बैंकबाट अवकाश, बीमामा जम्दै

काठमाडौं । सामान्यतया जागिरे जीवनबाट अवकाशपछि अधिकांश मानिस फुर्सदिला हुन्छन् । ‘यतिका वर्ष काम गरियो, अब आनन्दसँग बसौं’ भन्ने मानसिकता धेरैको हुन्छ । जीवनको उर्वरशक्ति जागिरे भएर घोटिँदा घोटिँदै थाकेको मन र तन दुवैलाई विश्राम दिऊँ भन्ने लाग्नु स्वाभाविक नै हो । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा जागिरे जीवन बिताएका नरेशकुमार रोकालाई पनि यस्तै सुविधा छुट थियो ।

बैंकको जागिरबाट सेवा निवृत्त हुँदा ५० वर्षमात्रै पुगेका रोकालाई केही नगरी सुस्ताएर बस्न उनको मनले मानेन । बरु केही गर्नुपर्छ भन्ने हुटहुटी भित्रभित्रै जागृत भयो । लामो समय बैंकिङ क्षेत्रमा काम गरिसकेको अनुभव र विशेषज्ञतालाई उनी त्यतिकै थन्क्याउने सोचमा थिएनन् । त्यतिकै निष्क्रिय भएर बस्नुभन्दा कुनै न कुनै काममा सक्रिय हन्छु भन्ने उनले सोच बनाए ।

त्यतिबेला आफ्नै व्यवसाय सुरु गर्ने कि कुनै वित्तीय संस्थामा आवद्ध हुने भन्ने सोचमा पुगे रोका । के गर्ने/के नगर्ने भन्ने सोचकै बीचमा विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि प्रभावित बनायो । महामारीपछिको अवस्थामा जनजीवन क्रमशः सामान्य बन्दै गयो तर पुरानै व्यापार/व्यवसाय उठ्न गाह्रो परिस्थितिमा नयाँ व्यवसाय सुरु गर्ने वातावरण थिएन । 

त्यही समय सञ्चालनमा आउँदै गरेको बीमा कम्पनी ‘प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने अवसर प्राप्त भएको सुनाउँछन् रोका। उनको शैक्षिक योग्यता, बैंकिङ क्षेत्रमा सञ्चित अनुभव र उनले प्रस्तुत गरेको व्यावसायिक योजनाको आधारमा कम्पनीले सीईओको रूपमा छनोट गर्यो । अन्ततः रोका  २०७९ साल चैतदेखि औपचारिक रूपमा बीमा कम्पनी प्रोटेक्टिभ माइक्रोमा आबद्ध भए ।

तीन दशकभन्दा बढी बैंकिङ दुनियाँमा रमाउँदै, विभिन्न चुनौती र सम्भावनाबीच सफलता हासिल गरेका उनी अब बीमा उद्योगको नेतृत्वमा छन् । बीमामा करिअरको नयाँ अध्याय सुरु गरेका उनले अब बीमा क्षेत्रमा नयाँ केही गर्ने सपना देखेका छन् ।

बाल्यकाल र शिक्षा

काठमाडौंको केन्द्रबाट केही किलोमिटर पश्चिम, नैकाप पुरानो भञ्ज्याङमा जन्मिएका रोकाको बाल्यकाल सामान्य रूपमै बित्यो । तीन दाजुभाइ र एक बहिनीमध्ये रोका परिवारको जेठो सन्तान हुन् । देशको राजधानीको छेउमै घर भएपनि त्यतिबेलाको बस्ती विकट तथा दुर्गम क्षेत्रजस्तै रहेको स्मरण गर्छन् उनी । 

बाल्यकाल सम्झिँदै उनले भने, ‘आजभन्दा करिब ५० वर्षअघिको हाम्रो सामाजिक परिवेश, चेतनास्तर र भौतिक विकासको अवस्था अत्यन्तै सीमित थियो । देशको राजधानीको छेउमै भए पनि हाम्रो बस्तीको अवस्था त्यतिबेला विकट तथा दुर्गम क्षेत्रजस्तै नै थियो । म हुर्किएको गाउँले तत्कालीन अवस्थामा खाँटी काँठे जीवनशैलीको प्रतिनिधित्व गर्थ्याे जहाँ सरलता, आत्मनिर्भरता र आपसी सहकार्य जीवनको अभिन्न हिस्सा थिए ।’

रोकाका बुवा शैक्षिक, सामाजिक र राजनीतिक रूपमा अत्यन्त सक्रिय व्यक्ति थिए । बुवाको मागदर्शनमै उनले आफ्नो प्रारम्भिक शिक्षा स्थानीय श्री विद्यामन्दिर निम्न माध्यमिक विद्यालयबाट सुरु गरे । कक्षा ७ सम्मको अध्ययन त्यहीँबाट पूरा गरेपछि उनले कक्षा ८ देखि १० सम्मको शिक्षा बाफलस्थित श्री ज्ञानोदय माध्यमिक विद्यालयबाट ग्रहण गरे ।

त्यसपछि उनले व्यवस्थापन संकायमा प्रमाणपत्र र स्नातक तहको अध्ययन ताहाचल क्याम्पसबाट पूरा गरे । स्नातकोत्तर अध्ययन भने उनले शंकरदेव क्याम्पसबाट सम्पन्न गरे ।

null

लेखा सहायकदेखि उप-महाप्रबन्धकसम्म

रोकाले लोकसेवा आयोगमार्फत अर्थ मन्त्रालय अन्तर्गतको सहायक लेखापाल पदबाट जागिर सुरु गरेका थिए । प्रशासनिक सेवा क्षेत्रमा यो उनको पहिलो पाइला थियो । उनले आफ्नो औपचारिक सरकारी सेवा यात्रा विंस २०४४ साल फागुनबाट सुरु गरेका हुन् । सहायक लेखापाल पदमा केही समय काम गरेपछि उनले कृषि विकास बैंकको लेखा सहायक (सहायक प्रथम) पदको प्रतियोगितात्मक परीक्षा दिए र सफल पनि भए । त्यहीँबाट उनको बैंकिङ जागिर सुरु भयो । उनले औपचारिक रूपमा वि.सं २०४५ साल जेठ महिनादेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।

बैंकिङ सेवा प्रवेशसँगै रोकाको पहिलो पोष्टिङ सिन्धुपाल्चोक जिल्लास्थित साना किसान विकास आयोजना कार्यालयमा प्रमुखको रूपमा भयो । त्यसपछि उनले बैंकको मुख्य कार्यालयको वित्त तथा लेखा विभागमा लेखा सहायकको रूपमा जिम्मेवारी सम्हाल्ने मौका पाए । क्रमशः शाखा अधिकृत, बिर्तामोड (झापा) बैंकिङ कार्यालयको प्रबन्धक, चाबहिल बैंकिङ कार्यालयको प्रबन्धक, शाखा सञ्चालन विभागको शाखा प्रमुख, क्षेत्रीय कार्यालय वीरगञ्जको निर्देशक तथा वित्त तथा लेखा विभागको विभागीय प्रमुख हुँदै जनशक्ति व्यवस्थापन विभागमा उप-महाप्रबन्धक पदमा रहेर जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरे । 

उनी कामप्रति मिहिनेती, इमान्दर हुनुका साथै उत्तिकै ‘ट्यालेन्ट’ पनि थिए । त्यसैले यी पदहरूमा पुग्नका लागि उनलाई कसैसँग भनसुन गर्नु परेन । प्रतिस्पर्धात्मक बढुवाको प्रक्रियामार्फत नै नियुक्ति प्राप्त गरे । उनी सम्झिन्छन्, ‘उप-महाप्रबन्धक (विशिष्ट श्रेणी) पद बाहेकका सबै पदहरूमा मैले प्रतिस्पर्धात्मक बढुवाको प्रक्रियामार्फत नियुक्ति प्राप्त गरेको हुँ, जुन मेरो पेशागत निष्ठा, दक्षता र निरन्तर आत्मविश्वासप्रतिको प्रतिबद्धताको प्रमाण हो ।’

कृषि विकास बैंकमा लेखा सहायक पदबाट सेवा आरम्भ गरी लगातार ३० वर्ष समर्पित भावनाका साथ काम गरेका रोकाले विंस २०७५ साल जेठ महिनामा उप-महाप्रबन्धक पदबाट अवकाश प्राप्त गरेका हुन् ।

चुनौतीसँगै अवसर

आर्थिक क्रियाकलापहरू सञ्चालन हुने हरेक क्षेत्र आफ्नै किसिमका चुनौतीहरू र अवसरहरूले भरिपूर्ण हुन्छन् । ती चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै संस्थालाई निरन्तर प्रगतिको दिशामा डो¥याउनु संस्थामा कार्यरत प्रत्येक कर्मचारीको जिम्मेवारी हो । समयानुसार चुनौती र अवसरहरूको स्वरूप, मात्रा र प्रभाव पनि बदलिँदै जान्छन् नै । सीईओ रोकाले पनि जागिरे जीवनमा धेरै चुनौती र अनुभवहरू बटुल्ने अवसर पाएको सुनाउँछन् । 

आफू कार्यरत नेपाल सरकारको पूर्ण स्वामित्वमा विकास बैंकको रूपमा स्थापना भएको कृषि विकास बैंक क्रमशः आंशिक निजीकरण हुँदै अन्ततः सरकारी र निजी क्षेत्रको संयुक्त लगानीमा आधारित पूर्ण वाणिज्य बैंकको रूपमा रूपान्तरण भयो । यो प्रक्रियामा प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने अवसर उनले पाए । 

विकास बैंकको रूपमा सीमित दायराभित्र सञ्चालित बैंकिङ कारोबारमा मुख्य रूपमा कर्जा जोखिमलाई प्रमुख जोखिमका रूपमा लिइन्थ्यो । तर, प्रविधिको प्रयोग विस्तार हुँदै अत्याधुनिक वाणिज्य बैंकिङ सेवाहरू सञ्चालनमा आउँदा कर्जा जोखिमसँगै सञ्चालन जोखिमलगायत अन्य विभिन्न जोखिमहरू पनि बढ्दै गएका थिए, जुन मैले आफ्नो कार्यकालयमा प्रत्यक्ष अनुभव गरें,’ रोकाले सुनाए ।

काम गर्ने क्रममा जतिसुकै चुनौतीहरू आएतापनि रोकाले कहिल्यै त्यसलाई ठूलो रूपमा लिएनन् बरु सेवा अवधिभर तोकिएको जिम्मेवारीप्रति प्रतिबद्ध रहेर संस्थागत व्यवसायिक लक्ष्य हासिल गर्नतर्फ निरन्तर लागिरहे । बैंकिङ क्षेत्रमा उनको ठूलो योगदान छ । 

उनले जागिर गर्ने क्रममा बैंकहरू अहिलेजस्तो प्रविधियुक्त भइसकेको अवस्था थिएन । सबैजसो काम म्यानुअल प्रणालीबाटै हुन्थ्यो । त्यही म्यानुअल प्रणलाीबाट प्रविधियुक्त बैंकिङ प्रणालीतर्फ रूपान्तरणमा उनले ठूलो भूमिका निर्वाह गरेका छन् । म्यानुअल प्रणालीबाट प्रविधियुक्त बैंकिङ प्रणालीमा जोड्नमा उनी महत्वपूर्ण चरणहरूमा सक्रिय रूपमा संलग्न हुन पाएकोमा आज गर्व महसुस गर्छन् । यही संलग्नता र अनुभवलाई उनले आफ्नो सेवा जीवनको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

nullबैंक र बीमामा फरक अनुभव

कुनै विशेष कारण नभए पनि अवसरको सदुपयोग गर्दै बीमा क्षेत्रमा प्रवेश गरेको रोका बैंकिङ र बीमा दुवै क्षेत्र कुनै पनि देशको आर्थिक पूर्वाधारको मेरुदण्ड भएको बताउँछन् । जुन क्षेत्रहरूको समन्वित विकासले समग्र आर्थिक प्रणालीलाई मजबुत बनाउने उनको तर्क छ ।

कृषि विकास बैंक एक स्थापित र दीर्घकालीनदेखि सञ्चालनमा रहेको संस्था हो । जागिरको प्रारम्भिक जिम्मेवारी सहायकस्तरबाट सुरु भएकाले रोका आफू कार्यरत शाखा वा विभागको कार्यक्षेत्रभित्र सीमित जिम्मेवारीमा केन्द्रित हुनुपर्यो । साथै बैंकको नीति, प्रणाली र संरचना पहिल्यै बनेको हुँदा त्यसभित्र रहेर निर्धारित दायित्वहरू पुरा गर्नुपर्ने जिम्मेवारी पनि निर्भाह गरे ।

अहिले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सीईओको रूपमा काम गर्दा रोकाले फरक भूमिका निर्वाह गरिरहेका छन् । जुन कम्पनीमा उनले स्थापनाकालदेखि नै सञ्चालन, रणनीति निर्माण, प्रणाली विकास र व्यवसायिक विस्तारको सम्पूर्ण जिम्मेवारी आफ्ना काँधमा लिनुपर्यो । जुन एक प्रकारले चुनौतीपूर्ण थियो । भन्छन्,‘ नयाँ कम्पनी भएकाले नीति, प्रक्रिया, प्रविधि र मानव संसाधन व्यवस्थापनसमेत आफैबाट निर्माण गर्नुपर्ने अवस्था छ, जुन एक प्रकारले चुनौतीपूर्ण भए पनि यसलाई मैले अत्यन्त अवसरयुक्त अनुभवको रूपमा लिएको छु ।’

बैंकमा जागिर गर्दा रोकाले विभिन्न विभागका विभिन्न पदमा रहेर फरक–फरक स्थान र तहमा काम गर्ने अवसर पाए । सरकारी लगानीको संस्था भएकाले निजी संस्थाको तुलनामा तुलनात्मक रूपमा काम कारबाही ढिला हुने गरेको अनुभव सुनाउँछन् उनी । बैंकमा जागिर गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘त्यो बेला बैंकको ठूलो संरचना तथा शाखा सञ्जाल, कर्मचारी संख्या र कारोबारका कारण निर्णय प्रक्रियाहरू चरणबद्ध र केही हदसम्म ढिलो हुने गर्थे । सरकारी लगानीको संस्था भएकाले स्वीकृति, कार्यान्वयन र अनुगमनमा पनि प्रक्रिया लामो हुन्थ्यो ।’

रोका हाल कार्यरत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा निर्णय प्रक्रिया तुलनात्मक रूपमा छिटो, छरितो हुने गरेको बताउँछन् । लघुबीमा व्यवसाय अझै सुरुआती चरणमै रहेकाले प्रक्रिया र कार्यपद्धति पनि सरल र प्रभावकारी बनाउन प्रयासरत रहेको उनले बताए । ‘बैंकिङ सेवा रहँदा म एउटा विशाल संरचनाको हिस्सा थिएँ भने बीमा क्षेत्रमा म संरचना निर्माण गर्ने भूमिकामा छु । दुवै भूमिका फरक प्रकृतिका भए पनि अनुभव, चुनौती र अवसरका हिसाबले अत्यन्त करिब-करिब समान नै रहेका छन्,’ उनले बैंकमा र बीमामा काम गर्दाको फरक अनुभव संक्षेपमा सुनाए । 

जहाँसम्म बैंकिङ र बीमा क्षेत्रबीचको तुलनाको कुरा छ, यी दुवै क्षेत्र देशको आर्थिक पूर्वाधारका आधारस्तम्भ हुन् । बैंकिङ प्रणालीले आर्थिक कारोबारलाई सहज बनाउने, लगानी प्रवाह र व्यवसाय विस्तारमा सहयोग पुर्याउने भूमिका खेल्दछ भने बीमा प्रणालीले त्यही कारोबारमा समावेश जोखिमहरूको व्यवस्थापन गर्दै व्यक्ति, सम्पत्ति र व्यवसायको सुरक्षाको सुनिश्चित गर्दछ । त्यसैले यी दुई क्षेत्र बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ  र दुबैले आर्थिक स्थायित्वमा समान योगदान दिन्छन् ।

हासिल गरेका उपलब्धी

कम्पनी स्थापना भएको तीन वर्ष र व्यवसायिक कारोबारको दोस्रो वर्षमै रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा रोका संस्थापक सीईओको रूपमा निरन्तर सक्रिय भएर नेतृत्व गरिरहेका छन् । कम्पनी स्थापनाको तीन वर्षभित्र कम्पनीले नेपाल बीमा प्राधिकरणको नियमन र निर्देशनभित्र रहेर, लघु बीमाका सर्वमान्य सिद्धान्त र निर्देशिकाको पालना गर्दै व्यवस्थित रूपमा व्यावसायिक गतिविधिहरू अघि बढाइरहेको उनले सुनाए ।

लामो समय बैंकिङ क्षेत्रमा हासिल गरेको सीप अनुभवलाई बीमामा थप निखार्ने अवसर पाएको बताउँछन् उनी । ‘मैले बैंकिङ क्षेत्रमा आर्जन गरेको शैक्षिक योग्यता, सीप र अनुभवको सम्मीश्रणमार्फत बीमा तथा व्यवस्थापन क्षेत्रका अन्तर्राष्ट्रिय स्तरका असल अभ्यासहरू अनुसरण गर्दै संस्था सञ्चालनमा नेतृत्व प्रदान गर्ने प्रयास गरेको छु,’ उनले भने । 

लघुबीमाको मर्म बमोजिम कम्पनीलाई दिगो, जिम्मेवार र ग्राहकमैत्री बनाउँदै आर्थिक सुरक्षा सेवालाई आम नागरिकको पहुँचमा पुर्याउनु कम्पनीको उद्देश्य रहेको रोका  सुनाउँछन् ।

उनकै नेतृत्वमा कम्पनीले नेपालको सुदूरपूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासम्म कार्यक्षेत्र विस्तार गरिसकेको छ । देशभरका १७ शाखा कार्यालय र १६ वटा यातायात व्यवस्था कार्यालयसँगको सहकार्यमार्फत, कुल ३३ कार्यालयहरूबाट लघु निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

स्थापनाको छोटो समयमै ग्राहक, उद्योगी र व्यवसायीहरूबीच लोकप्रिय र विश्वासिलो कम्पनी बन्न पुगेको उनले बताए । रोका भन्छन्, ‘तुलनात्मक रूपमा सरल बीमालेख, न्यून बीमा प्रिमियम दर, र सहज एवं यथाशक्य छिटो दाबी भुक्तानी व्यवस्थाका कारण आम सर्वसाधारण, न्यून आय भएका नागरिकहरू, तथा लघु उद्योगी व्यवसायीहरूबीच हाम्रो सेवा छोटो समयमै लोकप्रिय र विश्वासिलो बन्न पुगेको छ ।’ 

बीमालाई ‘झन्झटिलो प्रक्रिया’ होइन, ‘विश्वसनीय सुरक्षा’ का रूपमा जनमानसमा स्थापित गर्न कम्पनी निरन्तर प्रयत्नशील रहेको बताउँछन् रोका ।

आगामी योजना

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको स्थापना कालदेखि नै रोकाले सीईओको जिम्मेवारी सम्हाली सहभागितामूलक नेतृत्व शैलीलाई अँगाल्दै आएका छन् । उनले संस्थाभित्रको प्रत्येक निर्णयमा समावेशिता, पारदर्शिता र उत्तरदायित्वका मूल्यलाई प्राथमिकतामा राख्दै आएका छन् । ‘शक्तिशाली संस्था त्यतिबेला मात्रै सम्भव हुन्छ जब सम्पूर्ण टिमले साझा लक्ष्यप्रति प्रतिबद्धता, आत्मीयता र आत्मगौरवका साथ कार्य गर्छ भन्ने विश्वासका साथ मैले नेतृत्व गरेको टिमलाई प्रशिक्षित गर्ने गरेको छु,’ उनी सुनाउँछन् ।  

व्यवस्थापनतर्फ कम्पनीले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुसरण गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन र नियमनको परिधिभित्र रहेर हरेक निर्णय र गतिविधि सञ्चालन गर्दै आएको छ । नियमाकीय प्रक्रिया पूरा गरी सरल रूपमा लघुबीमा सेवा प्रदान गर्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढ्दै आएको रोकाले बताए । 

नेपालको कुल जनसंख्याको ठूलो हिस्सा अझै पनि बीमाको पहुँचबाहिर छ । अझ चिन्ताजनक कुरा त के हो भने हाल बीमा गरेका धेरै नागरिकहरू पनि बीमाप्रति जागरूक नभइ कानुनी वा औपचारिक बाध्यताका कारण मात्र बीमा गरिरहेको तथ्याङ्कले देखाउछ । यस सन्दर्भमा कम्पनीले बीमालाई जनचेतनाको विषय बनाउने अभियान निरन्तर अघि बढाउँदै आएका रोका सुनाउँछन् । त्यही योजनाअनुसार बीमाको पहुँच नपुगेका वर्ग, समुदाय र भूभागसम्म बीमा सेवा पुर्याउनु कम्पनीले मुख्य उद्देश्य बोकेको छ । 

उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेको बीमा सेवा अझ बढी मानिससम्म पुर्याउनु हो, विशेष गरेर ती वर्गहरू जसले पहिलेदेखि नै बीमा सेवामा पहुँच पाएका छैनन्, त्यस्ता वर्ग सम्म हामी बीमाको पहुँचलाई विस्तार गर्न चाहन्छौं र यसका लागि नयाँ तथा ग्राहकमैत्री बीमालेखहरू विकास गर्दै लाने योजना बनाएका छौं ।’

बीमा शिक्षामार्फत जनचेतना अभिवृद्धि गर्नु, सहज, सुलभ र भरपर्दो सेवा प्रदान गर्दै बीमालाई जनमैत्री बनाउने कम्पनीको अर्को उद्देश्य रहेको छ । यसका लागि कम्पनीले डिजिटल सेवा विस्तार, शाखा संख्या वृद्धि, छरितो दावी भुक्तानी प्रणाली र ग्राहक आवश्यकताअनुरूप बीमालेख विकासमा केन्द्रित हुँदै आएको रोकाले सुनाए ।

ग्राहकहरूले छिटो दावी भुक्तानी र सहज कारोबारको अनुभव पाउन सकून् भन्ने उद्देश्यका साथ कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेर सेवा छरितो र सहज बनाउने लक्ष्य लिएका लिएको रोकाले जानकारी दिए ।

‘बीमा प्रति जनमानसको धारणा सकारात्मक र आत्मसात बनाउने योजना बमोजिम हामी बीमाको सचेतना अभिवृद्धिमा पनि विशेष जोड दिइरहेका छौं,’ उनले भने ।  

यसबाहेक कम्पनीको अन्य योजनामा शाखा सञ्जाल विस्तार गर्ने, बजार अनुगमनलाई निरन्तरता दिने र बीमालेखमा नवप्रवर्तन ल्याउने कार्यलाई समेत अगाडि बढाउने रहेको छ । यी सबै योजनाले गर्दा लघुबीमा सेवा अझ प्रभावकारी र लोकप्रिय हुनेमा रोका विश्वस्त छन् । उनी भन्छन्, म विश्वस्त छु कि सशक्त नेतृत्व, दक्ष टिम र स्पष्ट उद्देश्यका साथ हामी निकट भविष्यमै कम्पनीको लक्ष्य पूरा गर्न सफल हुने छौं ।’

यसकारण आवश्यक छ लघुबीमा

नेपाल जस्तो बहुआयामिक देशमा जहाँ ठूलो जनसंख्या न्यून आयमाथि निर्भर छ, त्यस्ता जनसंख्याका लागि माइक्रो इन्स्योरेन्स अर्थात लघुबीमा अत्यन्तै महत्वपूर्ण सेवा हो । हाम्रो देशका धेरै मानिसहरू दैनिक जीवनका जोखिम, स्वास्थ्य समस्या, प्राकृतिक विपत्तिबाट हुने क्षति जस्ता चुनौतीहरू सामना गरिरहेका छन तर दुर्भाग्यवश, यी जोखिमहरूबाट बच्न बीमा सेवा अझै धेरैले प्राप्त गरेका छैनन् । 

बैंकिङ क्षेत्रको विकाससँगै नेपालमा बीमा सेवाको पनि क्रमशः विकास हुँदै आएको छ । तर बीमा कम्पनीहरुले जुन रुपमा न्यून भएका ग्राहकलाई लक्षित गर्दै बीमासेवा प्रदान गर्नुपर्ने त्याे हुन नसक्दा न्यून आय भएका र सिमान्तकृत समुदायबीच बीमाको पहुँच सीमित रहँदै आएको छ ।

यही कारणले नेपाल सरकार र नेपाल बीमा प्राधिकरणले लक्षित वर्गलाई समेट्ने गरी लघु बीमा कम्पनीहरू स्थापना गर्ने आवश्यक ठानेका हुन् । यी कम्पनीहरूले सरल बीमालेख, न्यून बीमाशुल्क र छिटो दावी भुक्तानी जस्ता सुविधा उपलब्ध गराउँदै सेवाको पहुँच विस्तार गर्दै आएका छन् ।
 

Share News