काठमाडौं । जोखिम उठाउने साहस, निरन्तर प्रयास र स्पष्ट लक्ष्यले मान्छेलाई एकदिन सफलताको शिखरमा पुर्याएर छाड्छ । सफलता भन्ने चीज जादुको छडीजस्तै होइन, यसका लागि अदम्य साहस, कदम्य संघर्ष र धैर्यको आवश्यक पर्छ कडा विश्वास, दृढ संकल्प र आत्मविश्वास बोकेर अघि बढ्ने मान्छेले जस्तोसुकै चुनौतीलाई पार गरेर सफलताको शिखर चुम्न सक्छन् । यस्तै गतिलो उदाहरण बनेकी छन्- सुरुची खड्का ।
नर्सिङ पृष्ठभूमिबाट आएकी सुरुचीले फरक कदम चालिन् जुन उनको लागि बिल्कुलै नयाँ अनुभव थियो । साथसाथै चुनौतीपूर्ण पनि । आफ्नो सानो प्रयासले सुरु गरेको व्यवसायबाट आज उनी सफल मात्रै भएकी छैनन्, उनले सुरु गरेको व्यवसायले कयौं आमा र बच्चाको लागि ठूलो राहत मिलेको छ भने धेरै जना महिला दिदीबहिनी आत्मनिर्भर बनेका छन् ।
अनि जन्मियो आमाज् क्रिएसन ...
आमाज् क्रिएसन आमाको मायाबाट प्रेरित छ । एउटी आमालाई आफ्नो सन्तानको माया कतिसम्म हुन्छ, त्यसको जवाफ भने त्यही आमाले मात्रै दिन सक्छिन् । आमा उनै हुन्, जसले सन्तानको सानोभन्दा सानो दुःख पनि देख्न सक्दिनन् । हो, त्यस्तै एउटी आमाको कथाबाट जन्मिएको व्यवसाय हो– आमाज् क्रिएसन ।
जब सुरुची खड्का पहिलो पटक आमा बनिन्, उनी जीवनको एक नयाँ भावनात्मक अध्यायमा प्रवेश गरिरहेकी थिइन् । नयाँ खुसी र मातृत्वको अनुभवसँगै उनको जीवनमा चिन्ताको कारण थपियो । आफ्नो २ महिने बच्चाको छालामा र्यासिस आउने, चिलाउने हुन थालेपछि किन रहेछ भनेर हेर्दा बच्चाकाे छाला सेन्सिटिभ भएकाे कारण र अरु लुगा लगाएकाे कारण रहेछ भनेर उनले पत्ता लगाइन् । जसकाे कारण राम्राे कपडाकाे खाेजीमा उनी लागिन् ।
त्यही बेला सुरुचीकी आमा र माइजूले बच्चालाई डम्बरकुमारी मलमलको तीन तहको कपडा लगाइदिन उनलाई सुझाव दिए । जुन कपडा लगाएर उनी हुर्किएकी थिइन् । त्यतिबेला नै बल्ल उनले त्यही कपडा आफ्ना बिरामीहरूमा अनुसन्धान गरेको र सफल भएको कुरा स्मरण गरिन् ।
सुरुमा नर्सिङको जागिर गरेकी सुरुचीले पछि हस्पिटल म्यानेजमेन्ट पढेर होम केयर खोलिन् । होम केयर खोल्दै गर्दा उनले घरघरमा डाक्टर, नर्स पठाउँथिन् । त्यो गर्दैगर्दा धेरै जसो बिरामीहरू ओछ्यानमा परेकाहरू बढी हुने गर्थे । धेरै समयसम्म ओछ्यान पर्दा, एउटै पोजिसनमा बस्दा घाउ हुने, आफ्नै पसिनाले निमोनिया बनाउने जस्तो समस्या बढेपछि उनले त्यसको समाधानको लागि के गर्न सकिन्छ भनेर अध्ययन गर्न थालिन् ।
सुरुचीकी माइजू राणा परिवारबाट भएको हुँदा उनलाई डम्बरकुमारी मलमल कपडाबारे राम्रो जानकारी थियो । सुरुचीले १० जना बिरामीलाई यो कपडा लगाएर अनुसन्धान गरिन् । जसको नतिजा अन्य कपडाको तुलनामा निकै नै लाभदायक रहेको पुष्टि भएको थियो ।
‘बिरामीलाई बेड सिट बनाएर राख्दिँदा पसिनाले बाफिन नदिने, आरामदायी हुनाले बिरामीको आफन्तले नै डिमाण्ड गर्न थाले,’ सुरुचीले सुनाइन् । त्यही कपडा सुरुचीले आफ्नै बच्चाको लागि पनि लगाइदिइन् । केही पिस बनाएर सामाजिक सञ्जालमा हालिन् । सामाजिक सञ्जालमा राखेको कपडा धेरैजना आफन्तले मन पराए । त्यसपछि त्यस्तै कपडाको अर्डरहरू आउन थाले ।
त्यसपछि सुरुचीले तीन/चार जना महिलाको समूह बनाएर सिलाइको काम अगाडि बढाइन् । सुरुमा अनौपचारिक रूपमा उनले यो काम सुरु गरेपनि केही समयपछि यसलाई औपचारिक रूपमा सुरु गरिन् अनि नाम राखिन्- आमाज् क्रिएसन । औपचारिक रूपमा २०७६ सालबाट आमाज् क्रिएसन सञ्चालन भएको हो ।
आमाज् क्रिएसन जन्मिनुको अर्को कारण सुरुचीको रुची पनि हो । नर्सिङ पृष्ठभूमिबाट आएकी उनी समाजसेवामा पनि उत्तिकै सक्रिय थिइन् । हेल्थ सेक्टरमा विशेषगरी एकल महिला दिदीबहिनीको आर्थिक स्तर उठाउन केही गरौं भन्ने चाहना उनमा थियो । सुत्केरी त्यसमाथि कोभिडको समय । बाहिर गएर काम गर्ने वातावरण पनि थिएन । तर आफैले केही गरौं भन्ने जागरुकता उनमा जीवितै थियो ।
आफ्नो सेक्टर स्वास्थ्य भएको कारणले समाजसेवाको भावनालाई जोडेर फेबरिकमै केही गरौं भनेर सुरुचीले यसलाई व्यवसायिक रूपमै सुरु गर्ने निर्णय गरेको सुनाइन् । त्यसबाहेक हेल्थी फेबरिक परम्परागत नेपाली रोयल्टीसँग जोडिएको कपडा भएकाले त्यसलाई जोगाउने र अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यसहित उनले फेबरिक कपडा उत्पादन व्यवसाय सुरु गरिन् ।
अन्य कपडाभन्दा पृथक
आमाज क्रिएसनले उत्पादन गरेको प्रडक्टहरू बजारमा पाइने मलमलभन्दा धेरै फरक रहेको औल्याउँछिन् सुरुची । जसमा तीन तहको डम्बरकुमारी मलमल प्रिन्ट भएको हुन्छ । जुन कपडा जंगबहादुर राणाको छोरी (राजकुमारी) डम्बरकुमारीले पहिलोपटक नेपालमा प्रयोगमा ल्याएकी थिइन् । नेपालकी पहिलो फेसन डिजाइनरको रूपमा परिचित डम्बरकुमारीले प्रयोगमा ल्याएको यो कपडा शुद्ध नरम, स्वास्थ्यको लागि निकै नै आरामदायी रहेको सुरुची बताउँछिन् ।
नेपाली समाजमा भर्खर जन्मेको बच्चालाई तीन तहको कपडा लगाइदिने चलन छ । तर धेरैलाई किन लगाइदिन्छ भन्ने कारण थाहा छैन । अर्को कुरा धेरैले मलमल भनेपछि एउटै हो भनेर बुझ्ने गरेकोमा वास्तवमा मलमल पनि विभिन्न प्रकारको हुने गरेको सुरुची सुनाउँछिन् ।

‘तीन तहको कपडा बच्चामा लगाइदिनुको कारण धेरैलाई थाहा छैन । बजारमा तीन तहकाे कपडा धेरै प्रकारकाे पाइन्छ । तर आमाज् क्रिएसनले प्रयाेग गर्ने मलमल बजारमा पाइने विभिन्न थरीका मलमलमध्ये सबैभन्दा वास्तवमा वैज्ञानिक रूपमा रिसर्चहरुले नै प्रमाणित कपडा बताउछिन् सुरुची ।
प्रमाणित थर्मोलेक संयन्त्र हुन्छ । जुन कपडा जाडोमा न्यानो र गर्मीमा शीतल हुने गरी बनाइएको हुन्छ । यसमा वैज्ञानिक रूपमै स्वास्थ्यलाई फाइदा दिने गरी डिजाइन गरेको हुन्छ,’ सुरुची भन्छिन् ।
यो कपडा विशेषगरी सुत्केरी महिला र नयाँ बच्चालाई स्वास्थ्यको हिसाबले उपयुक्त रहेको उनी बताउँछिन् ।
सुरुचीका अनुसार आमाज् क्रिएसनले उत्पादन गर्ने प्रडक्टहरूमा शुद्ध मलमल जुन तापक्रम मिलाएर, फाइन फुती कपासबाट बनाएको र ए प्लस ग्रेडको फाइन मलमलमै प्रिन्ट गरेर डम्बरकुमारी तयार हुन्छ ।
सुरुवाती चुनौती
आमाज् क्रिएसन सुरु गर्छु भनेर हिम्मत गरे पनि त्यतिबेला व्यवसाय सुरु गर्नको लागि आर्थिक रूपमा उनी कमजोर थिइन् । सपना ठूलो बोके पनि एकैचोटि ठूलो लगानी गर्न सक्ने स्थिति उनको थिएन । त्यतिबेलाको अवस्था स्मरण गर्दै सुरुची भन्छिन्, ‘मसँग त्यतिबेला ब्याकअप फण्ड थिएन । मसँग भएको फण्ड सुत्केरी हुँदाको खर्चमा नै सिद्धिसकेको थियो ।’
सुरुचीले हिम्मत हारिनन् । उनले आफ्नो बच्चाको मुख हेर्न आउने आफन्तहरूले दिएको चार हजार रुपैयाँ चलाउँछु भनेर आमासँग सल्लाह लिइन् । त्यो पैसा एक हप्ताभित्र फिर्ता गर्छु भन्ने वाचासमेत उनले गरिन् । उनले चार हजार रुपैयाँ लिएर बजारबाट कपडा किनेर ल्याइन् र कपडाको डिजाइन बनाएर समाजिक सञ्जालमा राखिन् ।
एक हप्ताभित्र सुरुचीले ३ हजार कमाएर बच्चाको पैसा फिर्तासमेत गरिन् । यसपछि उनले थप ८ हजार लिएर सानो कोठाबाट टेलरिङ सुरु गरिन् । सुरुमा उनले २/३ जना महिलाहरूलाई जम्मा गरेर सिलाउने जिम्मेवारी दिइन् । उनले भने कपडाको डिजाइन बनाइदिने, सामाजिक सञ्जालमा राख्ने गर्थिन् । उनको मुख्य जिम्मेवारी भनेकै डिजाइन गर्ने, रणनीति बनाउने, मार्केटिङ, सेल्स प्रमोसन नै हो ।
सुरुचीले यो व्यवसाय थाहा र अनुभव भएर गरेको व्यवसाय थिएन । त्यसैले यसको बारेमा अध्ययन गर्न नै समय लागेको सुनाउँछिन् उनी । भन्छिन् ‘म हेल्थ सेक्टरको मान्छे, डिजाइनर पढेको होइन । कपडाकै बारेमा आज मलाई जति थाहा छ त्यतिबेला थाहा थिएन । धेरै कुरा सिकिँदै गइयो, आमाज् क्रिएसन सुरु गरेको पहिलो वर्ष विस्तृत अध्ययनमै लगाएँ ।’
यो व्यवसाय सुरु गर्दै गर्दा सुरुचीले सामाजिक चुनौतीको पनि सामना गर्नुप¥यो । ‘होम केयर म्यानेजमेन्ट भएर ओभरल अस्पतालको म्यानेजमेन्ट हेर्ने मान्छेले टेलर खोलेर बसी भनेर कमेन्ट गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘हाम्रो समाजको सोच हाकिम भएरै बस्नुपर्छ भन्ने छ, कुुर्सीमा बसेर अर्कालाई अर्डर गर्ने काम मात्रै ठूलो भन्ने छ । मैले पनि अस्पतालको प्रशासन प्रमुखजस्तो जागिर छाडेर यो व्यवसाय सुरु गर्दा धेरैले राम्रो मान्नुभएको थिएन ।’
ती कुराको कुनै पर्वाह नगरी सुरुचीले आफ्नो व्यवसायलाई निरन्तर दिइन् । बिस्तारै आफूलाई सक्षम देखाउँदै गइन् ।
आमाज् क्रिएसन सञ्चालनको सुरुवाती चरणमा धेरै मान्छेलाई कपडाको भ्यालु बुझाउनै समय लागेको बताउँछिन् सुरुची । विस्तारै ग्राहकहरूलाई फेबरिक कपडाको भ्यालु सम्झाउँदै आजको दिनमा आइपुग्दा धेरैको रोजाइमा आमाज् क्रिएसन बन्न पुगेको छ ।

हजारबाट करोडौंको लगानी
आजभन्दा पाँच वर्षअघि थोरै लगानीबाट सुरु गरेको व्यवसाय आजको दिनसम्म आइपुग्दा कम्पनीको मुख्य कार्यालय र वाउटलेट कुसुन्तीमा सञ्चालन भएको छ । यसबाहेक आमाज् क्रिएसनको अर्को आउटलेट लाजिम्पाटमा खुलिएकोमा अहिले लाजिम्पाटको आउटलेटलाई बालमैत्री अस्पतालभित्र सारेको सुरुचीले बताइन्।
सुरुचीका अनुसार व्यवसाय ग्रोथको चार्ट हेर्ने हो भने पहिलो भन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो वर्ष जसरी व्यवसाय वृद्धि हुनुपर्ने त्यो हिसाबले हुँदै गएको छ ।
‘आजको दिनमा आइपुग्दा ७२ देखि ८० प्रतिशत ग्राहक रिपिटेड (दोहिरिएर आउने ग्राहक) छन्,’ उनी भन्छिन्, ‘यहाँ एकजना ग्राहकले हामीले उत्पादन गरेको प्रडक्ट उपहारस्वरूप दिनुहुन्छ, त्यही कपडा मन पराएर यही लाउनुपर्छ भनेर आउनुहन्छ ।’
एक जनाले सुरु गरेको व्यवसायमा अहिले २१ जना प्रत्यक्ष कर्मचारी छन् । अप्रत्यक्ष रूपमा होमबेस वर्कर छन् । अझै केही लगानीमा विस्तार गर्न पाए अन्तर्राष्ट्रिय बजारमा आमाजले उत्पादन गरेका प्रडक्ट अन्तर्राष्ट्रिय बजारमा छिटै पुग्ने सुनाउँछिन् सुरुची । अहिलेका अवस्थामा भने केही हदसम्म डम्मरकुमारी बाइ आमाज क्रिएसन भनेर डम्मरकुमारीलाई नै ब्राण्डकाे रुपमा आमाज् क्रिएसन चिनाउँदै गएकाे छ ।
आमाज् क्रिएसन अहिले करोडौंको भइसकेको छ । हाल आइमार्टमा आमाज क्रिएसनका पनि प्रडक्टहरू रहेका छन् ।
ललितपुर महानगरको साथ
आफ्नो व्यवसायले सफलता प्राप्त गर्नुको पछाडि ललितपुर महानगरको पनि साथ रहेको सुरुचीले सुनाइन् । उनले ललितपुर महानगरबाट ‘मेन्टरसीप’ पाएकी थिइन् । उनी भन्छिन् ‘मैले आदरर्णीय सुमन शाक्य सरबाट ६ महिनाको मेन्टरसीप पढ्ने मौका पाए, जसले व्यवसायमा ठूलो सघाउ पुग्यो ।’
महानगरले समय–समयमा बिजेनस तालिमहरू प्रदान गर्दै आएकोमा त्यसमा पनि सुरुची सहभागी भइन् । महानगरले निःशुल्क तालिम सञ्चालन गरी महिलाहरुको उद्यमशीलतालाई थप निखार्न मद्दत गरेकोमा उनी कृतज्ञता प्रकट गर्छिन् ।
यसबाहेक महानगरपालिकाको महिला विकास शाखाबाट धेरै सहयोग पाएकी छिन् । त्यस्तै, आफ्नो व्यवसायमा आईडिया स्टुडियो नेपालबाट डा. छिरिङ लामा, अनिल वस्नेतलगायत टिमकोे सहयोग रहेको उनले सुनाइन् ।
आमाज क्रिएसनका उत्पादनहरू
आमाज् क्रिएसनले डम्मरकुमारी मलमलकै कपडा उत्पादन गर्दै आएकाे छ । त्यमा विभिन्न डिजाइनहरु विशेषगरी भर्खर जन्मेको बच्चाको लागि चाहिने कपडा, सुत्केरी आमालाई चाहिने कपडाहरू उत्पादन गर्दै आएको छ । सुरुचिका अनुसार आमाज् क्रिएसनले डम्बरकुमारीलाई आधुनिक डिजाइनमा उत्पादन गरेर त्यसलाई बचाइराख्न ठूलो भूमिका खेल्दै आएको छ ।
यसैगरी, बच्चाको लागि चाहिने सम्पूर्ण सेट- बेबी ब्लांकेट, दौरा सुरुवाल, भोटो, चोलो पास्नी सेटदेखि सुत्केरी महिलालाई आवश्यक प्रडक्ट उत्पादन र बिक्री गर्दै आएको छ । त्यस्तै, बेबी सावर गिफ्ट, रोयर चोलो, महिला पुरुष दुवैको लागि नाइट सुट, कुर्थी पनि उत्पादन हुन्छ । आमाज्ले भर्खरै नयाँ प्रडक्ट फ्यासनेबल एडल्ट ड्रेस पनि लञ्च गरेको छ ।
सुरुचीका अनुसार यहाँ उत्पादन हुने कपडाहरू मिडियम लेभलदेखि हाइ क्लाससम्म सबैको लागि रहेको छ । आमाज्ले लामो समय स्टकमा राखिएको कपडाहरू सेलमा राख्ने गरेको छ । त्यसलाई पनि ग्राहकले निकै मन पराउने गरेको सुरुची बताउँछिन्।
डम्बरकुमारी मलमलमा प्रिन्ट हुने हुँदा उक्त मलमल बंगलादेशबाट आउँछ । तर ठूलो बल्कमा मलमल ल्याउन नसक्ने हुँदा आमाजले मलमल भारतबाट ल्याउने गरेको छ । ‘भारतले बंगलादेशबाट कलकता ल्याउछन् र त्यहाँबाट हामीले आयात गर्छौं,’ सुरुचीले भनिन् ।
प्रेरणाको स्रोत माइजू
ललितपुरको कुसुन्तीमा जन्मिएकी सुरुचीको बाल्यकाल सामान्य तरिकाले नै बित्यो । उनका बुवा भलिबल कोच र आमा शिक्षिका हुन् । मध्यम परिवार भएपनि उनका अभिभावकले दाजु र उनलाई कुनै कुराको अभाव महसुुस हुन दिएनन् ।
विद्यालयका हरेक क्रियाकलापमा टप हुने सुरुची सानैदेखि हरेक कुरामा नेतृत्व लिने स्वभावकी थिइन् । आज यसरी सफल महिला उद्यमीको रूपमा परिचित भइरहँदा यसको श्रेय उनी आफ्नी माइजूलाई दिन्छिन् ।
माइजू उद्यमीका साथसाथै राइटरसमेत हुन् । उनले लेखेका कविताहरूले सुरुचीलाई धेरै प्रेरणा मिल्थ्यो । धेरैजसो मामाघरमै बसेर हुर्केका हुँदा माइजूबाट उनले धेरै कुरा सिक्ने मौका पाएकी थिइन् ।
महिला उद्यमी र समाजसेवामा पुर्याएको योगदानको कदरस्वरूप सुरुचीले विभिन्न अवार्डसमेत पाएकी छिन् । भूकम्पको समयमा पनि उनले लामो समय खटेर सेवा गरेको भनेर काेभिड हिराे स्पेसल अनर साेसल वर्क अवार्ड’ ले उनलाई सम्मानित गरेको थियो । सन् २०२३ मा फर्न इभेन्टले याेङ फिमेल इन्टरप्रेनर भनेर सम्मानित गरेकाे थियाे । ललितपुर महानगरले एक हप्ताअघि उत्कृष्ट महिला उद्यमीको रूपमा उनलाई सम्मान गरेको थियो भने त्यसअघि नारी दिवसको दिनमा पनि उनी महानगरबाट सम्मानित भएकी थिइन् ।
व्यवसायलाई थप विस्तार गर्दै
अन्तर्राष्टिय रुपमा लाेकप्रिय बन्दै गएकाे आमाज् क्रियसन पछिल्लाे समय अडरहरु आउन थालेकाे सुनाउँदै सुरुचीले यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताउँछिन् । आगामी दिनमा आफ्नो व्यवसायलाई थप विस्तार गर्दै लैजाने योजना रहेको सुरुची सुनाउँछिन् । विशेषगरी आमाज्लाई विस्तारै अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने उनको योजना छ । त्यसको लागि रणनीति बनाइरहेको उनले सुनाइन् । आजको दिनसम्म नजिकको साथीभाइ आफन्तहरूसँग आर्थिक कारोबार गर्दै व्यवसाय गर्दै आएकी सुरुची अब भने बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने तयारीमा छिन् ।
नवउद्यमीलाई सुझाव
सुरुची नव उद्यमीहरूलाई सोचेर बुझेर मात्रै व्यवसायमा लाग्न सुझाव दिन्छिन् । ‘पछिल्लो दुई/तीन वर्षमा सरकारले उद्यमशीलतालाई अलिकति बढी फोकस गरेको देखिन्छ । त्यो हुँदै गर्दा नवउद्यमीहरूका लागि जुन कोर्स गराइरहेको छ, ती कोर्सहरू लिएर सिकेर पाइला सार्नुहोस् ।’
धेरै उद्यमीहरुले अन्धाधुन्ध व्यवसायमा हात हाल्ने र पछि असफल हुने घटना धेरै भएको हुँदा व्यवसायको लागि सिस्टमेटिक प्रोसेस बुझ्दै सिक्दै जानुपर्ने यसले पछि आफ्नो व्यवसायमा ठूलो सर्पोट पुग्ने औंल्याउँछिन् सुरुची ।
‘कतिपय उद्यमीहरूलाई सिस्टमेटिक प्रोसेस लर्निङको कमी हुन्छ । हाम्रो मानवीय स्वभाव पनि एक लेभलमा पुगेपछि म नै उत्कृष्ट भन्ने हुन्छ त्यो होइन । अझ बढी सिकेर पोख्त हुने हो,’ उनी भन्छिन् ।
व्यवसाय गर्ने क्रममा विभिन्न उतावचढाव आउने हुँदा त्यसमा नआत्तिन, नथाक्न पनि उनको सुझाव छ । ‘व्यापार, व्यवसायमा विस्तारै मिहिनेत गर्दै जानुपर्छ । आवश्यक अध्ययन गरेर खुट्किलो चढ्दै जाुनपर्छ तर पाइला चाल्न रोकिन्नुहुन्न,’ सुरुची भन्छिन्, ‘खुड्किलो चढ्दा लडिन्छ तर उठ्दै पाइला सर्दै जानुपर्छ । तब मात्र सफल भइन्छ।’