काठमाडौं । ‘बिहानै जान्छु ८ बजे, फर्किन्छु घर राति, आफैले लोन दिएको मान्छे निस्किएपछि घाती ।
पहिला पहिला अफिस आउँदा भन्थ्यो कति राम्रो, लोन दिएसी थाहा भयो मान्छे रैछ चाम्रो ।।
फोन पनि उठाउँदैन, हुन्छ किस्ता लेट, फाउन गयो चैत गयो, गयो वैशाख जेठ ।
फाउन गयो चैत गयो, गयो वैशाख जेठ, अचेल त झन् घरमै जाँदा पनि हुन्न भेट ।।
तिर पैसा यसरी चल्दैन भन्छ पैसा रुखमा फल्दैन कपालु कोरेर, कसरी जाऊँ घर एनपीएल छोडेर ।
कसरी जाउँ घर एनपीएल छोडेर...’
माथिको गीत टिकटकमा नबिन अस्मिता नामको आइडीबाट साभार गरिएको हो । असार महिना लागेपछि बैंकरहरूले के कस्ता पीडा भोगिरहेका छन् भन्ने विषय टिकटकको गीतबाट झल्किएको छ । टिकटक भिडियोमा थकित युवा (बैंकर) पानी पिउँदैछन् । त्यही बेला युवतीले बेबी कस्तो लागिरहेको छ, असार महिना ? घर आउने पनि ठेगान छैन भन्दै प्रश्न गर्दै छिन् । युवतीले गरेको प्रश्नमा ती युवाले सुरिलो भाकामा गीतमार्फत असार महिनामा बैंकरहरूले भोगिरहेको जवाफ दिएका छन् ।
उनले गीतमार्फत सुनाएको पीडा सबै बैंकरहरूको साझा हो । चालु आर्थिक वर्ष २०८१/८२ को असारमा बैंकरहरू कर्जा असुलीको चापमा छन् । यतिबेला बैंकरहरूलाई ऋण असुलीका लागि भ्याईनभ्याई छ । आर्थिक वर्षको अन्त्यतिर गालि खानु, धम्की खानु बैंकहरूका लागि सामान्य जस्तै बनेको छ । तर, पछिल्लो समय कर्जा असुलीका लागि ताकेता गर्दा बैंकरहरू आफै कुटिन थालेका छन् ।
गत बिहीबार (असार १३ गते) ग्लोबल आइएमई बैंकको लम्की शाखा प्रमुख हरिशचन्द्र भट्ट कार्यालयमै कुटिए । बैंकबाट लिएको कर्जा चुक्ता तथा किस्ता नियमित गर्न फोन गरेका थिए । तर, ऋणी अमित भण्डारीले बैंकको शाखा कार्यालयमै गएर उनीमाथि गालीगलौज र कुटपिट गरे ।
‘व्यक्तिगत रिसइबी केही थिएन । बैंकको कारोबारका लागि हो । ऋणीलाई फोन गर्दा धम्की, गालीगलौज गर्नु भयो र अफिसमा आएर कुट्नु भयो । हातपात नै गर्नुभयो,’ पीडित भट्टले भने ।
क्लोजिङको समयमा यस्ता गतिविधिले नकारात्मक सन्देश गएको उनको भनाइ छ । व्यवसायी र बैंकरबीच सहकार्य हुनुपर्नेमा द्वन्द्वको स्थिति आउँदा समग्र स्थिति नै बिग्रने उनले बताए ।
‘ब्याज नतिरेपछि नियमित गर्नूहोस् भन्दा कुटाइ खानुपर्ने अवस्था आउनु राम्रो होइन । पछि उहाँले नै आगामी दिन यस्तो हर्कत नगर्ने भनेर माफी माग्नु भएपछि मिलापत्र गरियो,’ शाखा प्रमुख भट्टले भने ।
बैंकरहरूले राम्रो गर्न खोज्दा पनि समस्या भइरहेको उनले सुनाए । उनले भने, ‘कर्जा दिएपछि कर्मचारीले कर्जा चुक्ता गर्न, ब्याज तिर्न ताकेता गर्नैपर्यो । पब्लिकको पैसाबाट कर्जा दिएको हो । तर, अकाउन्ट रेगुलर गर्नुपर्यो भन्दा कुटाइ खानु परेको छ ।’
बैंकरमाथि उद्योग वाणिज्य संघका पदाधिकारी समेत रहेका व्यक्तिबाट कार्यालय समयभित्रै गालीगलौज तथा कुटपिट भएको प्रति बैंकर्स क्लब लम्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै लम्कीस्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीको स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरणमाथि निर्घात हस्तक्षप भएको क्लबको ठम्याइ छ ।
चालू आर्थिक वर्ष अन्त्यमा आइपुग्दा बैंकरहरू ऋण असुलीमा सक्रिय छन् । विगत केही वर्षदेखि बैंकिङ क्षेत्रमा खासै उत्साहजनक नभएपनि यसपटक भने राम्रो गर्ने तयारीमा बैंकरहरू जुटेका छन् । विगतमा बैंकिङ क्षेत्रमा विभिन्न गतिविधिले गर्दा खासै उत्साहजनक हुन सकेको थिएन । तर, पछिल्लो समय व्यापार व्यवसाय बढ्न थालेपछि भने मनोबल पनि बढेको बैंकरहरूको भनाइ छ ।
यतिबेला बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापकहरूले कर्मचारीको विभाग नै परिवर्तन गरेर रिकभरीमा जोड दिइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकरहरूलाई कर्जा असुली (रिकभरी)मा जोड दिन आन्तरिक निर्देशन दिएपछि विगतमा निक्षेप संकलनमा खटिने कर्मचारीलाई समेत अहिले कर्जा असुलीमा खटाइरहेको एक बैंकरले विकासन्यूजसँग बताए ।
‘हामीलाई केन्द्रीय बैंकदेखि लिएर नियामकीय निकायबाट रिकभरीमा आक्रामक रूपमा अगाडि बढाउन निर्देशन आएको छ । कर्जा असुलीमा सुस्त भयो भन्ने राष्ट्र बैंकका अधिकारीहरूको बुझाइ रहेको छ । त्यसैले हामी पनि रिकोभरीमा लागिरहेका छौं,’ एक बैंकरले भने, ‘त्यसैले अहिले साना ठूला ऋणीलाई ताकेता गर्ने काम भइरहेको छ । खराब कर्जालाई साइजमा ल्याउने गरी काम भइरहेका छन् ।’
बैंकहरूले जथाभावी ब्याजदर बढाए भनेर दुर्गा प्रसाईं लगायतका समूहले भ्रम फैलाएर बिगारेकाले माहोल सुधारका लागि बैंकरहरू लागिरहेका छन् । तरलता र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुँदा बैंकरहरुको मनोबल बढेको भएपनि ग्राहकहरूको मनोबलमा खासै उत्साह नछाएको उनको भनाइ छ ।
नेपाल बैंकर्स संघ सुदूरपश्चिमका अध्यक्ष पुकार सुवेदीले समय नै खराब रहेकाले कर्जा असुली पनि चुनौतिको विषय बनिरहेको बताउँछन् । समग्र देशभर नै समस्या रहेकाले सुदूरपश्चिम त्यसबाट अछुतो नरहेको उनको भनाइ छ ।
‘चुनौतीपूर्ण समय छ । यो प्रदेशमा मात्रै नभएर सबै प्रदेशले चुनौती भोगिरहेका छन् । चुनौतीको बीचमा काम गरिरहनु परेको छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डित बैंकरहरूले समन्वय र सहकार्य गरेर कर्जा असुली प्रक्रिया अपनाउनुपर्ने बताउँछन् । ऋणी पनि बैंकको ग्राहक भएकाले संरक्षण गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘ऋणी पनि बैंककै ग्राहक हो । ग्राहकको संरक्षणको जिम्मा बैंकरहरूको हो । रिकभरी हुन्छ भन्ने हिसाबले नै ग्राहकलाई कर्जा दिएको होला । हिजोअस्ति वास्ता नगर्ने असार मसान्तमा मात्रै वास्ता गर्ने भन्ने हुँदैन । ग्राहकसँग नियमित सम्पर्कमा बस्नुपर्छ,’ उनले भने, ‘बैंकर रिलेसनसिन म्यानेजर पनि हो । त्यो रिलेसन म्यानेज गर्दै जानुपर्छ । त्यसकारण समन्वयात्मक ढंगबाट अगाडि बढ्नु पर्छ । कोही पनि आक्रामक भएर जानु हुँदैन ।’