाई लगानीका लागि उक्सायो तर, उनी १५ दिनमा घरमा काम पर्यो भन्दै गएर त्यसपछि कता गए फर्केर आएनन् ।’ 

उनकै आशामा खोलेको होटल उनै फरार भएपछि चल्न सकेन लगानी डुब्यो । त्यसको केही समयपछि २०७२ सालमा भूकम्प आयो । भएको व्यवसाय पनि भताभुंग भयो । ‘भएको पैसा पनि सकियो, व्यवसाय पनि सकियो, थाहा नभएको व्यवसायमा लगानी गर्दा पाँच वर्ष बसेर विदेशबाट ल्याएको कमाइ यसैमा डुब्यो,’ तामाङले निराश हुँदै भने । 

व्यवसाय डुबेपछि उनी त्यत्तिकै घरमा बसे । पछि एक जना चिनेको दाईले हातमा सीप भएको मान्छे किन त्यत्तिकै घरमा बसेको काम गर भन्ने सल्लाह दिए । उनले आफ्नै पसलमा काम दिए । मासिक तलब २० हजार थियो । काम राम्रो चल्दै गएको थियो । तर, उनलाई अब आफैसँग भएको सीप प्रयोग गरेर आफै काम गर्न मन लाग्यो । त्यसपछि सुरु गरे काजबटन व्यवसाय ।

अब आफ्नै व्यवसाय

अरूको काम गरिरहँदा तामाङलाई उनको छोरीले आफ्नै काम गर्न सल्लाह दिइन् । उनले पनि यसमा सहमति जनाए । पारिवारिक सल्लाहपछि २०७९ सालमा तामाङले सुरु गरे आफ्नै व्यवसाय । छोरीले पनि सहयोग गरिन् । श्रीमतीले पनि साथ दिइन् । परिवारको हौसलाले सुरु गरेको व्यवसाय सोंचेभन्दा राम्रो चलिरहेको छ । 

काम अनुसार तामाङलाई तत्काल कर्मचारीको आवश्यक थियो । तर, श्रीमतीलाई पनि काम सिकाएपछि अहिले सहज भएको छ । श्रीमतीले अकाउन्टेन्टको कामदेखि मेसिन चलाउने काम समेत गर्छिन् । ‘आफू पढेलेखेको नहुँदा हिसाबमा कमजोर पनि थिएँ, अहिले जिम्मेवारी श्रीमतीलाई सुम्पिँदा धेरै सहज भएको छ,’ उनले अनुभव सुनाए ।

 उनकी छोरी एउटा कम्पनीमा मार्केटिङको काम गर्छिन् भने छोरा कक्षा ११ मा अध्ययन गर्छन् । ‘मसँगैका पढेका साथीहरू कोही शिक्षक छन्, कोही अधिकृत छन्, तर, मलाई नपढेकोमा पछुतो छैन, उनीहरूले कमाउने तलबभन्दा बढी पैसा मैले पनि कमाइरहेको छु,’ उनले खुसी हुँदै भने ।

तामाङ सानै हुँदा उनकी आमाको मृत्यु भयो । बुवाले अर्को विवाह गरे । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । स्कुल जानुभन्दा घरको काममा बाल्यकाल बित्यो । समय पाउँदा उनी स्कुल गइहाल्थे । सँगैका साथीहरू स्कुल जाँदा उनी घाँस काट्न जान्थे । 

‘किताबका पाना पढ्न नपाए पनि जिन्दगीका पाना राम्रैसँग पढेको छु,’ उनी भन्छन्, ‘मलाई पढाइभन्दा सीप आवश्यक जस्तो लाग्छ, पढाइ नचाहिने भन्ने होइन तर पढाइमात्र भएर हुँदैन रहेछ, म नपढेकोले त सीप भएर जिविका चालइरहेको छु भने पढेकाहरूलाई पनि सीप अनिवार्य छ ।’ 

Share News